राष्ट्रपतिज्यू, अब तपाईंको भार मेरो देशले थेग्न सक्दैन !

काठमाडाैं । राष्ट्रपतिज्यू, यो के सुन्दैछु ? महामारीको यो अवस्थामा तपाईं आफ्नो भवन सजाउँदै हुनुहुन्छ रे ! होइन कि भन्नेपनि लाग्यो सुरुमा त । धेरै दिन कुरेँ पनि, किनकी यो मन यही चाहन्थ्यो–‘कार्पेट’ को खबर झुटो होस् ।

प्रधानमन्त्रीले जस्तै तपाईंले पनि थाहा पाउनु भएन कि, तपाईंलाई थाहै नदिई कसैले परिवर्तन गर्न लाग्या पो हुन् कि भन्ने पनि लाग्यो । अँह खण्डन गरेनन् कसैले ! खबर साँचो रहेछ तर पनि पत्याउनै मुश्किल पर्यो । किनकी मेरो नजरमा तपाईं  ‘सादा जीवन उच्च विचार’ कि एक आदर्श नारी हुनुहुन्छ । यही कारण पनि सब् फेक हुन् जस्तो लाग्छन्, तपाईंमाथिका नकारात्मक टिप्पणी ।

सृष्टि नेपाल (द्वारिका)

त्यसमाथि मेरो घर विकट जिल्लामा छ । इन्टरनेटले खासै काम गर्दैन । समाचार सुन्नमा उति इन्ट्रेष्ट पनि लाग्दैन । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दो भएर पनि अचेल समाचारप्रति वितृष्णा छ । फुर्सद पनि नहुने गाउँघरमा । धान भन, मकै भन, अन्य तरकारी बाली भन, कामको चटारो सधैँको उस्तै !

आज धेरैपछि फेसबुक खोलेकी थिएँ, डाँडातिर पुगेर । आदत जो छ । महिनामा एकपल्ट भनेपनि चलाउनै पर्छ, पहाडै चढ्नु किन नपरोस् ! लकडाउनका कारण भेट नभएका आत्मीय मित्रहरुसँग भलाकुसारीका लागि खोलेको फेसबुकमा असरल्ल मिडिया कन्टेन्टले मन अमिलो बनायो । मुटु कुँडियो !

कोरोना संकटले देश शिथिल परेको समयमा तपाईंको भवनमा कार्पेट बिछ्याइँदै छ रे ! त्यो पनि कराेडाैंकाे । जनताको रोग पत्ता लगाउन पिसिआर मेसिन थप्ने पैसा छैन भन्नुहुन्छ स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीज्यू । ‘किट छैन’ भन्दै खटाइ–खटाइ परीक्षण गरिरहेका छन् ।

राहत र कोरोना उपचारमा बाँडेर १० अर्ब सकियो रे । क्वारेन्टाइन व्यवस्थित बनाउन रकम पुगेन रे, गोठमा सुताइएको छ जनतालाई । अनि करोडौंको कार्पेट किन्ने, जिमखाना बनाउने, राष्ट्रपति भवन सजाउने त्यत्रो पैसा चाहीँ कहाँबाट आयो ? अच्चमित छु !

के तपाईं राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीका लागि जनताभन्दा ठुलो आफ्नो भोगविलास हो ? भएको पैसा विलासितामा उडाएर राष्ट्रघाती सम्झौता अघि सार्दै विदेशीसामू लम्पासार परी भीख माग्न लाज हुँदैन तपाईं सत्ताभोगीहरुलाई ? पूर्खाहरुले ठाडो पार्न लायक बनाइदिएको त्यो शिर पैसामा बिकेर कति सजिलै झुकाउनु हुन्छ हगि ? जनताका लागि राजनीति गरेका स्वर्गिय मदन भण्डारीको जनताको बहुदलिय जनवादको नै धज्जी उड्नेगरी !

मलाई थाहा छ राष्ट्रपतिज्यू, राष्ट्रपति कार्यालय, भवन सुविधा सम्पन्न, चिटिक्क परेको हुनुपर्छ । देशविदेशबाट आउने राष्ट्राध्यक्षदेखि प्रधानमन्त्री, राजदुत तथा विशिष्ट ब्यक्तिहरु भेट गर्न आउने स्थललाई कवाडी खाना जस्तो राख्नै हुन्न । तर, देशका जनता काँचै खाउँ कि पकाएर खाउँ भन्दै भोकभोकै छट्टपाई रहँदा, कोरोनाबाट बच्न गोठमा सुतिरहँदा तपाईंलाई करोडौंको गलैचा फेर्ने ध्याउन्न हुनु चाहीँ अलिक नमज्जा लाग्यो !

राष्ट्रपतिज्यू, हामीले खाइ–नखाई कर तिरेको तपाईंको भवन सजाउनलाई होइन । देशको सर्वोपरी विकास, देशको सुरक्षा र जनताको रक्षाको लागि हो । देशको मुहार फेर्नुहुन्छ कि भन्ने आशामा कर तिरेका हौँ हामी जनताले, तपाईंको मोजमस्तीका लागि होइन !

एैसआरामै मात्र खोज्ने, सम्पत्ति मात्रै जोड्ने हो भने अब मेरो देशले राष्ट्रपतिको भार थेग्न सक्दैन ! हेलिकप्टर किनिदिने पैसा छैन हामीसँग । पाल्न सक्दैनौँ तपाईंलाई ! अब एउटै विकल्प छ हामीसँग । राष्ट्रपति पद खारेज गर्ने या कार्यकारी बनाउने !

मलाई याद छन् अझै ति दिन, हिजो जस्तै लाग्छ तपाईँले अँगेनामा चिसा दाउरा झोस्दै भात पकाउनु भएको । मदन भण्डारीको स्वर्गारोहण पछि नेपालको राजनीतिमा आमूल परिवर्तन ल्याउँछु, देशवासीलाई सुख दिन्छु भन्दै पार्टीमा लागेदेखि त झन् फुर्तिली हुनुभएको थियो ।

पार्टीका र्याली, जुलुस, आन्दोलनमा घामपानी नभनि दौडिएर जनताको पक्षमा वकालत गर्नुहुन्थ्यो । घरधन्दादेखि लिएर जनताका काम समेत भ्याउनुहुन्थ्यो । दुःखी, गरिबका घरदैलो धाइरहनुहुन्थ्यो । अन्यायमा परेकालाई न्याय दिने प्रयत्नमा लाग्नुहुन्थ्यो । नारी हकअधिकारका विषय उतिकै उठाउनु हुन्थ्यो । बोल्दा कसैको शब्द सापटी लिनु पर्दैनथ्यो ।

तुने चप्पल पड्काउँदै लेकबेँसी गर्नुभएको पनि हिजो जस्तै लाग्थ्यो, एकाएक महंगिनु भएछ आज त ! राजनीतिमा भन्दा पनि आफ्नै जीवनशैलीमा पो आमूल परिवर्तन ल्याउनु भएछ त ! बाफ रे ! अचेल त तपाईँका पाउ पनि कति सोखिन्दार भएछन्, लाखौँका चप्पल रोज्छन् । हिँड्न समेत मान्दैनन् विना कार्पेट ! बुढेसकाल लागे र हो या सौखले हो, एउटा हाते ब्याग सम्म पनि सम्हाल्न नसक्ने भएछ त्यो शरीर । त्यस्तो अस्वस्थ नै भए विश्राम दिएपनि हुँदो हो !

तपाईँसँगै घाँस दाउरा गरेकी मेरी आमालाई हेर्नुस् त आजपनि मेहनत गर्छिन् । फुर्तिली छिन् । बा छैनन्, आफ्नै पौरखले तीन जनाको पेट पालेकी छिन् । हामी दिदीभाईले जति नै आराम गर्नूस् भनौँ न, १८ घण्टा पसिना नबगाई सन्तुष्टि मिल्दैन उनलाई । हात फैलाउन कहिल्यै नजान्ने उनी, पेट भोको देख्नै सक्दिनन् कसैको । गरिब भएपनि मनकी साह्रै धनी छिन् मेरी आमा । गर्व लाग्छ !

पहिले त तपाईँप्रति पनि गर्व लाग्थ्यो । प्रभावित थिएँ तपाईंको जीवनीबाट । तपाईंका राजनीतिक संघर्षका कथाहरु पढ्दा शरीरमा काँडा उम्रन्थ्यो । तर, आजकल ती सबै हराएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भनेर कसैले भन्दा नाक खुम्च्याउन मन लाग्छ । तपाईंका किस्सा नकोट्याइदिए हुन्थ्यो जस्तो लाग्छ ।

तपाईंसँग एैसआराम छ, पैसैपैसा छन् र पनि भोका नागरिकको पेट भर्नेसम्म प्रयत्न गर्नुहुन्न । विकास त परै जाओस् । तपाईं आफ्नै पसिनाले खरिद गर्नुहुन्थ्यो भने हिराकै कपडा भिरे पनि फरक पर्थेन सायद, जति अहिले परेको छ ।

हिजोसम्म पुरुषका अगाडी लजाउँदै शिर झुकाउने तपाईँलाई जनताको पसिनामा मोज–मस्ती गर्न अलिकति पनि लाज लागेन है ! कसरी पथ्थर बनाउनुभयो त्यो नौनीवाला दिल ?

तपाईँलाई थाहा छ, जनता यतिबेला मर्नू न बाँच्नुको स्थितिमा छन् । कतिका परिवार विदेशमा विचल्ली छन्, लिन गएको जहाज रित्तै फर्कन्छ । भनेका बेला औषधि समेत पाएका छैनन् यहाँ । कसैका घरमा त खोलेफाँडोसम्म पनि छैन । लकडाउन भएदेखि चुलो बलेको छैन, प्याक–प्याक छन् भोकले । कसैले केही देला र खाउँला भनेर बसेका छन् ।

कतिको त खानाको पर्खाइमा प्राणपखेरु उड्यो । कतिले आफैँलाई जलाए, कतिले झुण्ड्याए त कतिले विष पिलाए । यो लकडाउन अवधिभरी ११०५ जनाले आत्महत्या गरिसकेछन् ! कति डिप्रेशनमा गएका छन्, अझै कतिले त्याग्नुपर्ने हो जीवन ! उफ् सम्झँदा पनि दिक्क लाग्छ ।

यी खबर सुन्दा तपाईँलाई अलिकति पनि दया जाग्दैन है ! जनताको शोकमा दिपावली मनाउने तपाईं कस्तो शामन्ती ? कि हेर्नुहुन्न खबर ? हुन त लेखपढ गर्नै बिर्सनु भइसक्यो सायद । त्यसैले त कतै कार्यक्रममा बोल्नका लागि पनि अरुले शब्द लेखिदिनुपर्छ, अनि त्यसैलाई गाह्रो मानीमानी पढिदिनुहुन्छ । अचम्म लाग्छ, त्यति टाठीबाठी मान्छे कसरी यस्ती लाटीजस्ती हुनुभयो होला ! बोल्दै नबोल्ने !

राजनीतिमा तपाईँको नाम चम्कँदै गर्दा गदगद थिइन् मेरी आमा । उनलाई लागेको थियो– सधैँ पुत्रले राज गरेको त्यो सिंहासनमा आज पुत्री विराजमान छिन् । बुझ्नेछिन् नेपाल आमाको व्यथा । धोइने छन् उनका मैला फरिया । उज्यालिने छ मुहार ! विकासले गति लिनेछ ।

अब नारी बलात्कृत हुनुपर्ने छैन । नारीमाथि शोषण हुने छैन । किनकी स्वयम् दुर्गा विराजमान छिन् सिंहासनमा, अन्याय सहन्नँन् कदापी ! कुनै कुपुत्रले वृद्धा बा–आमालाई वृद्धाश्रम छोडे जसरी चटक्क माया मारेर नेपाल आमालाई कसैको हातमा सुम्पने हो कि भन्ने भय पनि टर्यो । अब नेपाल आमामाथि आक्रमण गर्ने हिम्मत राख्ने छैनन् छिमेकीले ।

यी सब् भ्रम सावित भए । भएनन् केही, जब नेतृत्व सम्हाल्ने पदमा पुग्नुभयो ! टिकेनन् खुशी मेरी आमाको । हिजो भगवानमा भन्दा ज्यादा तपाईँप्रति आस्था राख्ने, तपाईँको भजन गुनगुनाउने उनी आज खिस्रिक्क परेकी छिन्, तपाईँको सत्ता मोह र कार्यशैलीले ।

नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो महिला राष्ट्रपति र लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुनुहुन्छ तपाईँ । तपाईंका श्रीमान स्वर्गिय जननेता मदन भण्डारीले राजनीति शुरु गर्दै गर्दा तपाईंमा राजनीतिक चेत थियो कि थिएन मलाई थाहा भएन तर लैङ्गिक समानता, समान ज्याला, महिला शिक्षा र घरेलु हिंसाको उन्मूलनका लागि संसद र सडक आन्दोलनको नेतृत्व गरेकी तपाईँको लडाइँ अविस्मरणीय छ । म मान्छु ।

तपाईँकै नेतृत्वको आन्दोलनले २०७२ सालमा राजनीतिक प्रतिनिधित्व र सरकारी सेवामा महिलाको न्यूनतम ३३ प्रतिशत हक सुनिश्चित भएको थियो । अझै आशा थिए धेरै, मरे अहिले ।  एक वैगुनले हजार गुन बिर्साउँछ भन्छन्, यी सब् बिर्सिए जनताले !

तपाईंले अहिले पाउनु भएको राष्ट्रपति पद स्वर्गिय मदन भण्डारीकै कारण पाउनु भएको हो भनेर चरितार्थ हुँदैछ तपाईँको पछिल्लो गतिविधिले । यदी तपाईंभित्र यो देशका लागि, यहाँका सर्वहारा जनताका लागि राजनीति गरेको हुँ भन्ने चेत थियो भने अहिले जनता कोरोनाको त्रासमा बाँचिरहेका बेला यस्तो लाजमर्दो काम गर्नु हुन्नथ्यो होला सायद !

तपाईले कतिपय क्षेत्रमा श्रीमानले पुरा गर्न नसकेको ‘जनताको बहुदलियत जनवादको अभिलाषा म पुरा गर्छु’ भन्नुभएको थियो । उहाँको स्वर्गारोहणपछि तपाईँको खटाइ र जनताप्रतिको झुकावका कारण तपाईंकै अनुहारमा जननेता मदन भण्डारीलाई देखेर परीवर्तनको आशमा जनताले पहिलो पटक तपाईंको पार्टीलाई बहुमत दिएका हुन् । तर तपाईँ चुक्नुभयो लिडसीपमा !

अहिले बुझ्दैछौँ, तपाईँ देश र जनताका लागि होइन आफ्नै सपना पुरा गर्न पो राजनीतिमा होमिनु भएको रहेछ ! त्यो बलिदान हाम्रा लागि होइन रहेछ । सब् बुझ्दैछौँ अहिले । जनता रुवाएर कि जोड्नुहुन्छ खै सम्पत्ति, आखिर मरेपछि लान पाइने केही होइन ! नाकका फुली समेत फुकाली दिन्छन् !

तपाईंको बाल्यकाल पनि त्यसरी नै बित्यो जसरी मेरी आमाले बिताइन् । तपाईं पनि एक किसान परिवारको सन्तान, यहाँसम्म आइपुग्न अनेकौँ आरोह–अवरोहहरु पार गर्नुभयो । त्यसमाथि एकल महिलालाई झनै गाह्रो हुन्छ । त्यो पनि बुझ्छु म ।

तर अहिले एउटा निश्चित पदमा पुगेपछि तपाईंले ती संघर्ष, आरोह–अवरोह, जिम्मेवारी, उद्देश्य, दायित्व सबै बिर्सनु भएको छ । मेरो मात्रै होइन ती ३ करोड नेपाली जनताको गुनासो हो यो, जो तपाईं राष्ट्रपतिमा नियुक्त हुँदा उज्यालिएका थिए । गदगदिएका थिए ।

निराश छन् आज सबै । किन थाहा छ तपाईंलाई ?

जाम खेप्नुपर्छ तपाईं सडकमा हिँड्दा । आकाशमा उड्दा पनि जाम ! कुनै घटनामा बोल्नुहोला, न्याय दिनुहोला भन्यो, अहँ फुट्दैन बोली । माइक अगाडी उभिइहाल्नु भयो भनेपनि कसैले लेखिदिएका शब्द वाचन गर्नुहुन्छ, जानुहुन्छ । समाजमा यत्रो घटना घट्दा काँप्दैन भन्या त्यो मुटु ? जनता अन्यायमा पर्दा तपाईंलाई उकुसमुकुस हुँदैन ? महाकाली चढ्दैन ? ती बलात्कारीलाई फाँसीमा लड्काउँ जस्तो लाग्दैन ? राहतमा कुहिएको चामल दिनेलाई त्यहीँ गएर चड्काइदिउँ जस्तो लाग्दैन ?

साँच्चै बद्लिनुभएको छ तपाईं, त्यो मान्छे रहनुभएन जसलाई राजनीतिमा हामीले अवसर दिएका थियौँ । सोच्नुस् त, हामी जनता नहुँदा हौँ त तपाईं पार्टीभित्रकी एक सामान्य कार्यकर्तामा सिमित हुनुपथ्र्यो । हामीले जितायौँ र त मन्त्री बन्न पाउनुभयो नि ऊ बेला !

समकक्षीको बराबरीमा पुग्न महंगा कार्पेट विछ्याउनै पर्दैन !  तपाईं यसै महान् बन्नुहुनेछ जब देशको विकास हुनेछ । तपाईंलाई थाहा छ, न्युजिल्यान्डकी यातायातमन्त्री जुली साइकलमै कार्यालय ओहोरदोहोर गर्छिन् रे । इमरान खानले सरकारको नेतृत्व पाएलगत्तै प्रधानमन्त्रीको सुरक्षाका लागि रहेका हेलिकोप्टर, बुलेटप्रुफ कारसहित ८० गाडी लिलामीमा बिक्री गरे अरे  १ खै कहिले बुझ्ने तपाईंले !

हामी कति पछुताएका होलाऊँ आज ? एउटा राजनेताको अर्थ नबुझ्नेलाई शिरमा चढाउँदा ! तपाईं त स्वार्थमुक्त हुनुपर्ने हो । आफ्नो लागि भन्दा देश र जनताका लागि सोच्नुपर्ने हो । आफ्नो सन्तानको भन्दा बढी जनताको ख्याल राख्नुपर्ने हो । घरलाई भन्दा देशलाई माया गर्नुपर्ने हो ।

देखिएनन् यी गुण र त हिजो तपाईं पदमा पुग्दा गर्वले फुलेका छातीहरु आज सुकेका छन् पश्चातापले ! थकथक मानेका छन् जनताले । अत्ति भएन र राष्ट्रपतिज्यू ? अब त केही बोल्नुस् ! तपाईंको बोली सुन्न, कामकारवाही हेर्न अझै कति तड्पिने ! एैसआरामै मात्र खोज्ने, सम्पत्ति मात्रै जोड्ने हो भने अब मेरो देशले राष्ट्रपतिको भार थेग्न सक्दैन ! हेलिकप्टर किनिदिने पैसा छैन हामीसँग । पाल्न सक्दैनौँ तपाईंलाई ! शितल निवासमा तपाईंलाई पाल्नुपर्छ, यता हाम्रा गाउँ टोलभरी छोटे राष्ट्रपति जन्मिएका छन् । तिनीहरुको राजसी छाँट र तपाईंकोमा केही भिन्नता भएन ।

अरु देशमा के हुन्छ जान्नु छैन, हामीसँग भने अब एउटै विकल्प छ । राष्ट्रपति पद खारेज गर्ने या कार्यकारी बनाउने । सबै काम प्रधानमन्त्री पदबाटै तमाम हुन्छ भने जाबो एउटा हस्ताक्षरका लागि किन राख्नु त्यति महंगो पद, जसले जनताको सुख दुखः बुझ्दैन । जसले न्याय अन्याय छुट्याउँदैन ।

हुन त जनतालाई कठ्पूतली ठान्नु हुँदो हो, जता नचायो त्यतै नाच्ने । जे भन्यो त्यही मान्ने । जे अह्रायो त्यही गर्ने । तर यो नबिर्सनूस् कि तपाईं एक कामदार हुनुहुन्छ, जनताको । जनताले खटाएका हुन् तपाईंलाई, आफ्नो र देशको रक्षा–सुरक्षाका लागि । विकासका लागि । शक्तिशाली छु भनेर घमण्ड नगर्नूस् र यो नठान्नुस् कि सांसदले चुने र त्यति माथि पुगेँ । हामी जनताले विरोध गथ्र्यौं भने हिस्सै पर्नुहुन्थ्यो जसरी राणा र राजा परे !

जाग्नुस् न अब उठ्नुस्, देश विकासमा हातेमालो गरौँ । सुखी नेपाली समृद्ध नेपालको सपना साकार पारौँ । समकक्षीको बराबरीमा पुग्न महंगा कार्पेट विछ्याउनै पर्दैन ! बहुमूल्य, बास्नादार सामग्रीले भवन मगमगाउनै पर्दैन । तपाईं यसै महान् बन्नुहुनेछ जब देशको विकास हुनेछ । विश्वका शक्तिशाली देशका राष्ट्रपतिहरु साइकल, ट्रेनमा सवार भएर गल्लीगल्ली घुम्दा हुन्छ भने तपाईंलाई चाहीँ केको लागि हेलिकप्टर, केको लागि करोडौंको कार्पेट ?

असुरक्षाले गर्दा हो भन्नुहुन्छ भने, आफ्नै जनताबाट असुरक्षित भएर गद्दीमा बस्नुको अर्थ के ? भौतिक सुख सयलले मात्र शान्ति प्राप्त हुँदैन राष्ट्रपति महोदय, आत्मिक शान्ति चाहिन्छ । मनभरी कटुता लिएर दिनरात धुपवत्ती गरी भगवानको पुजा गरेर पुण्य कमाईंदैन । त्यसका लागि त त्याग गर्न सक्नुपर्छ ।

आवश्यकता भन्दा बढी विलासिता त्यागिदिनुस्, महान्–आदर्श महिला राष्ट्रपति भनेर चिनिनु हुनेछ संसारभरी । तपाईंको गुणगान गाउनेछ विश्वले जसरी अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, क्रोएसियाकी पूर्वराष्ट्रपति कोलिन्डा ग्राभर र न्युजिल्यान्डकी यातायातमन्त्री जुली एनी गेन्टरको गाएको छ । उनीहरु सादा र सरल जीवनशैलीका कारण नै चर्चामा आएका हुन् । सम्मानित भएका हुन् ।

तपाईंलाई थाहा छ, न्युजिल्यान्डकी यातायातमन्त्री जुली साइकलमै कार्यालय ओहोरदोहोर गर्छिन् । इमरान खानले सरकारको नेतृत्व पाएलगत्तै आलिसान महलमा रहेको प्रधानमन्त्री कार्यालयलाई तीनकोठे भवनमा सारे । प्रधानमन्त्रीको सुरक्षाका लागि रहेका हेलिकोप्टर, बुलेटप्रुफ कारसहित ८० गाडी र आठवटा भैँसी लिलामीमा बिक्री गरे । प्रधानमन्त्रीका रूपमा आफूले पाउने चिया र खाजा खर्च पनि कटौती गरे । खै कहिले बुझ्ने तपाईंले !

हुन त तपाईंको पदले कतिको बोल्न दिन्छ, कतिको सक्रिय हुन दिन्छ त्यो म जान्दिन । तर अन्यायविरुद्ध बोल्नुभयो, विलासिता त्यागेर जनताको सुख–दुःखमा सहानुभूति जाहेर गर्नुभयो, सहायता दिनुभयो भने तपाई सधैं जनताका घरमा बस्नु हुनेछ । आतुर छन् जनता तपाईंको आवाज सुन्न, अब त बोल्नुस् न राष्ट्रपतिज्यू ! गर्नुस् केही ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *