बयालपाटा हस्पिटलमा घटेको घटनाको दोषी को ?

अछामको साँफेबगर नगरपालिकामा पर्ने बयालपाटा अस्पताल परिषरमा जुन कहालि लाग्दो घटना घट्यो, यो घटनाले निकै मन पिरोलेको छ । त्यो भन्दा बढी अछामको मात्र हैन बयालपाटा अस्पतालबाट अन्य छिमेकी जिल्लाका जनताहरूले प्राप्त गर्ने स्वास्थ्य सेवाको बारेमा चिन्ता उत्पन्न भएको छ । म कसैको पक्ष विपक्षमा बोल्न चाहन्न र छैन पनि ! तर सत्यता र वास्तविकताको पक्षमा बोल्न पर्ने कुरा भने लुकाउन सकिँदैन, र मेरो चेतना र विवेकले भ्याउने जति कुरा बोल्नु मेरो कर्तव्य पनि हो । चाहे कसैलाई चित्त बुझोस या दुखोस ।

पदम बल

सर्वप्रथम त एकजना भाइले आफ्नो रोजगारी गुमेको पिडाले ज्यान गुमाएका छन । यो निकै दुखद कुरा हो । समस्याको समाधान मृत्यु त कदापि होइन, उनले चाहे कसैको उक्साहटमा होस या कसैलालाई धम्क्याउन अपरिपक्व युवा चेतनामा होस, वा आफ्नो पिडा थाम्न नसकेर हाे ज्यान गुमाए यसमा दुःखि छुँ । भाइको मृत आत्माले शान्ति पाओस भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्न चाहन्छु । साथै पिडित परिवारलाई क्षतिपूर्तिको व्यववस्था गरियोस भन्ने माग पनि गर्न चाहन्छु ।

भाइले जुन गलत बाटो रोजे त्यो गर्न नहुने थियो । उनले आफ्नो जीवन त गुमाए घरपरिवारलाई मात्र हैन बाँकिलाई पनि समस्यामा पारेर गए । यो गंभिर समस्या पनि हो ! अब यसको जिम्मेवार कसलाई ठान्ने प्रश्न यहाँ छ ! हुन त हामी धेरै टाढा–टाढाबाट नियाल्दैछौं, र हाम्रो चाहाना कुनै पनि व्यक्तिको रोजगारी गुम्नु हुँदैन र वेरोजगारीको पिडाले ज्यान गुमाउनु हुँदैन भन्ने पनि हो । हामी जो जहाँ भएपनि आफ्नो जन्मभुमी बारे चिन्ता भने सबैलाई हुन्छ !

बयालपाटा अस्पताल

यो विषयमा चासो राख्नु र खास दोषको जरो कहाँ छ, गुदि कुरा नियाल्नु भने पक्कै आवश्यक छ ! “समस्या एकातिर, बराल्लिने अर्कातिर” यसरी समस्या पहिचान गर्न सकिँदैन । हुन त, अछामका विभिन्न परिवर्तन र विकासको क्रममा धेरै संघर्ष र विभिन्न परिस्थितिमा सामान्य तवरले कुनैपनि उपलब्धि भएको छैन । जहाँ धेरै कुरामा धेरैले ज्यान गुमाएका छन । तर ज्यान गुमाउने सबै गरीबहरु नै छन । तर ज्यान कुन कुरामा दियो वा गयो भन्ने कुरा मुख्य रहन्छ । मैले केहि कुरा जोडन चाहन्छु ।

म धेरै पोख्त त छैन र नहुँला, सुनेका कुरा सायद २०३४ सालतिर अछामको छबिस र पन्ध्र बिसतिर हैजा महामारी फैलिदै गर्दा कतिपय मान्छेको मृत्यु भयो । त्यो महामारीबाट भयावह अवस्था सृजना हुँदा महामारी नियन्त्रणका लागि यहाँका मानिसहरूले केन्द्रसम्म कुरा राखे वा अछामका उच्च तहका मान्छेको पहलमा केन्द्रले औषधि पठायो। औषधी साँफेबगर विमानस्थलमा पुगिसकेपछि औषधी वितरणकै लागि २०३४ साल भदौ २९ गते साँफेमा ठूलो झडप भयो । ठूलो मानवीय क्षति हुन पुग्यो । जसमा तत्कालिन जनालिकोटका गिरि सुनार, सेर ब.कुँवर, कर्ण बहादुर साउँद र गाँज्राका रंग बहादुर खडका चार जनाले ज्यान गुमाउनुका साथै २३ जना घाइते बने । जनालीका डम्बरबहादुर स्वार, चण्डिका जमालगाँउका गंगबहादुर कुँवर लगायत १० जना गिरफ्तारमा परे, यो कारण थियो प्रयाप्त औषधी उपचार गर्ने अस्पताल नहुनु र जनताले स्वास्थ्य उपचारका लागि बाहिरबाट आएको औषधिको आवश्यकता महसुस गर्नु ।

२०३४ साल माघ महिनामा राजा बिरेन्द्र बयालपाटा खानेपानीको उदघाटन गर्न आउँदा त्यही मौकामा साँफेबगर घटनाको बारे सबैलाई सान्तवना दिँदै यहाँका जनतालाई स्वास्थ्य क्षेत्रमा समस्यालाई मध्यनजर गरी बयालपाटा क्षेत्रमा एउटा अस्पताल बनाउने प्रतिबद्धता जाहेर गर्यो । त्यसै अनुसार फेरि २०३९ सालमा बयालपाटा अस्पतालको भौतिक पूर्वाधार कार्य शुरु भयो र भवन निर्माण कार्य २०४२/४३ साल तिर सम्पन्न भयो ।

भवन बनेर मात्र केहि साध्य भएन नेतृत्वको राजनीतिक खिचातानीले दुध बिनाको थारो भैसी जस्तै बयालपाटा अस्पतालका रित्ता भवनहरू, भवनमा मात्र सिमित भए स्वास्थ्य संशाधन बिना खाली डाँडोमा बनेका भवनको कुनै औचित्य रहेन ।२०४२/४३ देखि २०६५ सालसम्म बयालपाटामा बनेका भवनहरू ग्वाला गोठालाहरु देखि जंगली जनावर चराचुरुङ्गीहरुका लुकामारी खेल्ने संरक्षण बिहिन डरलाग्दा गुफा झैं बने, एकातिर देशको स-शस्त्र द्वन्द्वले ओझेलमा पार्यो र अर्कोतिर नत कसैले चाँसो देखाए, नत कोहि यो बारे चिन्तित बने । यो करौडौंको लगानी डाँडोको हावाले उडायो, नत अछामका मैहु भन्नेहरुले कसैको रोजगारको बारे सोचे नत गरिब अछामि जनताको स्वास्थ्य सुरक्षाको बारे सोचे ।

२०६५ सालतिर न्याय हेल्थ नेपाल देशका द्वन्द्व पिडित र असहाय गरिव र स्वास्थ्य क्षेत्रमा पहुँच नपुगेका, राज्यले पूर्ण रुपमा सेवा दिन नसकेका विकट जिल्लामा स्वास्थ्यको सवालमा काम गर्ने हेतुले अछामको साँफेबगरमा प्रवेश गर्यो र लगभग एक वर्ष साँफेको हाटबजार नजिकै रहेर सेवा दियो । सेवा प्रभावकारी बन्दै जाँदा जग्गा कमपर्ने स्थिति भएका कारण २०६६ सालमा रिडिकोटको बडेलगडामा सर्यो । विभिन्न सरोकारवाला निकायदेखि सामाजिक राजनीतिक अगुवाहरुको सहकार्य र समन्वयमा बडेलगडामा न्याय हेल्थको उदाहरणिय कार्यले अछामि जनता मात्र नभई छिमेकी जिल्ला समेतका लागि हेल्थ नेपाल बर्दान बन्न पुग्यो ।

यो बयालपाटा अस्पताल न्याय हेल्थ बिमारीलाई निःशुल्क औषधी उपचार गर्ने ठाउँ मात्र रहेन कतिलाई आत्मनिर्भर, समृद्धिको लागि टेवा पुर्याउने स्वरोजगारको माध्यम पनि बनेको छ । यसै अस्पतालको कारण सिमित क्षेत्र वा सिमित पहुँच भएकाहरु जो सुकै हुन अछामी हुन म यसमा धेरै लेख्न चाहन्न । अछामका स्वास्थ्य क्षेत्रका हुन या साधारण हुन आफ्नो योग्यता क्षमता कामको प्रकृति अनुसार धेरैले रोजगारी पाएका छन । यतिमात्र हैन आन्तरिक यातायातको व्यापार बढेको छ । पेट्रोलपम्प चलेका छन । गाँउका किसानका तरकारी ब्यवसायले बजार पाएका छन । माछा मासु र खुद्रा व्यापार बढ्यो । कतिपय साना साना औषधी पसल चलेका छन । होटल ब्यवसाय चलेका छन ।

नजिकै वरीपरीका साधारण साक्षर महिलाहरुले पनि रोजगार पाएका छन । त्यो भन्दा महत्वपूर्ण कुरा स्वास्थ्य शिक्षा पाएका छन । कतिपयका इज्जत जोगिएका छन । त्यो भन्दा ठूलो कुरा आज सानो बिरामी हुँदापनि धनगढी नेपालगञ्ज गएर लाखौं खर्च गर्नपर्ने ठाउँमा निःशुल्क रुपमा औषधि उपचार भैरहेको छ। अहिलेसम्म करीब १० लाख जनताले स्वास्थ्य उपचार सेवा पाएका छन, यो कुरालाई पनि हामीले विर्सनु हुँदैन । यो हाम्रो गर्व गर्ने ठाउँ पनि हो र गर्न पनि पर्छ ।

कुरा रह्यो कर्मचारी निस्कासन र रोजगार गुम्दा आत्महत्याको !

कुनैपनि विदेशी संस्था निश्चित समयको लागि आउने भएकाले सधैं सेवा गर्न सक्दैन र त्यो हुँदैन पनि । यसका उदाहरण हुन आर्थिक सामाजिक सांस्कृतिक राजनीतिक शैक्षिक क्षेत्र विकासको निम्ति सिमित समयको लागि आउने दातृ निकायका कार्यक्रम । जाे सिमित समयको लागि आउँछन, आफ्ने लक्ष प्राप्ति गर्छन र जान्छन । जब दाताको सहयोग सकिन्छ न संस्था रहन्छन नत कर्मचारी नै रहन्छन । तर न्याय हेल्थले अहिलेसम्म निरन्तर दिइरहेको सेवा र रोजगारलाई हामीले सम्मान गर्नुपर्छ सल्यूट गर्नुपर्छ । यो अछामी जनताको लागि मेहरमानी सम्झिनु पर्छ । बाँकि अरुकै भरमा नपरी देखाई दिएको बाटो र कार्यलाई निरन्तरता दिने जिम्मेवारी सम्बन्धित ठाउँका जिम्मेवार व्यक्तिको पनि हो । नराम्रोको आलोचना गर्नेले राम्रोको प्रशंशा पनि गर्न जान्नुपर्छ । हुन त अस्पताल सञ्चालक, समिति प्रशासनमा कमिकमजोरी होलान, बिभिन्न कुरामा समस्या देखिएला । यो कुरा प्रशासन फाँटले पारदर्शी र चुस्त दुरुस्त हुन जरुरी हुन्छ, हुन पनि पर्दछ । यो कुरा हस्पिटलले बुझ्नु जरुरी हुन्छ ।

अहिलेको महाविपत्तिमा स्वास्थ्य क्षेत्रमा जनशक्ति बढाएर सेवालाई प्रभावकारी बनाउनु पर्ने ठाउँमा ३४/३५ जना कर्मचारी निकालिए, बेरोजगार बने यो दुःखको कुरा हो । तर, निकालिनुको कारण त्यो भन्दा दुःखद छ । जबसम्म बिदेशी दाताले कर्मचारी दिएको थियो हस्पिटलले राख्यो । सबै रोजगार बने । उनले सेवा गरे यो हाम्रो खुशिको कुरा हो र थियो । तर बिदेशि दाताले दिनै छोडेपछि हस्पिटल प्रशासनले ति कर्मचारी कसरी पाल्ने र कसले दिने मासिक तलब भत्ता, कहाँबाट ल्याउने आर्थिक कर्मचारीलाई काम गराएर भोलि तलब नपाए यसको जिम्मेवारको हुने, आज पैसा नहुँदा कर्मचारी हटाइएकोमा आत्महत्या भो चौतर्फी बिरोध छ । भोलि काम गराएर पैसा नदिँदा के हुन्थ्यो, यो त्यो भन्दा जटिल विषय हो । कसैलाई घेराबन्दी बनाएर आरोप लाउन पूर्व भित्रको वास्तविकता बुझ्ने कि नबुझ्ने ?

मलाई लाग्दछ, जागिर गुम्दाको पिडाले आत्महत्या हुनु, ३०/३५ जनाको रोजगारी गुमेर बेरोजगार हुनुको जिम्मेवार (न्याय हेल्थ) बयालपाटा हस्पिटल हैन । अछामको राजनीतिक दल र शिक्षा, स्वास्थ्य रोजगारी आर्थिक क्षेत्रमा हामी काम गर्छाैं भनेर जनताको लिडर बनेकाहरुले लिनुपर्छ । रोजगार दिन्छु भनेर चुनावी नारा लाउनेहरुले बेरोजगार बनाएर मर्न बाध्य बनाएका छन । तिनले लिनुपर्छ जिम्मेवारी ! जब बिशुद्ध सेवामा काम गर्ने संस्थामा आफ्ना वरिपरिकाहरुलाई जागिर ख्वाउन दबाव दिने, राजनीतिक पावर देखाउने, हस्पिटलमात्र हैन एउटा विद्यालयमा शिक्षक नियुक्ति गर्दा समेत योग्यता क्षमता नहेरी राजनीतिक कार्यकर्ता भर्ती गर्ने, त्यहाँ मात्र हैन ठेकापट्टा र गाँउका कुला पँधेरोमा शुद्ध राजनीतिक कार्यकर्ता र आफन्तको भर्ती गर्ने, अर्काले गरेको ठाउँमा हस्तक्षेप गर्ने, रोजगारदाता बन्ने आफु कौणिको काम गर्न नसक्ने, अन्तिममा निर्दोष जनतालाई झगडा गराउने काम हुन्छ समस्या पैदा भइहाल्छ । न्याय हेल्थ नेपालले सेवा दिने हो, राजनीतिक दलका कार्यकर्ताको रोजगारीको ठेक्का हैन । आदरणीय मित्र गण तथा अछामी युवा साथिहरु, दाजुभाई, दिदीबहिनी एवं बुद्दिजिवि वर्गहरु अब रोजगारी र पिडितलाई न्याय बयालपाटा हस्पिटल सँग हैन अछामि जनताको नाममा नायक बन्ने र बनेकाहरु सँग माग्नुपर्छ ।

यदि यी राजनीतिक दल र स्थानीय सरकार आफ्ना नागरिकहरुको रोजगार प्रति चिन्तित हुन् र थियो भने आज ३/४ महिना सम्म यो कुराको चर्चा चलेको थियो किन व्यवस्था गर्न सकेनन । कर्मचारी राख्नुहोस् भन्ने तलब भत्ताको ब्यवस्था नगर्ने ! राजनीतिक नौटंकी मात्र देखाउने । जनतालाई भिडाउने अनि स्वयं चाहिँ पानी माथिको ओभानो बनेर चोखिने । यदि साँच्चै चाहन्थे भने स्वस्थ भै बाँच्ने हो भने भौतिक पूर्वाधार विकासपछि पनि गर्न सकिन्थ्यो । संसद बिकास कोष लगायत स्थानीय सरकारका बिभिन्न शिर्षकका खर्च कटाएर हस्पिटलमा हाल्न सकिन्थ्यो किन हालेनन ? स्थानीय सरकार कहाँ थियो ? अछामि जनताको करबाट पाउने सेवा सुविधाको आधा रकम पनि बिकासमा आउँदैन । त्यहि रकम पनि फलानोको पहलमा आयो दियो दिलायो भनेर जस लाउने, के जनता लाटा छन, यो कुरा पनि हामीले बुझ्न जरुरी छ ।

एक जनाले ज्यान गुमाए, धेरै जनाले खाइपाई आएको रोजगारी गुमाए दुखद कुरा हो । यो भन्दा ठुलो कुरा यदि हाम्रो राजनीतिक खिचातानी र आपसी मतभेद र न्याय हेल्थसम्मको तिक्तताले हस्पिटल नै गुमाउन पुगेछौं न्याय हेल्थले नै छोडेर जाने हो भने, के हामी जागिरका लागि लड्न पाउँला र ? के गरिब जनताले पाएको निःशुल्क सेवा पाउलान र ? के महलमा बस्नेहरुले गरिब जनताको स्वास्थ्य सेवाकोबारे धनगढी नेपालगंज औषधि उपचारको जोहो गर्लान र ? के २०५५/५६ साल तिरको बडेलगडाका जिबजन्तु र जंगलले घेरेको बडेलगडा जस्तै हस्पिटल भवन यी आँखाले देख्न मनले मान्ला र ?

तसर्थ अब एक अर्कालाई आरोप प्रत्यारोप हैन, काम नगर्ने राजनीतिक माेजमस्तिमा जनतालाई ठग्नेहरुलाई बहिस्कार गरौं, राजनीतिक पार्टी जो सुकै होस काम गर्ने शिक्षा स्वास्थ्य रोजगारीको बारे चिन्ता गर्ने, जनताको हकहितमा काम गर्ने जो कसैलाई सहयोग गरौं । बयालपाटा हस्पिटल मात्र हैन अछामको विकास शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, सांस्कृतिक रोजगारको क्षेत्रमा काम गर्ने सबै निकायलाई कसरी बचाउन सकिन्छ बिकल्प खाेजौं ।

यो जिम्मेवारी हामी युवापुस्ताको काँधमा छ । त्यसकारण हामी सबैको एकता हुन जरुरी छ । हाम्रा आफ्नाको कमजोरीलाई लुकाएर बिशुद्ध संस्थालाई गुमराहमा पार्नु हुँदैन । यदि हामीले संस्थालाई राजनीतिक घेराबाट बचाएर राख्यौं र हाम्रो दाताको मन जित्न सक्यौ भने ३०/३५ हैन ६०/७० जनालाई रोजगारी सृजना हुन सक्छ । त्यसकारण “माछो भने वर हात,भ्यागुत्ता भने पर हात” गर्ने गलत राजनीतिक परिस्थितिले निम्त्याएको दुर्घटनालाई एकोहोरो हेरेर एक सेवा दिने संस्थालाई दोष थुपार्न हुदैन । यो समस्याको समाधान बाटो खोजेर ३० जनाको जागिर भन्दा लाखौंको ज्यान बचाउने हस्पिटल बचाउन पनि हाम्रो आवाज बुलन्द हुनुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *