के साबहरूले भनेजस्ताे महानिरीक्षकहरु राजनैतिक नेताका झोले हुन् ?

बसन्त कुवर

नेपाली सेनाका एक पुर्व जर्णेल प्रेम सिंह बस्न्यातले एक अन्तरबार्तामा प्रहरी महानिरीक्षकहरु राजनैतिक ब्यक्तिहरुको झोले भएको र पैसा तिरेर त्यो पदमा पुगेको आरोप लगाउनु भएको छ। पुर्व प्रहरीकै जर्णेल रमेश खरेल र ठाकुर मोहन श्रेष्ठको पनि यस्तै यस्तै प्रकृतिको अन्तरबार्ताहरु आउँछन् । यी कुराहरु त्यसै हाबामा बोलिएका छन् कि यस्को पछाडी केहि सत्यता पनि छ ? यस प्रकारको कुरा आई सकेपछि त्यसलाई खण्डन गर्ने कस्ले ? यी खण्डन गर्नुपर्ने कुरा हुन् कि वा यीभित्र केहि सत्यता पनि छन् ? यस प्रकारका आरोपहरु बाट बच्न र बचाउन प्रहरी संगठनले के कुरामा ध्यान दिनु पर्दछ ? हामी पुर्व भएकाले के गर्न सक्तछौं । यी विषयमा ।

दार्शनिक एल.रोन हबर्डसले लेख्नु भएको छ, खराब आरोपहरुलाई गलत सावित गर्ने तरिका भनेको असल कामहरु अत्याधिक देखाउने हो । अर्थात् यस प्रसंगमा यदि आइजीपी साबहरुको हामीले वा संगठनले डिफेन्स गर्ने हो भने उहाँहरुले देश, जनता, संगठन र प्रहरी कर्मचारीहरुका हकमा गर्नु भएका असल कामहरु र उहाँहरुले पदमा रहँदा देखाउनु भएको उच्च नैतिकताका उदाहरणहरु बाहिर ल्याउने हो । जत्ति उहाँहरुले गरेका राम्रा काम बाहिर ल्याइन्छन् त्यत्तिनै बाह्य आलोचना कम हुन्छ । यस अवस्थामा हामी आइजीपीहरुको शुभचिन्तकहरुले खोज्नुपर्ने हुन्छ कि उहाँहरुले गरेको राम्रो काम के हो ? के छन् ? जस्लाई देखाएर सुनाएर हामी जर्णेल प्रेम सिंह जस्ता जर्णेल साब हरुलाई मुख भरीको तर्क र जवाफ दिन सक्छौं ? ती राम्रा कामहरु खोजाैं,जम्मा गरौं । लेखौं। बोलौं ।

मैले अहिले सम्म १५० जत्ति आफ्नो विचार लेखें, लेखि रहेको छु । म पनि निक्कै हदसम्म यस कुरामा विश्वास राख्तछु कि मैले भोगेका हेम बहादुर सिंह देखि ओम बिक्रम राणा सम्मका महानिरीक्षकज्यु हरुको काम काज हेर्दा उहाँहरुले थोरै राम्रा काम गरेको तर, अधिकांश अनैतिक, अपराधिक, अन्याय पुर्णअत्याचारी, बदमासीका साथै उच्च संगठन विरोधी कामहरु नै गरेर गएको छन् । त्यस मध्ये केहि महानिरीक्षकका काम त संगठन र प्रहरी कर्मचारीका लागि हदैसम्मको घातक थिए । उहाँहरुको अनुहार र काम सम्झँदा म जर्णेल प्रेम सिंहको कुरामा उहाँहरुको डिफेन्स गर्न सक्तिन।

मैले भोगेका आइजीपी साबहरुले केवल कुनै ब्यक्ति विशेषलाई क्षति पुर्याउने मात्र होइन समग्र प्रहरी संगठनको मान, मर्यादा, इज्जत, एकता, भातृत्व, प्रेम, सद्भाब, नैतिकता वृत्त विकास प्रणाली, प्रहरी कार्य, हज्जारौं कर्मचारीको मोरल कल्याणमा हदै सम्मको प्रतिकुल असर पुर्याएर गएका पनि थिए । तिनमा यस्ता गल्तीहरु पनि थिए जस्का कारण १६०० प्रहरीहरु सहीद भए।

तर यस अवस्थामा प्रहरी संगठनको सर्बोच्च पदमा आक्रमण हुँदा सक्दो डिफेण्ड गर्नु हाम्रो वर्गको दायित्व हो र यो दायीत्व पुरा गर्ने भनेको महानिरीक्षकहरुले गर्नु भएका असल कामहरुलाई सार्वजनिक गर्ने नै हो जुन जर्णेल प्रेम सिंह साबहरुलाई थाहा छैन । ती असल कामहरु के छन् त ? मेरो नलेजमा त त्यति छैनन् भएको जत्ति लेखि सकें । साथीहरु र पाठकहरुको नजरमा केही छन् भने खबर पाउँ । म यहाँहरुको नामको रिफ्रेन्स दिएर ती काम लेख्ने छु ताकि प्रेम सिंह साबलाई पनि परोस् । मैले महानिरीक्षकहरुको महान योगदान र कार्यहरु बुझेकै रहेनछु । उहाँहरु त्यस पछि महानिरीक्षकहरुको तारीफमा बोल्न थालुन्।

मैले लेख्ने ब्यक्तिको काम, केबल जागीरे भइ रासन, क्वाटर, गार्ड, ड्राइभर लिएका कारण तिनले गर्नैपर्ने दैनिक रुटिनका कामहरु भन्दा माथि हुनु पर्दछ । अपराध रोक्नु,अनुसन्धान गर्नु, भीड नियन्त्रण गर्नु, गुण्डा डाँका ठीक गर्नु त जागिर खाए पछि गर्नैपर्ने साधारण कामहरु नै हुन् । म लेख्न चाहान्छु ति आइजीपी साबहरुको दर्जा अनुसारको त्यस्तो काम जस्ले संगठन, प्रहरी कर्मचारी, देश र नागरिक हरुलाई उल्लेखनिए सहयोग पुगेको होस् ।
जस्तो

१- ती अफिसरका त्यस्तो काम जस्ले प्रहरीमा एक अर्का प्रति भाइचारा र सद्भाब बढाएको होस् । गुटवन्दी र नफरत घटाएको होस् । सामुहिक भाबना बढेको होस् ।

२-ती अफिसरहरुको त्यस्तो काम जस्ले संगठनका तल्ला कर्मचारीहरुको रक्षा र कल्याणमा उल्लेखनिय र उत्कृष्ट परिणाम ल्याएको होस्।

३- ती अफिसरको त्यस्तो काम जस्ले प्रहरी संगठनको सुदृढिकरण र संगठनलाई प्रभावकारी बनाउन एैतिहासिक भुमिका निभाएको होस् । तिनले वृत्त विकास, सरुवा, बढुवामा यस्तो नीति बनाइदिएका हुन्, जुन नीतिका कारण आज पनि प्रहरीहरुले यो मामलामा सुरक्षा र न्याए पाई रहेको महसुस गरी रहेका हुन् ।

४- ती अफिसरको नैतिकताको त्यस्तो उदाहरण जस्ले समग्र फौजको शीर उँचो गराएको होस् वा त्यस्तो उदाहरण जुन नयाँ पुस्तकका लागि प्रेरणाको श्रोत बनि रहेको होस्।
तिनले ती अफिसरलाई रोल मोडल मान्दै भ्रष्टाचार नगर्ने, कमिसन नखाने, कसैमाथि अन्याए नगर्ने, पक्षपात नगर्ने, अपराधीसँग नमिल्ने, तल्लासँग पैसा नउठाउने जस्ता प्रेरणा पाएका हुन् । पैसा तिरेर पदोन्नती लिन हुँदैन भनि तिनलाई देखेर तल्लाले सिकेका हुन्।

५- ती अफिसरको त्यस्तो बहादुरी र योजना गर्ने खुविको उदाहरण जसले ठुला ठुला आतंकवाद र विद्रोहहरु नियन्त्रण गर्न प्रहरीलाई सफलता मिलेको होस् र त्यस अप्रेसनको फ्रन्ट लाइनमा बसी तिनले तल्लाहरुलाई प्रेरणा दिने नेतृत्व देखाएका हुन्।

६- ती अफिसरको यस्तो योगदान जसले प्रहरीको भौतिक, प्राविधिक क्षेत्रको उन्नतिमा अकल्पनीय सुधार ल्याएको होस्।

७- ती अफिसरको त्यस्तो काम जस्ले पुर्ब प्रहरी, अमर र असक्त अनि तिनका परिबारका कल्याणमा अकल्पनिय र उदाहरणीय रुपको सहयोग पुगेको होस्।

८- ती अफिसरका त्यस्ता काम जस्का कारण अन्तराष्ट्रबाट नेपाल प्रहरी संगठनलाई प्रशंसा गर्न लायक मान सम्मान र सहयोग मिलेको होस्।

९- ती अफिसरका त्यस्ता काम जस्ले प्रहरीलाई जनता सामु सम्मानित र विश्वसनिय बनाउन मद्धत गरेको होस्। जस्ले जनता र प्रहरीलाई निक्कै नजिक ल्याएको होस्।

१०- ती अफिसर हरुको त्यस्तो काम जस्ले प्रहरीको अतिरीक्त पक्ष (खेलकुद कल्चरल ग्रुप) लगायत अन्य क्षेत्रमा अकल्पनीय सुधार भएको होस् । जस्ले प्रहरी संगठनको मान वृद्धि गराएको होस्।

साथीहरुलाई म यी माथिका १० बुंदाहरुमा एक आइजीपी साबले उल्लेखनीय काम गर्नु भएको छ भने मलाई जानकारी गराइदिन अनुरोध गर्दछु । यस्ता कामहरु बाहिर आउन पनि जरुरी छ।

हुनत एआइजीपी पनि आइजीपी जस्तै विशिष्ट श्रेणीका अफिसर हुन् । तर, आइजीपी साबहरुले तिनकाे सही सदुपयोग र साथ लिन नजानेका कारण पनि आज सबै आरोप आफैं एक्लैले खेप्न परेको हो। आफु जत्तिकै विशिष्ट श्रेणी र दुइ तारे जर्णेल साबहरुलाई आइजी साबहरुले कल्याण, आर्थिक प्रशासन, केरकार, विमानस्थल, जीप्रका काठमाण्डूका प्रमुख जत्ति पनि विश्वास गरेनन् । देशले अतिरीक्त महानिरीक्षक त बनायो तर धेरै महानिरीक्षकहरुले तीनलाई खाली मातहतका कर्मचारी मात्र ठाँने । कति आइजीपीले त प्रहरीको एआइजीपी लाई हाजिर गरी घुम्न गृह मन्त्रालय र बालुवाटार पनि पठाए । कती दुखः लाग्दो र गलत काम भएको छ।

अतिरीक्त महानिरीक्षक भनेको आइजीपीको मातहतको कर्मचारी मात्र होइनन्, तिनका भुमिका र उपादेयता अर्कै हुन्छ भन्ने न ती अधिकांश आइजी साबहरुले बुझ्नै सके न बुझ्नै चाहे । न अधिकांश अतिरीक्त महानिरीक्षकहरुले पनि यो कुरा माथि र तल बुझाउनै सके।

के प्रेम सिंह बस्नेत, ठाकुर मोहन वा रमेश खरेल साबले भन्ने गरेको महानिरीक्षकहरु राजनैतिक नेताका झोले हुन् र उनीहरु पैसा दिएर त्यो पदमा पुगेका हुन् भन्ने आरोप सत्य हुन् त ? यदी होइनन् भने कसरी होइनन् ? प्रमाण दिउन त । बुझ्ने र जान्ने साथीले या त आफै बोलौ, लेखौं या त मलाई ती प्रमाण र उहाँहरुले गरेका महान कामहरु बताइ दिउँ । मसँग त दरिलो तरीकाले डिफेन्स गर्ने प्रमाण छैनन्।

आइजीपी श्यामभक्त साब राम्रो हुनुहुन्थ्यो भनेर एआइजी रबी श्रेष्ठले बोले झैं, वा अच्युतकृष्ण खरेल साब राम्रो भनि भरत जीसी साबले बोलेझैं ति प्रत्येक महानिरीक्षकका कारण अनैतिक ढंगले मनग्य धन कमाएका समुहले बोल्नु र प्रमाण दिनुको कुनै तुक छैन। यिनका कुरा चाकडी र ग़ुलामी मात्र हुन । कृपया यस्ता साबहरुका प्रमाण मलाइ चाहिएन।

सही प्रमाण र काम मेराे फो नं-९८५१०३७५२९ मा पाउँ । जनप्रहार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *