कोरोना संक्रमित डिस्चार्ज हुने वित्तिकै जेल चलान

बैतडी । बैतडीका एक जना कोरोना संक्रमित डिस्चार्ज हुने वित्तिकै जेल चलान भएका छन् । बैतडीका २२ वर्षिय युवा कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेवित्तिकै जेल चलान भएका हुन् ।
सिबान गाउँपालिका २ का २२ वर्षीय युवा कोरोनालाई जितेर आइसोलेसनबाट डिस्चार्ज भएलगत्तै जेल चलान भएका छन् ।जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर वसन्तराज जोशीका अनुसार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा गत जेठ ९ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी कर्तव्य ज्यान मुद्दामा वैशाख १५ देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बैतडीको आदेश अनुसार ती युवकलाई कारागार चलान गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख किसन चन्दले जानकारी दिए ।
वैशाख १३ गते स्थानीय १९ वर्षीया युवतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।








