जिल्ला समन्वय समितिले थाल्यो विकास निर्माणको अनुगमन

चितवन । चितवन जिल्ला भित्र सञ्चालित विकास निर्माणको जिल्ला समन्वय समितिले अनुगमन सुरु गरेको छ । आर्थिक वर्षको अन्त्य तिर विकास निर्माणका योजनाहरू तीव्र रूपमा सञ्चालन हुँदा समन्वय समितिले अनुगमनलाई प्राथमिकता दिएको हो ।

लकडाउन भए पनि अहिले जिल्ला भित्र आयोजनाका कामहरू धमाधम भइरहेका छन् । सङ्घीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति मार्फत विनियोजित बजेटका योजनाहरूको प्रगति विवरण बुझ्न अनुगमन गरिएको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले बताए । जिसस प्रमुख डल्लाकोटी र उपप्रमुख मुना कुमारी श्रेष्ठको नेतृत्वमा दुई समूह गरी जिल्लाका पालिकाहरूमा भइरहेका योजनाहरूको अनुगमन गरिएको हो ।

बुधवार जिसस प्रमुख डल्लाकोटी नेतृत्वको टोली माडी नगरपालिका र जिसस उपप्रमुख श्रेष्ठको नेतृत्वमा राप्ती नगरपालिका भित्र सञ्चालित योजनाहरूको अनुगमन गरिएको थियो । माडीमा चेपाङ बस्ती, सोमेश्वर गढी जाने बाटो, नगरपालिका भवन, सामूहिक खेती सहित क्वारेनटाइनको समेत अनुगमन गरिएको डल्लाकोटीले बताए । डल्लाकोटीको टोलीमा माडीका मेयर ठाकुर ढकाल, उपमेयर ताराकाजी महतो, जिसस समन्वय अधिकारी चूडामणि शर्मा गौतम लगायत वडाध्यक्षहरू सहभागी थिए । त्यस क्रममा करिब २० वटा योजना प्राविधिक सहितको उपस्थितिमा अनुगमन गरिएको थियो ।

यता राप्ती नगरपालिकामा झन्डै एक दर्जन योजनाहरूको अनुगमन गरिएको छ । नगरपालिकाको वडा नम्बर १,२,४,५,७,८,९ र १० नम्बर वडाका योजनाहरू अनुगमन गरिएको हो । जिसस उपप्रमुख श्रेष्ठको टोलीले राप्ती नगरपालिकाको निर्माणाधीन भवन, भण्डारा अस्पताल, पानीसरा ढाप, स्वामीटार माविको छात्रावास, मगर समाजको भवन, डुम्रीघोल ताल, अर्ग्यानिक मल उत्पादन केन्द्र लगायतको अनुगमन गरिएको थियो । श्रेष्ठको टोलीमा राप्ती नगरपालिका मेयर प्रभा बराल, उपमेयर इमानसिंह लामा, प्रमुख प्रशासकीय अधिकृत गङ्गाबहादुर भुजेल, जिसस सदस्यहरू कृष्ण प्रसाद अधिकारी, गुनु विक, जिसस शाखा अधिकृत बद्रीनाथ सापकोटा सहित प्राविधिक सहभागी थिए ।

राप्तीमा सङ्घीय सरकार र प्रदेश सरकारबाट विनियोजित ५० लाखका योजनाहरू सम्झौता भएर प्रक्रिया अघि बढेको पाइएको जिसस उपप्रमुख श्रेष्ठले बताइन् । जिसस टोलीले जिल्लाका सात वटै पालिका भित्र भएका योजनाहरूको अनुगमन गरी प्रतिवेदन तयार पार्ने छ । अनुगमन पश्चात् यहाँका सरोकारवाहरुसँंग समीक्षा गरी प्रतिवेदन प्रधानमन्त्री कार्यालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, प्रदेश सरकार समक्ष पेस गरिने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले बताए ।

जिल्ला समन्वय समितलाई सङ्घीय, प्रदेश, स्थानीय सरकार र जिल्ला समन्वय समितिमार्फत विनियोजित योजनाहरूको अनुगमन गर्ने, सरकारी कार्यालयहरुसंग समन्वय र सहजीकरण गर्ने अधिकार दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *