स्वास्थ्यकर्मीमा काेराेना पुष्टि भएपछि केएमसी अस्पतालको सबै सेवा बन्द !

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आकस्मिकसहितका सबै सेवा बन्द गरिएको छ । त्यहाँका चिकित्सकसहित ४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि अस्पताल प्रशासनले आकस्मिकसहितका सबै सेवा बन्द गरेको हो ।

अस्पतालले जारी गरेको सूचना अनुसार २ जना स्वास्थ्यकर्मी र २ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ ।

त्यस्तै भक्तपुर चाँगुनारायण-३ कि एक महिलामा पनि काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनी पनि जेठ १५ गते केएमसी अस्पताल गएकाे पाइएकाे छ । उनकाे ट्राभल हिस्ट्री अस्पतालबाहेक केही नदिएकाे र विदेशबाट पनि काेही आफन्त नआएका कारण कसरी काेराेना संक्रमण भयाे भन्ने अन्याैलता छ । अस्पतालबाट संक्रमित भएकी हुन् कि भन्ने आशंका पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *