डा. केसीले सुरु गरे दार्चुलामा दुई दिने अनसन

काठमाडौं। डा. गोविन्द केसीले आज दार्चुलामा अनसन सुरु गरेका छन्। लामो समय चिकित्सा शिक्षा सुधारका लागि अनसन बस्दै आएका डा. केसीले यसपटक केही फरक मागसहित अनसन सुरु गरेका हुन्। सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा उनले १८ औं अनसन सुरु गरेका हुन्।

डा. केसीले यसपटक भने सीमा सुरक्षाको बिषय उठाएका छन्। ‘सीमाञ्चल लगायत सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सवैको पहुँचका लागि’ भन्दै उनले अनसन सुरु गरेका हुन्। उनी मंगलबार र बुधबार अनसन बस्नेछन्।

दार्चुला तथा अन्य सीमा क्षेत्रका लगायत देशभरीका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस्, भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गरियोस् तथा विगतका सत्याग्रहमा गरिएका सम्झौता कार्यान्वयन गरियोस् भन्ने तीन बुँदे माग उनले अघि सारेका छन्।

त्यस्तै गण्डकी प्रदेश, डडेल्धुरा, बर्दिबास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने, कैलालीको गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने र विगतमा आफूसंग भएका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने माग पनि डा. केसीले अघि सारेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *