आर्थिक सङ्कट आउने भन्दै शर्तसहित उद्योग व्यवसाय सञ्चालनमा ल्याउन सरकारलाई आग्रह

काठमाडौँ । उद्योग व्यवसायहरू सशर्त सञ्चालनमा ल्याउन नेपाल विज्ञापन सङ्घले सरकारसँग आग्रह गरेको छ । सङ्घले कोरोना भाइरसबाट बच्न लगाइएको लकडाउनका कारण देश गहिरो आर्थिक सङ्कटमा पर्ने भन्दै सरकारलाई उद्योग व्यवसायहरू शशर्त शीघ्र सञ्चालनमा ल्याउन आग्रह गरेको हो ।

नेपाल विज्ञापन संघले एक विज्ञप्ति जारी गर्दै राज्यसामु अहिले नागरिक बचाउ र आर्थिक क्रियाकलापको सुचारु जस्ता दुई प्रमुख चुनौती रहेको भन्दै व्यवसायीहरूले सुरक्षितरुपमा व्यवसाय सञ्चालन गर्ने र सरकारले उचित वातावरण मिलाउन जरुरी रहेको बताएको छ ।

‘राज्यको सामु अहिले दुई प्रमुख चुनौती रहेका छन् ; एक आम सर्वसाधारणको बचाउ र अर्कोतर्फ आर्थिक क्रियाकलापको सुचारु जसका लागि उद्योग व्यवसायीले सुरक्षित तवरबाट व्यवसायको क्रमिक सञ्चालन गर्ने र सरकारबाट पनि त्यसको उचित वातावरण बनाउन सुरक्षाकर्मिको परिचालन र अधिक भन्दा अधिक सङ्क्रमित व्यक्तिहरूको जाँच परीक्षण गर्न जरुरी छ। साथै यस कार्यमा सर्वसाधारण र उद्योगी व्यवसायीको सहकार्य जरुरी छ ।’ विज्ञप्तिमा भनिएको छ ।

साथै नेपाल सरकारले जारी गरेको कोरोना भाइरसबाट बच्ने उपायहरूको पूर्णपालना गर्दै स्वास्थ्य सम्बन्धी जानकारीलाई शिरोपर गर्ने शर्तमा व्यवसाय तथा उद्योगहरू यथाशक्य सञ्चालनमा ल्याउनका लागि समेत सङ्घले अनुरोध गरेको छ ।

व्यवसाय सञ्चालनमा नआए देश गहिरो आर्थिक सङ्कटमा परी आमनागरिक भोकमरीको सिकार हुनसक्नेतर्फ सचेत रहन समेत सङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै, ‘उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर बन्द गरिरहँदा आम जनसमुदाय, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेशाकर्मी सञ्चालक, उद्योगीलाई आर्थिक रूपमा क्षतिका अलावा अरबौँको लगानी समेत डुब्ने यर्थाथतालाई समेत सोचेर राज्यले एक अभिभावकको भूमिका निर्वाह गर्दे रोगको महामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई सँगसँगै अगाडि बढाउन सरोकारवाला पक्ष तथा विशेषज्ञ समेतको परामर्श गरी मध्यम मार्ग प्रशस्त गर्न अपरिहार्य देखिन्छ ।’ सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट बच्न नेपाल सरकारले विश्वका अधिकांश देशहरूले अपनाएको उपायहरू अवलम्बन गर्दे २०७६ चैत्र ११ गतेदेखि देशव्यापीरुपमा लकडाउन गरेको थियो । उक्त लकडाउनलाई समयावधि थप्दै पुनः २०७७ ज्येष्ठ ३२ गते सम्मका लागि कायम राख्ने निर्णय गरेको छ । लामो समयसम्मको लकडाउनले गर्दा आम सर्वसाधारण जनता एवं उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई हृदयङ्गम गरी बिस्तारै सुरक्षित तवरबाट जनजीवनलाई सहज हुने गरी केही खुकुलो पार्न आवश्यक भएको सङ्घको भनाइ छ ।

सङ्घले नागरिकको स्वास्थ्य एवं जनजीविकालाई पुनर्विचार गर्दै लकडाउनको तरिकालाई विश्लेषण गरी अन्य समाधानका उपायहरूको खोजी गर्न नेपाल सरकार समक्ष अपिल गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *