लिपुलेक कालापानीमा भारतीय विरुद्ध सांगीतिक आवाज ‘हाम्रो धर्ती’(भिडियोसहित)

काठमाडौं । पछिल्लो समय लिपुलेकमा भारतीयतर्फबाट सडक निर्माण गरेपछि नेपाल–भारत सीमा विवाद चर्किंदै गएको छ । केही समय पहिला भारतले आफ्नो नक्सा जारी गर्दै लिपुलेक, लिम्पियाधुरा, कालापानी भारततर्फ भएको सार्वजनिक गरेका थिए । त्यसको विरोध हुँदाहुँदै सडक नै निर्माण गरेपछि नेपालतर्फबाट पनि सोही भूभाग नेपालकै हो भनेर नक्सा सार्वजनिक गरेको छ । तर पनि भारतीयहरुले अतिक्रमण गर्न छाडेका छैन । सुस्ताको नेपालको बस्तीमा सीमा स्तम्भ नै सारेको अवस्था धेरै भइसक्यो, भर्खरै मात्र पुनः ठोरीमा निर्माण गरिएको नेपालतर्फको पुल भारतीयले भत्काइदिएका छन् । पटक पटक भारतीयले नेपालको सीमा स्तम्भ सारेको हुँदा अतिक्रमणको विरोध स्थानीयहरुले गरिरहेकै छन् ।

सोही विषयलाई लिएर गायक लब कुमार भट्टले नयाँ गीत सार्वजनिक गरेका छन् । गायक भट्टका दर्जनौं गीतहरु बजारमा आइसकेका छन् । लामो समयदेखि गीतसंगीतमा नै सक्रिय रहेका गायक लबकुमार भट्ट आफैंमा संचारकर्मीसमेत हुन् ।

विशेष गरी वियोगान्त शैली र राष्ट्रियतासम्बन्धी गीत रचनामा रमाउने पत्रकार सुमन पण्डितको शब्द एवं विश्वास नेपालको संगीत रहेको उक्त गीतमा गायक लब कुमार भट्टले स्वर दिएका हुन् । गायक भट्टसँगै गायिका सुनिला गुरुङ, गायक ज्योतिप्रकाश, गायक विश्वास नेपालको स्वर रहेको छ भने गीतमा विश्वास नेपालकै संगीत संयोजन रहेको छ । गीतको रेकर्डिङ एवं मिक्सिङ महेश विक्रम पाण्डेले गरेका छन् ।

गीतले छिमेकी सीमा अतिक्रमण गरेका विषयलाई उतारिएको छ । सुस्ता, कालापानी, लिपुलेकका भूभाग नेपालकै हो सोही भूमि नेपालले फिर्ता ल्याउनका लागि नेपालीहरु एकजुट हुनुपर्छ भन्ने भाव समेटिएको छ । राति सुत्दा नेपाल भएको भूमि विहान उठ्दा भारतमा परेको पीडा र गोर्खालीको स्वाभिमानमाथि गरिएको आक्रमणका विषयलाई गीतको शब्दमार्फत् व्यक्त गरिएको छ ।

यस गीतको म्यूजिक भिडियोमा गायक लबकुमार भट्ट, गायिका सुनिला गुरुट्ट, गायक दीपसागर थापा, गायक मौसम गुरुङ, गायक ज्योतिप्रकाश, गायक विश्वास नेपाल, पत्रकार एवं गीतकार सुमन पण्डित, गायिका विनिता गुरुङ, गायिका पूजा गुरुङ लगायतको अभिनय रहेको छ । भिडियोको छायाँकन एवं निर्देशन सुमन पण्डितको रहेको छ भने भिडियोलाई महेश विक्रम पाण्डेले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =