सप्तरीका थप ११ जनामा कोरोना संक्रमण, एकैदिन १०१ जनामा पुष्टि

राजविराज । मंगलबार सप्तरीका थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि आजै नेपालमा ९० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका थिए । योसँगै आज एकै दिन १०१ जनामा कोरोना पुष्टि भएको हो ।

सप्तरी जिल्लामा मात्रै संक्रमितको संख्या १५ पुगेको छ ।

पछिल्लो पटक सप्तरीको बोदेबरसाइन नगरपालिकाका ८ जना, बलान बिहुल गाउँपालिकाका २ जना र सुरुङ्गा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २/२ र धनुषा, रुपन्देही, कैलालीका एक र अछामका एक जना छन् । योसँगै मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको छ ।

नेपालमा कोरोना भाइरसको पहिलो संक्रमण माघ १० गते पुष्टि भएको थियो । त्यसपछि सबैभन्दा ठूलोसँख्यामा कोरोना पुष्टि मंगलबार एकैदिन १०१ जनामा संक्रमण देखिएको हो । यसअघि वैशाख ३० गते ८३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमण भएका १५५ जना निको भएर घर फर्किसकेका छन् भने ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *