‘चीनले विकास गरेको खोप कोरोना रोक्न सफल’

काठमाडौं। चीनमा कोरोना भाइरस खोपको पहिलो परीक्षण सफल भएको अनुसन्धानकर्ताले दाबी गरेका छन्। द ल्यानसेट जर्नलका अनुसार खोप कोरोना भाइरसको सङ्क्रमण रोक्न सफल देखिएको छ।
पहिलो चरणको परीक्षण प्रतिवेदन शुक्रवार सार्वजनिक गरिएको थियो। खोपले २ हप्ताभित्रै मानिसमा भाइरस विरुद्ध प्रतिरोधात्मक क्षमता वृद्धि गरेको देखाएको प्रतिवेदनमा उल्लेख छ। चीनका विभिन्न प्रयोगशालाका अनुसन्धानकर्ताहरू मिलेर खोपको विकास गरेका थिए।
उक्त खोप परीक्षणअन्तर्गत १८ देखि ६० वर्षसम्मका १ सय ८ जनालाई लगाइएको थियो। खोपको नतिजा अत्यन्त प्रभावकारी आएको ल्यान्सेट पत्रिकाले छापेको छ। खोपको एक डोज मात्रै दिइएका व्यक्तिको शरीरमा दुई हप्ताभित्रै टी सेल्स नाम गरेको रोग प्रतिरोधात्मक कोशिका बनेको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
खोप दिएको २८ दिनमै प्रतिरोधात्मक क्षमताका लागि आवश्यक एन्टिबडी उच्च तहमा पुगेको देखिएको पनि उल्लेख छ। बोस्टनस्थित बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरका डा. डान बारोउचले ‘यो अति सकारात्मक नतिजा भएको तर अझै अनुसन्धानको खाँचो रहेको बताएका छन्। उनले भनेका छन्, ‘यो तथ्याङ्क प्रारम्भिक मात्रै हो। तर अति सकारात्मक देखिएको छ।’
यसरी पहिलो नतिजाले यो खोप कोरोना भाइरसको सङ्क्रमणबाट मानिसलाई जोगाउन सफल र सुरक्षितसमेत देखिएको दाबी अनुसन्धानकर्ताले गरेको द न्यु योर्क टाइम्सले लेखेको छ।








