भारतबाट आएका थिए चितवनका २ संक्रमित, ६ नम्बर वडा शिल गरियो

चितवन । चितवनको भरतपुर महानगरपालिका ६ का दुई जनामा कोरोना पोजेटिभ देखिएपछि सो वडाको केशरबाग शिल गरिएको छ । सो क्षेत्रमा आवतजावतमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए ।

आवतजावत बन्द गरेर उनीहरुको सम्पर्कमा रहेकाहरुको पहिचान सुरु गरिएको समेत भट्टराईले जानकारी दिए । संक्रमण देखिएकाहरु यहि जेठ ३ गते भारतमा उपचार पछि चितवन आएका थिए । उनीहरू घर आएदेखि नै होम क्वारेन्टिनमा बसेका थिए ।

संक्रमितहरु जेठ ३ गते एम्बुलेन्सबाट यहाँ आएका थिए । बुवा, आमामा कोरोना पोजेटिभ देखिए पनि संगै गएका छोराको भने रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएपछि उनीहरुलाई शुक्रबार बिहान भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा ल्याईएको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताए ।

यसअघि चितवनमा रहेका दुई जना र चितवन घर भइ हाल काठमाडौं बस्ने एक महिलामा कोरोना पोजेटिभ देखिएको थियो । काठमाडौंमा पोजेटिभ देखिएको महिलाको उतै उपचार भइरहेको छ । चितवनमा पोजेटिभ देखिएकाहरु भने निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *