बढ्यो कोरोना जोखिम, सातवटै प्रदेशमा फैलियो संक्रमण

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नेपालमा सातवटै प्रदेशमा फैलिएको छ । यसअघि कर्णाली प्रदेशमा संक्रमित भेटिएका थिएनन् भने सोमबार दैलेखमा संक्रमण पुष्टि भएसँगै सातवटै संक्रमण फैलिएको हो ।

दैलेखको आठबीसकोट नगरपालिकाका ३५ वर्षीय युवकमा संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुगेको हो । अहिलेसम्म सबैभन्दा बढी प्रदेश ५ मा १७१ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ मा १३३ जनामा संक्रमित छन् भने प्रदेश १ मा ४३ जनामा संक्रमण देखिएको छ ।

यसैगरी बाग्मती प्रदेशमा १९ जनामा स‌ंक्रमण पुष्टि भएको हुँदा त्यसैगरी सुदूरपश्चिममा ५(सबै निको भइसकेका छन्), गण्डकीमा ३ र कर्णालीमा एक जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणको जोखिम झन् बढेको छ । विगत ५६ दिनदेखि लकडाउन जारी रहेको र सीनानाका सिल गरिएको भएपनि संक्रमण घट्नुको साटो झन् बढेको छ । नयाँ संक्रमण पुष्टि भएका अधिकांश लकडाउनकै बीचमा भारतबाट आएको खुलेको छ । यसले तराईका जिल्ला बढी जोखिममा परेका छन् भने देशभर नै संक्रमण फैलिने खतरा बढेको छ ।

भारतबाट लकडाउनकै अवधिमा नेपाल भित्रिनु र नेपाल आइसकेपनि पछि क्यारेन्टाइनमा बस्नुको सट्टा लुकिछिपी घरमै बस्नुले कोरोना जोखिमलाई उच्च बनाएको हो । भारतसँगको सीमा नाकामा कडाइ गर्न नसक्दा लकडाउनकै अवधिमा झन् जोखिम बढेको हो ।

काठमाडौं जोखिमबाट मुक्त भइनसकेका बेला लकडाउनमा कडाई नहुनुले जोखिम झन् बढेको विज्ञहरूको भनाइ छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार काठमाडौं उपत्यका उच्च जोखिमको सूचीमा छ ।

बिहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *