गत वर्ष पाँच लाख रोजगारी सिर्जना गर्ने भनिएको थियो, कतिले पाए ?

काठमाडौं। नेकपाका सांसद शेरबहादुर तामाङले स्वदेशमा रोजगारी सिर्जना गर्न कृषि, गाँजा र ऊर्जा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। कोरोना महामारीले विश्व अर्थतन्त्रमा प्रभाव पारेपछि नेपालमा पनि बेरोजगारी बढ्न आकलन गरिएको छ। सांसदहरूले आगामी बजेट रोजगारी सिर्जना गर्नेतर्फ लक्षित हुनुपर्ने जोड दिइरहेका छन्।

सोही सन्दर्भमा नेकपाका सांसद तामाङले नेपालमा रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्र कृषि नै भएको बताए। कृषि क्षेत्रलाई सरकारले प्राथमिकतामा नराखेको उनको भनाइ छ। खाद्यान्न खरिदको लागि नेपालबाट बर्सेनि ठूलो रकम बाहिरिने गरेको भन्दै उनले उक्त रकम रोक्न सकेमा मात्र नेपालमा ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुने बताए।

‘विदेशमा काम गर्न गएका अब स्वदेशमा आउने छन्। उनीहरूको लागि रोजगारी सिर्जना गर्ने हो भने, कृषि नै पहिलो प्राथमिकता हो, ‘उनले भने, ‘गत आर्थिक वर्ष २ खरब १८ अरबको खाद्यान्न नेपालले आयात गरेको छ। यदि त्यो रकम नेपालमा जोगाउन सक्ने हो भने एक व्यक्तिले कमसेकम ५० हजार कमाउँछन् भने करिब ४३ लाख मानिस रोजगार हुन सक्छन्।’

उनले कृषिसँगै गाँजा र ऊर्जा उत्पादनमा पनि जोड दिनु पर्ने बताए। उनले नगद आय आर्जनको लागि कृषिसँग गाँजा उत्पादन प्रभावकारी हुने बताए। तामाङले भने, ‘हामीले कृषिसँग जोडेर गाँजा उत्पादन गर्नुपर्छ। नगदको लागि गाँजा उत्पादन गर्नेछन् भने खानाको लागि खाद्यान्न उत्पादन हुनेछन् र नेपालीलाई बचाउन सकिने छ। अर्बौं रुपैयाँ नेपालमा जोगाउन पनि सकिने छ।’

गत वर्षको नीति तथा कार्यक्रममा पाँच लाख रोजगार सिर्जना गर्ने भनिएको थियो कति रोजगारी सिर्जना भयो भन्ने प्रश्न पनि गरे। ‘गत वर्षको नीति तथा कार्यक्रममा पाँच लाख रोजगारी सिर्जना गर्ने बुँदा उल्लेख छ। तर कति रोजगारी सिर्जना भयो। कहीँ उल्लेख छैन। कहीँ पनि तथ्यांक दिन सकेनौँ,’ उनले भने, ‘बोलेर मात्र हुँदैन रोजगारी सिर्जना गर्नपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *