‘म संसदमा झुण्डिन तयार छु, के डाक्टरहरु पनि तयार छन् ?’ (भिडियो सहित)

काठमाडौं । सत्तारुढ नेकपा सांसद किसान श्रेष्ठले सांसद अपहरण गरेको प्रमाणित भए आफु संसदमै झुण्डिन तयार रहेको बताएका छन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रममा बोल्दै बोल्दै नेकपा सांसद श्रेष्ठले आफु र अर्का सांसद महेश बस्नेतले सांसद अपहरण नगरेको बताएका छन् ।

केही हप्ता अगाडी तत्कालिन समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई सत्तारुढ दलकै सांसदहरुको सहभागीतामा अपहरण गरीएको विषय उठाएका थिए । डा. भट्टराईको उक्त आरोप प्रति आक्रोश ब्यक्त गर्दै सांसद किसान श्रेष्ठले आज सांसद अपहरण गरीएको प्रमाणित भए झुण्डिएर मर्ने बताए ।

‘केही हप्ता अगाडी यहाँ सांसद अपहरणसम्मको कुरा आयो, म लगायत सांसद महेश बस्नेतको समेतको चरित्र हत्या गर्ने काम भयो ।’ उनले भने–‘सम्पूर्ण मान्यज्यूहरुलाई साक्षी राखेर भन्न चाहन्छु, अपहरणको आरोप लगाउनेलाई चुनौति दिन चाहन्छु । यदी प्रमाणित भयो भने, सबै मान्यज्यूहरुको अगाडी म झुण्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ?’

सांसद श्रेष्ठले बर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो रहेको बताए । उनले नेपालको इतिहासमै पहिलो पटक राष्ट्रियताका विषयमा राष्ट्रपतिले सदनमै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गर्ने कुरा गरेको जिकिर गरे । उनले ऐतिहासिक सन्धी, नक्सा तथा तथ्य परक रुपमा कुटनीतिक तवरले सिमा समस्या समाधान गरीनु सकारात्मक कुरा रहेको बताए ।

कोरोना भाइरसलाई परास्त गर्न कुनै कसर बाँकी नराख्नु, रोजगार मुलक कार्यक्रम, कृषि क्षेत्रको आधुनिकीकरण, घरेलु उद्योग प्राथमिकता, स्थानीय तहसम्मै स्वास्थ्य संस्थाको स्थापना, स्तरोन्नती गर्ने कुरा अहिलेको बजेटको सकारात्मक कुरा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *