लकडाउन मोडालिटी परिवर्तन गरिँदै, अब गल्लीमा निस्किए पनि पक्राउ

काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । अब लकडाउन र आर्थिक जीवनलाई सँगैसँगै लैजानुपर्ने भएकाले मोडालिटी परिवर्तन गर्ने तयारी भएको अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

मन्त्री खतिवडाका अनुसार लकडाउनको मोडालिटी तयार गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई जिम्मा दिइएको छ । सरकारले यसअघि गरेको निर्णयका आधारमा कृषि, उद्योग, निर्माणलगायतलाई निरन्तरता दिइनेछ । साथै अहिले क्वारेन्टिनमा बसिरहेकालाई कसरी उत्पादनसँग जोड्ने भन्ने विषयमा पनि सरकारले छलफल अघि बढाएको छ ।

लुकीछिपी आउनेमाथि कडाइ
एम्बुलेन्स, ढुवानीका साधनलगायतबाट लुकीछिपी उपत्यका भित्रिने क्रम अझै नरोकिएकाले अब त्यसमा थप कडाइ गरिने भएको छ । लुकीछिपी भित्रिने व्यक्तिका कारण संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै सरकारले एम्बुलेन्स र ढुवानीका सवारीसाधन तथा त्यसमा सवार व्यक्तिको कडाइका साथ निगरानी गर्दै दोहोरो व्यवस्थित रेकर्ड राख्ने निर्देशन दिएको छ ।

त्यस्तै सरकारले संक्रमणको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै वैकल्पिक उपचार पद्धतिलाई पनि समानान्तर रूपमा अगाडि बढाउने भएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि जडीबुटीजन्य र औषधिजन्य वस्तुको उपयोग बढाउनुपर्ने विषयमा पनि छलफल भएको हो ।

काठमाडौंका गल्लीमा निस्किए पनि पक्राउ
काठमाडौंमा पनि कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लकडाउन कार्यन्वयन थप कडाइ गरिने भएको छ । अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने गरेको हो । यसअघि काठमाडौंका मूल सडकलाई प्राथमिकतामा राखेर प्रहरी लकडाउन कार्यान्वयमा खटिएको थियो । अब भने भित्री सडक तथा गल्लीमा निस्किनेमाथि पनि निगरानी बढाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *