पूर्वसांसद शाहले कर्णाली प्रदेशका अस्पतालहरुलाई १ करोड बराबरको स्वास्थ्य सामग्री दिए

काठमाडौं । जाजरकोटका एक पूर्वसांसदले कर्णाली प्रदेशलाई कोरोना उपचारका लागि एक करोड बराबरको सहयोग गर्ने घोषणा गरेका छन् । जाजरकोटका पूर्व सांसद राजीव विक्रम शाहीले कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरुलाई एक करोड बराबरको स्वास्थ्य सामग्री दिने घोषणा गरेका हुन् ।

पूर्वसांसद शाहले कर्णालीका अस्पतालहरुलाई कोरोनाका सम्भावित बिरामी र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको उपचार गर्न भेन्टिलेटरसहित एक करोड बढीको स्वास्थ्य सामग्री सहयोग गर्न लागेका हुन् ।

शाहले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रादेशिक अस्पताल सुर्खेतलाई प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् । जाजरकोटका पूर्वसांसद रहेका शाहले प्रदेश अस्पताल सुर्खेतलाई एउटा भेन्टिलेटर र करिब सत्तरी लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री तथा अन्य जिल्लाका अस्पतालहरुलाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने बताएका छन् ।

उनले उक्त सामग्री कुमारी ट्रष्टका माध्यमबाट दिन लागेका हुन् ।

‘कर्णाली प्रदेशका जिल्ला अस्पतालका डाक्टरहरुसँग सल्लाह गरेर स्वास्थ्य सामग्रीहरु प्रदान गर्न गर्ने छौं ।’ उनले भने । शाहले जिल्ला अस्पतालको आवश्यकताअनुसार प्रत्येक जिल्लाहरुमा फरक–फरक सामानहरु उपलब्ध गराउने बताए । उनका अनुसार केही जिल्ला अस्पतालहरुले सुत्केरीको लागि बेडहरु माग गरेका छन्, केहीले अक्सिजन आवश्यक परेको भनेका छन् । उनीहरुको आवश्यक्ताका आधारमा सामग्री हस्तान्तरण गरीने शाहको भनाई छ ।

विश्व नै कोरोना महामारीको विरुद्ध लडिरहेको अवस्थामा आफूले दिने सामाग्रीहरु कोरोनाविरुद्ध लड्न र त्यसपछि पनि उपयोग गर्न सकिने उनको भनाई छ ।

कर्णाली प्रदेशमा कोरोनाबाट अहिलेसम्म कुनै असर नपरेपनि जोखिम भने रहेको छ । कुमारी ट्रस्टले अहिले एउटा भेन्टिलेटरसहित ५ वटा आईसीयु बेड सुर्खेतस्थित प्रदेश अस्पतालमा तयार पार्दै छ । त्यहाँका सामग्रीहरु स्वर्गीय प्रभाकर शमशेर राणाकी छोरी मायाले आफ्नो बुवाको वर्ष दिनको पुण्य तिथिको अवसर पारेर कुमारी ट्रस्टसँग सहकार्य गरी लगेको अध्यक्ष शाहले बताए ।

समाजसेवामा सक्रिय शाहकै पहलमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ५ बडाभवनमा सुविधा सम्पन्न सामुदायिक अस्पताल भवन निर्माण गरिएको छ । २५ शैयाको उक्त अस्पताल शाहकै सक्रियता र सहयोगमा ६ करोड लगानीमा निर्माण गरीएको हो । उक्त सामुदायिक अस्पताल निर्माणका लागि छेडागाड नगरपालिका वडा नं. ५ बासिन्दाले ५ रोपनी जग्गा निःशुल्क दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *