पदलोलुपतामा रमाए कम्युनिस्ट नेता, बिर्सिए कम्युनिज्म !

काठमाडौं । आज मदन-आश्रित स्मृति दिवस । नेपाली राजनीतिका चर्चित व्यक्तित्व मदन भण्डारीको निधन भएको २७ वर्ष पुग्दैछ । २०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको चितवनको दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।

राजनीतिको निकै नै उच्चतम बिन्दूमा आएका बेलामा र जनताले निकै आशा गरिरहेका बेलामा अचानक तिनै भरोसालायक र नीतिमा स्पष्ट राजनेताको पोखरामा भएको महिला संगठनको कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा चितवनको दासढुंगामा जीप दुर्घटनामा परेर निधन भएको थियो ।

उनको दुर्घटनामा परेर निधन भएको सत्य हो । दुर्घटना भएको सत्य हो । त्यो दुर्घटना नियोजित थियो वा भवितव्य त्यो अहिलेसम्म भने खुलेको छैन । मदन भण्डारीको पार्टी नेकपा एमालेले २०५१ सालदेखि तत्कालीन नेकपा एमाले (अहिले माओवादी केन्द्रसंग पार्टी एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी) ले अहिलेसम्म मदन भण्डारीको सम्झिरहेको छ ।

तर संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्रकालीन नवीन नेपाली वाम विचारक जननेता मदन भण्डारीले खनेको जनताको बहुुदलीय जनवादरुपी रोडम्यापमा नेपाली वाम आन्दोलन र खासगरी नेकपा सफल वा विफल के भयो ।

जनताको बहुुदलीय जनवादलाई नेकपाले मार्गदर्शक सिद्धान्त बनायो वा फ्यूजनका नाममा गोलमोटल सिद्धान्तमा अघि बढ्यो ? यो प्रश्न अहिले नेपाली कम्युनिष्ट राजनीतिमा उठिरहेको छ ।

सादा जीवन उच्च विचार
मदन भण्डारी विचारलेमात्र होइन व्यवहारले पनि अब्बल थिए । सादा जीवन उच्च विचार उनको नीति नै थियो । उनले तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच राखेर मैदानमा आउने हो भने चुनावमा जितेर देखाइदिने भाषण गरेर सबै नेताहरुको ध्यान आकृष्ट गर्न सफल भएका थिए ।

उनको वाहीवाही सम्भवतः कसैलाई पच्ने अवस्थाकै थिएन । उनी तिनै मदन भण्डारी थिए जसले ०४८ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई ७५१ मतले हराएर तत्कालीन काठमाडौं क्षेत्र नम्बर १ बाट सांसद बन्न सफल भएका थिए ।

भट्टराईको ओज त्यतिबेला निकै चुलिएको थियो । ०४६ चैत २६ गते बहुदल आइसकेपछिका अन्तरिम प्रधानमन्त्री बनेका भट्टराईकै नेतृत्वमा नेपालको संविधान २०४७ आएको थियो ।

त्यो संविधानलाई लामो समयसम्म विश्वकै उत्कृष्ट संविधान भन्दै आएको अवस्था थियो । तिनै भट्टराईलाई हराएर मदन भण्डारीले आफ्नो ओजलाई झनै बढाएका थिए । २०४९ मा भण्डारीले आफ्नो विचारलाई नेपाली क्रान्तिको कार्यक्रम मात्रै भनेका थिए । पछि व्याख्याताहरुले त्यसलाई नै जनताको बहुदलीय जनवाद भन्दै मार्गदर्शक सिद्धान्त बनाए ।

तिनै मदन भण्डारीको ओज र उनको ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तले जरो गाड्दै गइरहेको थियो । यस्तो लाग्थ्यो नेपालको सबैभन्दा शिखरमा एक दिन उनै पुग्नेछन् । तर मदन भण्डारीसंगै एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भयो । आश्चर्य रुपले जीपका चालक दुर्घटनाबाट बाँच्न सफल भए । कसैलाई पनि विश्वास लागेन कि त्यो दुर्घटना भवितव्य थियो । अधिकांशलाई लाग्यो त्यो दुर्घटना गराइएको थियो ।

यसबीचमा थुप्रै आयोग बने छानबिनका लागि । चौचर्फि दबाब सिर्जना गरियो तर २६ वर्षसम्म पत्ता लाग्न नसकेको हत्याराको कुरो अब पत्ता लाग्ने सम्भावना विरलै छ ।

पदलोलुपतामा रमाए नेता, बिर्सिए कम्युनिज्म
अहिलेको नेकपा अधिनायकवादतिर उन्मुख भएको हो कि भन्ने आशंका गर्नु स्वाभाविक हुन्छ । कम्युनिस्ट हुँ भन्ने नेताहरूले लोकतन्त्रका प्रति आफ्नो समर्पणभाव प्रदर्शन गर्न सकेका छैनन् ।

एक्काइसौं शताब्दीको कुनै पनि नागरिक आफ्नो स्वतन्त्रतासित कुनै पनि कुराको सौदावाजी गर्न तयार छैन । नेपाली राजनीति अन्योलग्रस्त नै छ । यसले स्पष्ट दिशाबोध गर्नै सकेको छैन ।

सत्ताको लुछाचुँडीमा मूल्य र निष्ठाको तिलान्जली दिइँदैन । राजनीति आदर्शबाट विमुख छ, सिद्धान्तहरू मरेतुल्य छन्, नेतृत्व दिशाविहीन सत्तालोलुपताबाट ग्रसित छ । विकास र समृद्धि ओठेभक्ति मात्रका विषय भएका छन् । यसका प्रति न्यूनतम स्पष्टता पनि छैन ।

नेकपाको सरकारले आज लिएका नीति तथा विकास कार्यक्रममा उसका अग्रजका मार्गनिर्देशनहरू के कति सामेल छन् भन्नेतिर गहिरो बहस हुनुपर्छ । सिंहदरबारबाट नदेखिए पनि सरकार र नागरिकबीच दूरी स्पष्ट रूपले बढेको छ ।

के मदन भण्डारीलाई सम्झने दिन नेकपाभित्रको राजनीतिक विमर्शले हाल सामना गर्नुपर्ने वा गरिरहेका चुनौतीको गाम्भीर्य पहिल्याउन सक्ला ?

ती महान नेता, जसले संसारबाटै साम्यवादी सत्ताहरु ढल्दै गर्दा सगरमाथाको देश नेपालमा विश्व सर्वहारा वर्गको मुक्तिको झण्डा हसियाँ हथौडाको झण्डा फहराए । अनि यूरो कम्युनिज्मको फोटोकपीकै संज्ञा दिइए पनि नेपाली वामलाई बन्दुकको साटो जनताको मतको बाटोबाट सत्ताको नेतृत्वका लागि दिशानिर्देश गरे, ती महान नेताप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *