शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना परीक्षण गराउनेको भिड

काठमाडौं । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न आउनेको भिड लागेको छ । कोरोना भाइरसको आशंकामा भन्दा पनि घरधनीको दबाबका कारण दुई दिनयता अस्पतालले धान्न नसक्ने भिड जम्मा हुन थालेको छ ।

सामाजिक दूरी कायम गर्दा अस्पतालमा ५० जनाभन्दा बढी प्रवेश गर्ने ठाउँ छैन । तर, दैनिक पाँच सयभन्दा बढी मानिस कोरोना जाँचका लागि आउने गरेका छन् । बिहीबार मात्रै ६ सय दुईजना उपचारका लागि अस्पताल पुगेका थिए । सरुवा रोग अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडाले क्षमताभन्दा बढी भिड जम्मा भएपछि व्यवस्थापन गर्न नसकिएको बताए । अस्पताल पुग्नेहरू अधिकांश तराई–मधेसबाट आएका हुन् ।

‘उदयपुरका कमल गिरी लकडाउनकै वेला काठमाडाैं छिरेका थिए । कालीमाटी बस्दै आएका उनलाई घरधनीले तीन दिनदेखि भित्र पस्न दिएका छैनन् । घरधनीले कोरोना परीक्षण गरेर मात्रै आउन भनेपछि हामीले पिसिआर विधिमार्फत स्वाब परीक्षण गरायौँ,’ खतिवडाले भने, ‘रिपोर्ट नेगेटिभ आएपछि कोठामा गयौँ, तर घरधनीले पिसिआर होइन, (आरडिटी) रगतबाट जाँच गरेर आउनु भनेपछि अस्पताल आएका हौँ ।’ विश्वमा पिसिआर परीक्षणलाई मात्रै मान्यता दिइएको छ ।

कोरोना उपचारमा सुरुदेखि खटिएका चिकित्सक डा.श्रवणकुमार मिश्रले केही दिनयता यस्ता घटना धेरै आउन थालेको बताए । पिसिआर र आरडिटी परीक्षणबारे जनतालाई अझै बुझाउन बाँकी रहेको उनको भनाइ छ । टेकु अस्पतालको क्षमताभन्दा बढी मानिसको भिड भएकाले सो एरिया नै जोखिममा पर्न थालेको समाचार नयाँ पत्रिकामा छ । जोखिम बढ्न थालेपछि अस्पतालले शुक्रबारदेखि नयाँ नियम लागू गर्ने भएको छ ।

रातो र हरियो स्टिकर टाँसेर परीक्षण गर्ने भएको छ । ‘पहिलो चरणमा छुट्टै क्लिनिकमा बिरामी हेरेपछि अवस्थाअनुसार कोभिड क्लिनिकमा पठाइनेछ,’ प्रशासन प्रमुख खतिवडाले भने । यसो गर्दा ४० प्रतिशत भिडको व्यवस्थापन गर्न सकिने उनको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *