साउदीमा ६७४ नेपालीमा कोरोना संक्रमण, एकको मृत्यु 

काठमाडौं । साउदी अरेबियामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ भने हालसम्म ६७४ जना नेपाली संक्रमित भएका छन् ।

रियादस्थित नेपाली दूतावासले यसबारे जानकारी दिएकाे हाे । मृतकको परिचय भने खुलाइएको छैन ।

दूतावासका अनुसार पूर्वी क्षेत्रमा ३३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान आदि) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएका छन् ।

कोरोना संक्रमण सुरु भएयता साउदीमा विभिन्‍न कारणले ३१ जना नेपालीको मृत्यु भएको र तीन जनाको मृत्युको कारण प्रष्ट नभएकोले कारण खुलाउन साउदी सरकारसँग आग्रह गरिएको दूतावासले जनाएको छ ।

साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२ हजार ९२५ पुगेको छ भने २६४ जना संक्रमितको मृत्यु भइसकेकाे छ । मंगलबार एकै दिन २ हजार ५ सय २० जना निको भएका छन् भने १ हजार ९११ जनामा संक्रमण पुष्टि भएको छ । साउदीमा कुल संक्रमितमध्ये हालसम्म १५ हजार २५७ जना निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *