‘सिमा क्षेत्रमा आइपुगेका नेपालीलाई सुरक्षित रुपमा प्रवेश गराऊ’ भगवती चौधरी

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको सिमानामा आइपुगेका नेपालीलाई सुरक्षित रुपमा नेपाल प्रवेश गराउन नेकपाकी केन्द्रीय सदस्य भगवती चौधरीले माग गरेकी छिन् । देशका खुल्ला नाकाहरु सम्मै आइपुगेका नेपालीलाई सुरक्षित रुपमा नेपाल प्रवेश गर्न दिएर उनीहरुलाई क्वारेन्टाइनमा राख्न चौधरीले माग गरेकी हुन् ।

विशेषगरी भारतीय भूमिमा रोजगारीका शिलसिलामा गएका नेपाली नागरिकहरु सिमा क्षेत्रमा अलपत्र भएको कारुणिक दृश्य प्रति राज्य गम्भिर हुनुपर्ने नेतृ चौधरीको धारणा छ । ‘कोरोना माहामारीको बेला देशको खुल्ला नाका सम्मै आइपुगेका नेपालीहरुलाई नेपाल भित्रै ल्याउनुपर्छ ।’ नेतृ चौधरीले भनिन्–‘उनीहरुलाई क्वारेन्टाइनको ब्यवस्था राज्यले गर्नुपर्छ ।’

अन्तराष्ट्रिय विमान उडानहरु बन्द रहँदा अन्य देशबाट नेपाल भित्रने नागरिकहरु नभएपनि नेपाल–भारत खुल्ला सिमा भएकाले असुरक्षित रुपमा नेपालीहरु भित्रिने गरेकोले कोरोनाको संक्रमणको जोखिम बढेको पूर्वराज्य मन्त्री समेत रहेकी चौधरीको बुझाई छ । ‘दैनिक मजदुरी गर्न भारत गएका नेपालीहरु खुल्ला सिमाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्ने गरेका छन् । बरु उनीहरुलाई मुख्य नाकाबाटै सरलरुपमा नेपाल प्रवेश गर्ने वातावरण बनाउन आवश्यक छ । यसका लागि सरकारले सिमा क्षेत्रमा क्वारेन्टाइनमा उनीहरुलाई सुरक्षित राख्ने ब्यवस्था गर्नुपर्छ ।’

नेतृ चौधरीले तराईका खुल्ला सिमा क्षेत्रबाट रातीराती नेपाल प्रवेश गर्नेहरुको संख्या बढेको स्मरण गर्दै ती क्षेत्रका खुल्ला सिमामा सुरक्षा सतर्कता अपनाउन आग्रह गरीन् । ‘रोगले धनी गरिब, बालक बृद्ध केही भन्दैन । कोरोनाबाट बच्ने एउटै उपाय सामाजिक दुरी भएकोले त्यसलाई कठोर रुपमा पालना गराउनु सबैको दायित्व हो ।’

भगवती चाैधरी, केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी

चौधरीले सुनसरी मोरङका सिमावर्ती क्षेत्रमा भारतबाट आएका कतिपय ब्यक्तिहरु असुरक्षित रुपमा बस्दै आएकोले ती क्षेत्रमा पनि सुरक्षाकर्मी र स्थानीय निकायले उच्च सतर्कता अपनाउनु पर्ने बताइन् । सुनसरीका भारतसँग सिमा जोडिएका क्षेत्रमा सयौंको संख्यामा बाहिरबाट मान्छेहरुको आएर बसेको जानकारी आएकोले त्यस्ता ब्यक्तिहरुको पहिचान गरी उनीहरुलाई क्वारेन्टाइनमा राख्नु पर्ने नेतृ चौधरीको धारणा छ । ‘तराईका धेरै जिल्लाहरु जोखिममा देखिएकाले बढि आवतजावत हुने जिल्लाहरुमा उच्च सुरक्षा सतर्कता अपनाएर बाहिरबाट आएकालाई पहीचान गरी क्वारेन्टाइनमा राख्न आवश्यक छ ।’

चौधरीले सरकारले कोरोना परीक्षणलाई अझ ब्यापकता दिनुपर्ने पनि बताइन् । बढि संक्रमणको जोखिम रहेका क्षेत्रमा आरडिटी भन्दापनि पिसिआर परीक्षणमा जोड दिएको खण्डमा कोरोना संक्रमित फेला पर्ने र उनीहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राखेर उपचार गर्न सकिने उनको भनाई छ ।

साथै चौधरीले स्थानीय तहमा लकडाउनले दैनिक ज्यालादारीका जनतालाई आहत पुर्याएरहेको बताउँदै राहत वितरणमा पनि विशेष ध्यान दिन भनिन् । ‘कोरोबाट बच्नु त छँदैछ, ५० दिन यताको लकडाउनले दैनिक ज्यालामजदुरी गरेर जिवनयापन गर्नेहरुको दैनिकी अत्यन्त कष्टकर भएकोले स्थानीय र प्रदेश सरकारले त्यतातिर पनि ध्यान दिन जरुरी छ ।’ उनले भनिन् ।

लकडाउनको ५० औ दिनसम्म
सरकारले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि जारी गरेको लकडाउनको ५० औं दिन आइपुग्दा मुलुकभर कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । आजमात्रै ५७ जना कोरोना संक्रमित देखिएका छन् । यो अवधिमा देशभरका आइसोलेसनमा २२८ जना रहेका छन् ।

१२७८५ जना क्वारेन्टाइनमा रहेकामा ३४५ जना रेड जोनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म ७८५१ जनाको पिसिआर प्रविधिबाट कोरोना परीक्षण भइसकेको छ । अहिलेसम्म ३४ जना काेराेना संक्रमितकाे उपचार पछि निकाे भइसकेका छन् । देशभर कोरोना क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *