अमेरिकामा मात्रै ८० हजारले ज्यान गुमाए, विश्वभर ४१ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर २ लाख ८० हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ८० हजार ४ सय ३१ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ४१ लाख ६ सयभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म १४ लाख ३९ हजार ९ सय निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४१२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८० हजार २७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ४६ हजार ७११ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख ३७ हजार २२ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार ५८७ जनाको मृत्यु भएको छ । २ लाख १५ हजार २६० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ३४६ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ८९६ जनामा संक्रमण देखिएको छ । १ लाख ८३ हजार ३२९ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

इटालीमा १ लाख १८ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिन १९४ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार ३९५ पुगेको छ । कुल संक्रमितको संख्या २ लाख १८ हजार २६८ पुगेको छ । इटालीमा संक्रमितमध्ये १ लाख ३ हजार ३१ जना उपचारपछि निको भएका छन् ।

त्यसैगरी शनिबार ब्राजिलमा ६४६, स्पेनमा १७९, रुसमा १०४, क्यानाडामा १२४, पेरुमा १००, मेक्सिकोमा १९९, फ्रान्समा ८०, इरानमा ४८, टर्कीमा ५० जनाको मृत्यु भएको छ । छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ सय १६ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या २१ सय नाघेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *