लिपुलेकमा भारतीय सडक, संसदीय समितिको चासो

काठमाडौं। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतले नेपाली भूमिमा सडकको ट्रयाक बनाउन सुरु गरेकोप्रति चासो देखाएको छ। भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिक स्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको उद्घाटन गरेको जानकारी दिएका थिए। कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो। नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले एकतर्फि रुपमा सडकको उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ।

यही सन्दर्भमा समितिले नेपाली भूमि हुँदै भारतले मानसरोवरसम्म जाने बाटो बनाउन सुरु गरेको प्रति चासो देखाएको हो। संसदीय समितिले गृह, परराष्ट्र र भूमि व्यवस्था मन्त्रीलाई छलफलका लागि समेत बोलाएको छ। आइतबार बिहान ८ बजेका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई उपस्थित हुन भनिएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन्।

नेपाली भूमि मिचिएकोबारे सरकारको धारणा माग्न र आवश्यक निर्देशन दिनका लागि बैठक बोलाइएको उनले बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *