प्रहरीले गाडी दुरुपयोग गरेकोप्रति रत्ननगर नगरपालिकाको आक्रोश

चितवन। लकडाउनलाई प्रभावकारी बनाउन रत्ननगर नगरपालिकाले प्रदान गरेको गाडी अनुमति विना अन्य प्रयोजनमा प्रयोग भएको भन्दै इलाका प्रहरी कार्यालय टाँडीप्रति असन्तुष्टि जनाएको छ। रत्ननगर क्षेत्रमा लकडाउन प्रभावकारी कार्यान्वयनका लागि भन्दै नगरपालिकाले लकडाउन सुरु भएपछि टाँडी प्रहरीलाई बा १२ च २७१ नम्बरको गाडी सङ्क्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै दिएको थियो।
तर नगरपालिकाको अनुमति नलिई कार्य क्षेत्र भन्दा बाहिर अन्य प्रयोजनका लागि गाडी प्रयोग गरेको भन्दै नगरपालिकाले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रति असन्तुष्टि जनाएको हो। विशेष सूचनाका आधारमा गाँजा तस्कर हुन लागेको भन्दै जानकारी पश्चात् प्रहरीले नगरपालिकाले दिएको गाडी प्रयोग गरेर बरामद गरिएको गाँजा ल्याउँदै गर्दा राप्ती ५ चौकी टोलमा स्थानीयले तोडफोड गरेका थिए।
इलाका प्रहरी कार्यालय भण्डारासहितको नगरपालिकाले दिएको गाडी तोडफोड भएको घटना सञ्चार माध्यममा आएपछि नगरपालिकाले विज्ञप्ति जारी गरेको हो। रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा नगरपालिकाको अनुमति नलिई इलाका प्रहरी कार्यालय टाँडी रत्ननगरबाट अन्य प्रयोजनका लागि प्रयोग भएको देखिएको, नेपाल प्रहरी र स्थानीयवासी बीच झडप भई हवाई फायर समेत गर्नु पर्ने अवस्था सिर्जना भएको र नगरपालिकाको सवारी साधन तोडफोड भई क्षति भएको घटनाको नगरपालिकाले खेद प्रकट गरेको उल्लेख छ।
सो सवारी साधन पूर्ववत् अवस्थामा नै अविलम्ब फिर्ता गर्न इलाका प्रहरी कार्यालय रत्ननगरलाई निर्देशन समेत दिइएको छ। सो घटनाको पूर्वाग्रहरहित अनुसन्धानका लागि सम्बन्धित निकायलाई रत्ननगर नगरपालिकाले अनुरोध पनि गरेको छ। शुक्रवार राती राप्ती १२ बाट तस्करी हुन लागेको गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयले प्रहरीकै मिलेमतोमा गाँजा तस्कर हुन लागेको भन्दै अवरोध गरेका थिए। त्यस क्रममा प्रहरी र स्थानीयवासी बीच झडप पनि भएको थियो। झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो।










