दादुरा सङ्क्रमण : राप्तीको पहाडी क्षेत्रमा खोप कार्यक्रम

ध्रुवराज खनाल /चितवन । छिमेकी जिल्ला धादिङको रोराङ गाउँपालिकाबाट सङ्क्रमण भित्रिएपछि जोखिम हुन नदिन चितवन राप्तीका पहाडी वडाहरूमा दादुराको महामारी रोकथाम तथा नियन्त्रणका लागि खोप कार्यक्रम सुरु भएको छ । लकडाउन अघि जिल्लाका अन्य पालिकाहरूमा खोप कार्यक्रम सम्पन्न भए पनि खैरहनी र राप्तीमा सञ्चालनको अवस्थामा रोकिएको थियो ।

यसै अवधिमा राप्ती नगरपालिका वडा नम्बर १३ वासवाङका स्थानीयमा दादुराको सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार वासवाङका चार जनामा दादुरा सङ्क्रमण देखिएको हो । शङ्कास्पद ६ जनाको नमुना परीक्षण गरिएकोमा चार जनामा पोजेटिभ देखिएको थियो ।

उनीहरू उपचार पश्चात् निको भएको स्वास्थ्य कार्यालय प्रमुख तिवारीले बताए । तिवारीका अनुसार सङ्क्रमित मध्ये दुई जना रोराङ माइती र ससुराली गएका थिए । त्यहाँबाटै उनीहरूलाई दादुरा सरेको तिवारीले जानकारी दिए । रोराङमा दादुराका कारण दुई जनाको मृत्यु भएको थियो । वैशाख १३ गते चितवनबाट नमुना सङ्कलन गरी काठमाडौँ पठाइएकोमा उनीहरूमा पोजेटिभ देखिएको थियो । लगत्तै जोखिम विश्लेषण गरेर राप्तीका पहाडी वडाहरूमा खोप कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ । सङ्क्रमितहरूलाई तत्काल भिटामिन ए खुवाइएकाले अरुमा सर्न नपाएको तिवारीले बताए । सङ्क्रमितहरू ८ महिनाको बच्चादेखि २५ वर्ष सम्मका छन् । आँखा रातो हुनु,रुघा लाग्नु,ज्वरो आउनु,बिबिरा आउनु दादुराका लक्षण हुन् ।

राप्तीमा गत वर्ष पनि दुई जनामा दादुरा सङ्क्रमण देखिएको थियो । राप्ती नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख राममणि सिलवालका अनुसार सङ्क्रमण देखिएपछि नगरको वडा नम्बर १०,११,१२ र १३ मा खोप कार्यक्रम मङ्गलवारदेखि सुरु भएको छ । यो कार्यक्रम आगामी २८ गते सम्म सञ्चालन हुनेछ । यो अवधिमा ६ महिनादेखी १५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई खोप लगाईने छ । चार वटा वडामा यो उमेर समूहमा झन्डै ७ हजार बालबालिकाहरू रहेका छन् । राप्ती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गङ्गाबहादुर भुजेलले सङ्क्रमण देखिए लगत्तै खोप कार्यक्रम सञ्चालन गरिनुका साथै सचेतना मूलक कार्यक्रम समेत गरिएको बताए । सङ्क्रमण फैलन नदिन नगरपालिका प्रतिबद्ध रहेको समेत भुजेलले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *