उपत्यकाका मेयरहरूले भनेः ‘उपत्यकामा निर्वाध प्रवेश रोकौं’

काठमाडौं। उपत्यकाका मेयरहरूले काठमाडौंमा निर्वाध प्रवेश रोक्न माग गरेका छन्। कोरोना सङ्क्रमणबाट काठमाडौं उपत्यकालाई जोगाउन निर्वाध प्रवेशमा रोक लगाउनु पर्ने उनीहरूले बताएका हुन्।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिले देशभर लकडाउन यथावत् नराखेर जोखिम देखिएको र कम जोखिम क्षेत्रको अवस्था हेरेर लकडाउनलाई निरन्तरता दिने तयारी गरिरहेको छ। सोही सन्दर्भमा उपत्यकाका मेयरहरूले उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटेर उपत्यकामा निर्वाध प्रवेशमा रोक लगाउन माग गरेका हुन्।

‘उपत्यका बाहिरका केही स्थानमा अहिले पनि कोरोना सङ्क्रमित बढिरहेका छन्। यस्तो बेलामा आवत–जावतमा खुकुलो गर्दा सङ्क्रमणको खतरा बढी हुन्छ। त्यस कारण उपत्यकाबाट हुने आवत–जावतमा कडाई नगर्ने हो भने त्यसले थप समस्या सिर्जना गर्न सक्छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने।

उपत्यका कोरोना सङ्क्रमणबारे अहिलेसम्म ‘ग्रीन जोन’ मा परे पनि जोखिम नघटेकोले बाहिरबाट आउने मानिसहरूलाई प्रवेश गर्न दिन नहुने मध्यपुर थिमीका मेयर श्रेष्ठले बताएका छन्। उनले भनेका छन्, ‘उपत्यकाभित्र आन्तरिक आउजाउमात्रै गर्न दिँदा राम्रो हुन्छ। तर बाहिरी जिल्लाका मानिस आउन दिने र यताबाट पनि बाहिर मानिस जान दिन हुँदैन। शिल गरेजस्तै आवतजावतमा कडाइ गर्नुपर्छ भनेर उपप्रधानमन्त्रीलाई भनेका छौँ।’

अहिलेको अवस्थामा लकडाउन खुकुलो गरियो भने उपत्यकाभित्र कोरोना सङ्क्रमण फैलन सक्ने मेयरहरूको भनाइ थियो। कोरोना विरुद्धको लडाइँमा उपत्यकाका सबै नगरपालिका एक जुट हुने निर्णय पनि गरेको पनि उनीहरूले सुनाए। उपत्यकाका सबै नाकाबाट आवत–जावत हुने सवारीलाई अनिवार्य सेनिटाइजर गरेर मात्रै आवत–जावतको प्रबन्ध मिलाउनु पर्नेमा मेयरहरूले जोड दिँदै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + thirteen =