बैतडीका एक वडाध्यक्ष पद गुम्दा पनि अध्यक्षकै रुपमा कार्यरत

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामीको पद निर्वाचन आयोगले खारेज गरी पद रिक्त रहेको बताएपनि धामीले अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको छ ।

निर्वाचन आयोगको गत चैत ६ गतेको निर्णयले धामीलाई पदमुक्त गरेको भए पनि धामीले अहिले पनि अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको हो ।

आयोगको निर्णयका बारेमा गाउँपालिकालाई कुनै जानकारी प्राप्त नभएको डिलासैनी गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले जानकारी दिए । धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । पछि उनले नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका थिए ।

धामीले नेकपामा प्रवेश गरेपछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले धामीले दल त्याग गरेको बारेमा निर्वाचन आयोगलाई जानकारी गराएको थियो । त्यसपछि आयोगले निर्णय गर्दै डिलासैनी गाउँपालिका–७ मा वडाध्यक्षको पद रिक्त रहेको जानकारी दिएको हो ।

यस्तै डडेल्धुराको परशुराम नगरपालिका–१० की महिला वडा सदस्य जानकीदेवी महराले समेत दल त्याग गरेपछि स्वतः पदमुक्त भएको निर्वाचन आयोगद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *