नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुग्ने जोखिम

वैशाख ६, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा चिन्ता बढेको छ । शुक्रबारसम्म कोराना संक्रमित ३० जना पुगेका छन् । 

स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार थप १४ जनामा संक्रमण देखिएको छ । उदयपुर जिल्लामा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । उदरपुरमा देखिएका सबै पुरुष छन् । मन्त्रालयका अनुसार, उदयपुरमा २० देखि ४० वर्षका पुरुषमा संक्रमण देखिएको छ ।  

व्यक्तिगत गोपनियताका कारण मन्त्रालयले उमेर मात्र खुलाएको छ । संक्रमितमध्ये एक जना बीस र अर्का बाइस र पच्चीस वर्षका छन् । त्यस्तै अर्का छब्बिस र अटठाइस वर्षका ३ जना छन् । २९ वर्षका दुई जना र ३४ वर्षका एक जना छन् । ४० वर्षका पनि एक जना रहेका छन् । 

null

त्रियुगा नगरपालिका-३ भुल्के मस्जिदमा लुकेर बसेका १६ मध्ये १२ जनालाई कोरोना पोजेटिभ देखिएको हो । विराटनगरस्थित पीसीआर ल्याबमा गरिएको परीक्षणमा १२ भारतीयलाई कोरोना पोजेटिभ देखिएको हो । बाँकी चार जना नेपालीको रिर्पोट भने नेगेटिभ देखिएको अन्नपूर्णमा समाचार छ ।  

कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले पुष्टि गरे । 

उनीहरुको रिपोर्टको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालेसमेत पुष्टि गरेको उनले बताए । स्थानीय प्रशासनले उदयपुरका तीन मस्जिदमा अनुगमन गर्दा भुल्केमा १६ जना लुकेर बसेको फेला पारेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए । 

मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो । अन्य ४ जना नेपाली रहेका प्रजिअ पहाडीले बताए । लकडाउनको समयमा मस्जिदमा विदेशी आएर बसेको भन्दै स्थानीयले प्रशासनलाई खबर गरेका थिए । 

सरकारले गत चैत ९ गते भारत–चीनसँग जोडिएका सबै सीमानाका बन्द गरे पनि भारतका अधिकांश नाकाबाट जोखिमपूर्ण आउजाउ भइरहेको छ । मस्जिदमा रहेका ती व्यक्तिहरू लुकेर बसेको अवस्थामा परीक्षण गरिएको थियो ।  

जोखिम बढयो : विज्ञ 

सरकारले आवतजावत बन्दको घोषणा गरे पनि खुला सीमाका कारण जोखिम बढेको विज्ञको भनाइ छ । नाकाको आवागमन जोखिमपूर्ण भएको उल्लेख गर्दै विज्ञले पछिल्लो संक्रमणले तेस्रो चरणमा प्रवेश गरेको संकेत भएको बताएका छन् । 

कोरोना भाइरस समुदाय तहमा फैलिएको अवस्थामा तेस्रो चरणमा प्रवेश गरेको मानिन्छ । संक्रमितबाट समुदायमा फैलिएको पुष्टि भए तेस्रो चरणमा प्रवेश गरेको हुन्छ । 

बरिष्ठ श्वासप्रश्वास एवं सघन उपचार (आइसीयु) विज्ञ डा. अर्जुन कार्कीले पछिल्लो अवस्थाले कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा जाने संकेतका रूपमा लिन सकिने बताए । 

उनले भने, ‘लकडाउनको घोषणा सँगै सरकारले सतर्कताका प्रयत्नहरू नअपनाएको भए धेरै अघि विष्फोट हुन सक्थ्यो । असावधानी र लापरवाहीका कारण नेपालमा पनि विष्फोट हुन सक्छ । कति ठूलो र कतिखेर विष्फोट हुन्छ भन्ने मात्र हो ।’ 

डा. कार्कीले भने, ‘भुसको आगो जस्तो हुने संभावना प्रबल छ । अहिले नै आत्तिहाल्नु पर्दैन । संक्रमण हुने बित्तिकै कोही मर्ने पनि होइन ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *