लकडाउन खुलेपछि मात्र कक्षा १०, ११ र १२ को परीक्षा मिति तोकिने


चैत्र २४, काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १०, ११ र १२ को वार्षिक परीक्षाको नयाँ तालिका लकडाउन खुलेपछि सार्वजनिक गरिने जनाएको छ। लकडाउन पूर्णरुपमा खुलेपछि नयाँ परीक्षा तालिका सार्वजनिक गरिने मन्त्रालयले जनाएको हो।
‘पहिले लकडाउन खुल्नुपर्यो। त्यसपछि समिक्षा हुन्छ,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘विद्यार्थी परीक्षा केन्द्रमा जान सक्ने वातावरण बनेपछि मात्र नयाँ मिति तोकिन्छ।’ कोरोना माध्यमिक शिक्षा परीक्षा (एसईई) ६ चैतका लागि तोकिएको थियो। कोरोना भाइरस (कोभिड १९) का कारण अन्तिम समयमा परीक्षा स्थिगित गरिएको थियो।
विद्यार्थीलाई परीक्षा केन्द्रमा पुग्ने समय राखेर नयाँ मिति तोकिने शर्माले बताए। ‘सरकारले अगाडी बढ भनेपछि नयाँ परीक्षा तालिका आउँछ,’ उनले भने ‘वातावरण अनुकुल र सहज नभएसम्म परीक्षा हुँदैन।’ कक्षा १२ को परीक्षा ८ वैशाख र कक्षा ११ को परीक्षा २१ वैशाखमा गर्ने तालिका सार्वजनिक गरेको थियो। तर कोरोना भाइरसका कारण लकडाउन भएपछि ११ र १२ को पनि प्रभावित हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड पर्ख र हेरको अवस्थामा छ।
‘परीक्षा सार्ने निर्णय भएको छैन,’ परीक्षा बोर्डका एक सदस्यले भने, ‘सरकारले के निर्णय गर्छ। त्यसपछि बोर्डले थप निर्णय लिन्छ। परीक्षा सामाग्री सबै तयारी अवस्थामा छ। पर्ख र हेरको अवस्थामा छौं। ५ वैसाखसम्म लकडाउन भयो भने परीक्षा केही समय पर सर्न सक्छ। यो विषयमा छिटै निर्णय गछौं।’
