फलफूल, तरकारी र ग्यासलाई कसरी सुरक्षित बनाउने ?

चैत २६, काठमाडौं । अहिले विश्व कोरोना महामारीले आक्रान्त छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन घरबाहिर र घरभित्रै पनि सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिइरहेका छन् ।
घरमै बस्दा पनि दैनिक उपभोग्य वस्तुहरूको जोहो त गर्नैपर्ने हुन्छ र त्यसका लागि घरबाहिर निस्कनुपर्ने अवस्था आउँछ । मूलत खाद्य सामग्री, फलफूल, तरकारी र ग्यास ल्याउनुपर्ने हुन्छ । यीनै सामग्री ल्याउँदा भाइरस हाम्रो घरसम्म आइपुग्ने सम्भावना रहन्छ ।
यसरी भाइरसको संक्रमण हुनसक्ने जोखिमबाट कसरी सुरक्षित रहन र राख्न सकिन्छ त ? यसबारे जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले सुझाव दिएका छन् । उनका अनुसार फलफूल, तरकारी तथा ग्यास सिलिन्डरलाई यसरी सुरक्षित बनाउन सकिन्छ :-

– हातमा पंजा लगाएर सुरक्षितरूपमा ग्यास ल्याउने । उक्त ग्यासलाई घरबाहिर साबुनपानीले सफा गर्ने । त्यसपछि ओभानो गरेर स्प्रिट वा डेटोल पानीले सफा गर्ने । अनि आधा घण्टा घाममा राखेर घरभित्र ल्याउने । हात राम्रोसंग धुने ।
– दाल, चामल लगायतका सामान ल्याएपछि सबैभन्दा बाहिरको प्याकिंग निकाल्ने । त्यसलाई नष्ट गर्ने । ती बोरा वा झोलालाई आधा घण्टा घाममा राख्ने ।
– तरकारी तथा फलफुल ल्याएको प्लास्टिकको झोला नष्ट गर्ने, आफुले साबुनपानीले हात धुने । तराकारी तथा फलफुललाई २० मिनेटदेखि आधा घण्टा सम्म घाममा राख्ने । त्यसपछि बांटामा राख्ने । बाँटामा मनतातो पानी राख्ने । त्यसमा खाने सोडा वा नुन वा कागतीको रस वा भिनेगार राख्ने । तरकारी, फलफुल सफा गर्ने । आधा घण्टापछि धारोको पानीमा (Running Water) मिचिमिची सफा गर्ने । अनि सुक्खा राख्ने । यसरी प्रयोग गर्दा सुरक्षित हुन्छ । खानेकुरामा शरीरलाई हानि गर्ने केमिकल मिसाउनु हुँदैन । यो बाहेक क्लोरिन पानी/पियुषको केहि थोपा राखेर सफा गर्न पनि सकिन्छ ।
– प्याकेट, बोरा, झोलालाई स्यानिटाइजर वा ब्लीच पानीले पनि सफा गर्न सकिन्छ । केहि विज्ञको मत यो छ कि मनतातो पानीले राम्रोसंग सफा गरेब्लीच मिसाउनु पर्दैन भनेका छन् भने केहि विज्ञले चिसोपानिले राम्रोसंग धोए पनि हुने बताएका छन् । यो आफ्नो आफ्नो ठाउँको अभ्यासमा भर पर्दछ ।
– आलु, स्याउ, गाजर लगायत कडा सतह भएका फलफुल तथा तरकारीलाई चिसो पानीमा राखेर भेजिटेबल ब्रस वा नरम ब्रसले सफा गर्न सकिन्छ भने गोलभेंडा, च्याउ आदिलाई पानीमा डुबाएर हातले बिस्तारै सफा गर्न सकिन्छ । अझ सुरक्षित हुनको लागि बेकिंग सोडा राखेर सफा गर्न सकिन्छ ।
– फलफुल तथा तरकारीलाई काट्नु अघिं राम्रोसंग धुनु जरुरी छ ।
– सकभर बोक्रा ताछेर खानु सुरक्षित हुन्छ । त्यस्तै बन्दा, प्याज, काउली आदिको बाहिरको पत्र निकालेर खानु बढी सुरक्षित हुन्छ ।
– खानेकुरा सफा गर्ने, काट्ने तथा पकाउने मान्छे सफा तथा निरोगी हुनुपर्दछ ।रुघाखोकी तथा ज्वरो आएको व्यक्तिले भान्साको काम गर्नुहुँदैन ।
– तरकारी, फलफुल तथा अन्य खानेकुरा सफा गर्दा यसलाई ठूलो रुपमा गम्भीर हुनु जरुरी छैन । माथि उल्लेख गरेका उपायमध्ये आफुसंग उपलब्ध बिधि अपनाउने हो । सबैभन्दा उपयुक्त बिधि भनेको पटक पटक हात धुने हो ।सरसफाईमा ध्यान दिने हो ।








