सामाजिक आर्थिक गतिविधिमा कोरोनाको गहिरो प्रभाव

चैत्र २६, काठमाडौं। विश्व अहिले कोरोना भाइरसको सामना गरिरहेको छ। कोरोना महामारीको भयानक पीडाबाट मानव जाति गुज्रिरहेको छ। कोरोना रोकथामको उपाय विश्वले खोजि रहेको छ। विकसित विज्ञानले यस महामारीको समाधान खोज्ने प्रयास गरेको चार महिना भइसक्दा पनि उपाय पत्ता लगाउन सकिरहेको छैन। कोरोनाविरुद्धको वैज्ञानिकको यात्रा अनिश्चिता तिरको यात्रा जस्तै भएको छ।
चीनको हुवेई प्रान्तको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरस संक्रमणको चपेटामा विश्वका अधिकांश देशहरु आइसकेका छन्। चीनको वुहानमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएको बताइए पनि संसारभर भने यसको प्रकोप डरलाग्दो रुपमा फैलिरहेको छ। विशेषगरी युरोपेली राष्ट्रहरु र अमेरिकामा यसको अवस्था भयावह बन्दै गएको छ। विस्तारै एशियाली, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरुमा समेत कोरोनाको प्रभाव बढ्दो छ ।
हालसम्म संसारभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार नाघिसकेको छ। झण्डै साँढे १४ लाख मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा पनि कोरोना संक्रमितको संख्या नौ पुगेको छ। संक्रमित व्यक्तिहरूको पहिचान गर्ने बाटोमा नेपाल अघि बढेको छ। यस भाइरसको सम्भावित फैलावट रोक्न सरकारले लामै लकडाउनको सुझबुझपूर्ण निर्णय गरेको छ।

कोरोना महामारीले कतिसम्म क्षति पुर्याउने हो, आँकलन गरिहाल्ने अवस्था आएको छैन। यद्यपि विश्वको अर्थतन्त्र, व्यवस्था, जीवनशैली, विकासलगायत सबै पक्षमा यसले दिर्घकालीन असर गर्ने संकेतहरु देखिएका छन्।
लकडाउनले सधैं कामको धपेडीमा रहेका हामीलाई विश्राम दिएको छ। घरपरिवारसँग समय बिताउने समय दिएको छ। व्यक्तिगत, पारिवारिक र पेसागत जीवनशैलीबारे आत्मविश्लेषण गर्ने र आवश्यक सुधार गर्ने अवसरको रुपमा लकडाउनको समयलाई व्यख्या गरिएको छ। दैनिक भागदौडको आजको युगको सन्दर्भमा यो एक दुर्लभ अवसर हो।
अर्कातिर, न्यून आय भएका, दैनिक मजदुरी गरेर आफू र परिवारको भरणपोषण गर्दै आएका गरिब, साना व्यापार व्यवसाय, वैदेशिक रोजगारीमा निर्भर परिवारलाई यो समय कठिन बनेको छ। लकडाउनले देशका सामाजिक, आर्थिक लगायतका क्रियाकलाप ठप्प छन्। सहर केन्द्रीत विपन्न परिवारको लागि श्रमको ठाउँ छैन। दैनिक ज्यालादारीमा काम गरेर जिवनयापन गर्ने वर्ग समुदायलाई भने कोरोनाले ठूलै असर गरेको छ। कोरोना कहरका कारण हुने खानेहरुले पनि पैसा तिरेर खान सक्ने अवस्था छैन।
कोरोनाको त्रासमा बाँचेका गरिब विपन्न वर्गका जनताको लागि राज्यले जिम्मेवार र सक्षम अभिभावकको दायित्व पूरा गर्न चुक्नु हुँदैन। यस प्रकारका महामारीको प्रभाव जनस्वास्थ्यसम्म मात्र सीमित रहने गरेको छैन। आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा पनि गम्भिर प्रभाव पारेको छ। अहिले मानिसमा एकअर्काप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आइरहेको छ। कोरोना भाइरस देखिएपछि भएका गतिविधि र यसबाट सिर्जित अवस्थाले नयाँ वहसको सुरुवात भने गरेको छ। जसको प्रत्यक्ष प्रभाव समाज, अर्थतन्त्र र शासन प्रणालीमा रहने निश्चित छ।
अहिले सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु जुटाउन हम्मे परेको छ। मुलुकको वितरण प्रणाली ठप्प भएको छ। आर्थिक कारोबार रोकिएका छन्। यसको सबैभन्दा ठूलो मार दैनिक ज्यालादारी गरेर जीविका चलाउने वर्गमा परेको छ। दैनिक काम गरी जिविकापार्जन गर्ने यो समुदाय महामारीले निम्त्याउने आर्थिक जोखिमबाट दीर्घकालसम्म पिरोलिनेछ। यो वर्गलगायत अर्थतन्त्रका अन्य क्षेत्रलाई समेत सम्बोधन गर्न राज्यले तत्काल राहत प्याकेज घोषणा गरेको भएपनि प्रभावकारी देखिएको छैन।
नेपाल लामो समय राजनीतिक संक्रमणकालबाट गुज्रिएर अघि बढ्यो। देशमा राजनीतिक संक्रमणका कारण विकासका गतिविधि निर्वाधरुपमा अघि बढ्न नसकेको चित्रण गरियो। छोटो समयमा धेरै राजनीतिक घटनाक्रम विकसित भए। लामोसमय द्वन्द्वमा नेपाली समाज रह्यो। विकास र समृद्धीको सपना बोक्दै विकासित भएका राजनीतिक घटनाक्रमबाट जनताको जिवनसँग प्रत्यक्ष जोडिने परिवर्तनहरु भर्खरै विकसित हुँदै गएको बेला विश्वमै संकटको रुपमा उदाएको कोरोनाले नेपाललाई पनि ५ वर्ष पछाडी धेकेलिदिएको छ।
पछिल्लो समय देशले स्थायी सरकार प्राप्त गरेपछि समृद्धी र विकासका केहि रेखाहरु बन्दै गएका थिए। ती रेखाहरु समेत कोरोना भाइरसले धुमलिदिएको कारण अब मुलुकको आर्थिक, सामाजिक विकास कसरी गर्ने अर्को रोडम्याप पनि तय गर्न आवश्यक छ।
सरकारले समृद्धीका सपनाहरु देखाउँदै ती सपनाहरु पुरा गर्न आफ्ना नीति तथा रणनीतिहरु तय गरिरहेको अवस्थामा अपर्झट आइपरेको संकटले मुलुकको विकास र आर्थिक समृद्धिका खाकामा पूर्णविराम लागेको छ। आर्थिक समृद्धि हासिल गर्दै समाजवादको यात्रामा अघि बढेको जनताले अनुभूत गर्दैगर्दा अब कोरोना संक्रमण पछि ती खाकाहरुलाई कसरी अगाडी बढाउने भन्ने सवालमा ध्यान केन्द्रित हुन जरुरी छ।
लगानी सम्मेलन र सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने नेपाल सरकारको तयारी शुरुमै फेल खाइसकेको छ। अब ती कार्यक्रमलाई कसरी अगाडी बढाउने ठूलो चूनौति थपिएको छ। यसैगरी उर्जा क्षेत्रमा भएको सकारात्मक सुधारहरुमा पनि कोरोनाले असर गरेको छ। कार्यान्वयनको चरणमा रहेका आयोजनाहरुले नेपालको आर्थिक क्षेत्रमा ठूलो परिर्वतन गर्ने आशा गरिएको थियो। खासगरी उर्जा, पर्यटनका क्षेत्रमा ठूलो प्रगति हुन्थ्यो। त्यसलाई कोरोना भाइरसले पछाडी धकेलिदिएको छ। प्रकृतिसँग जोडिएर भएको विकासमा धक्का लागेको छ। यी क्षेत्रलाई पुर्नजाग्रित गराउन धेरै समय लाग्छ।
कोरोना संक्रमण फैलिएसँगै वैदेशिक रोजगारीमा पनि ठूलो प्रभाव रह्यो। नेपाली कामदारलाई विदेश जान समस्या भएको छ। वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपाली कामदार पनि त्रासमा छन्। केहीले कोरोना संक्रमणबाट ज्यान समेत गुमाए। सरकारले कोराना प्रभावित सबै देशको लागि श्रम स्वीकृति दिने कार्य पनि स्थगित गरेको छ। यसको सिधा असर रेमिट्यान्समा परेको छ। कोरोना कै कारण देशमा आर्थिक गतिविधि पूर्ण रुपमा बन्द भएका छन्। राष्ट्र बैंकले आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्नुको मूख्य कारक कोरोना भाइरसलाई देखाएको छ। कोरोना भाइरस त्रासपछि घरेलु उत्पादनमा कमी आउने तर्फ उनले उसले सचेत गराएको छ। यद्यपि नेतृत्वले प्रतिकूल परिस्थितिमा पनि मुलुकको अर्थतन्त्र र समाजको नाडी छामेर उपयुक्त निर्णय गरेर समाजलाई एउटा राम्रो निकास दिनेछ भन्ने विश्वास हामीले लिएका छौं।
सार्वजनिक सेवाप्रवाह गर्ने संस्था र संरचना कमजोर रहेको यतिवेला पुष्टि भएको छ। अझ भनौं नीजि स्वास्थ्य संस्थामाथि अहिले प्रश्न उठेको छ। उसको स्वास्थ्य जिम्मेवारी प्रति बहस सिर्जना भएको छ। कोरोना महामारीको त्रासमा यतिबेला अन्य रोगीहरुले उपचार नपाएको अवस्था छ।
लम्बिँदो ‘लकडाउन’ ले निम्त्याउने आर्थिक क्षति र सामाजिक निरुत्साहनलाई कम गर्न राजनीतिक नेतृत्वले पनि इमानदारिताका साथ तदारुकता देखाउन आवश्यक छ। तर, यहाँ कोरोना भाइरस संक्रमणको त्रासमा मुलुककै अर्थतन्त्रलाई धरासायी बनाउने सोच हावी भएकाले राज्यको ढुकुटी सिध्याउने प्रपञ्च रचिरहेका छन्। स्वास्थ्योपचारका नाममा राज्यको सम्पत्ति तहसनहस गर्ने अधिकार कसैलाई छैन।
अब मानिसलाई घरभित्र राखेर मुलुकको नेतृत्व र सरकार पर्ख र हेरको अवस्थामा बस्ने होइन। व्यक्ति र समाजलाई त्रासबाट मुक्त गर्ने भनेको नेतृत्वले हो। अहिलेको यस संकटलाई एउटा अवसरमा रूपान्तरण गर्न सक्नुपर्छ। आशा गरौं, कोरोना भाइरसको यो महामारीबाट हामी छिटो बाहिर निस्कनेछौं।








