पोष्टकार्डमा लेखिएको शायरी अब कहाँ भेटिन्छ र ?

वैशाख १, विराटनगर। डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले 

बोकी ल्यायो बकुल वनको वास मीठो हावाले ।   

डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहँली,   

गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली ।।   

राष्ट्र कवि माधव घिमिरेद्वारा लिखित वैशाख शीर्षक कविताको केही अंश हो यो । प्राकृतिक बिम्बलाई टपक्क टिपेर सृजनामा समायोजन गरेका छन् । वैशाख कविताद्वारा वसन्त ऋतुको आगमनलाई सम्झेका छन् । हुन त प्रकृति र साहित्यबीच अन्तरसम्बन्ध रहेर नै होला साहित्यकारहरू प्रकृतिसँगको सामीप्यमा शक्तिशाली हरफहरू कोर्दछन् । कविता मात्र नभएर साहित्यको अन्य सृजनाहरूमा पनि वसन्तको वर्णन व्यापक रूपमा नै गरेको पाइन्छ ।   

वसन्त ऋतुमा प्रकृतिको एकाएक स्वरूप नै परिवर्तन हुन्छ । जाडो बिस्तारै घट्दै जान्छ । घामको ताप बढ्दै जान्छ । प्रकृति नै न्यानो हुन्छ भने दिन पनि लम्बिँदै जान्छ । हिउँदभर कठ्यांग्रिएर पातहरू झरेर उजाडिएका रुख बिरुवाहरू पालुवा फेरेर सुन्दर देखिन्छन् । वन पाखामा शीतले कठ्यांग्रिए  फूलहरू जताततै ढकमक्क फुलेर प्राकृतिक सुगन्धले वन पाखा नै अत्तर छर्किएको जस्तो अनुभूति हुन्छ ।   

वसन्त ऋतुमा फेरिएको प्रकृति दृष्यले सम्पूर्ण मानिसको नै मन मोहित बनाउँछ । घरी घरी चलेको हावाका स्पर्शहरूले पनि मन शान्त र प्रफुल्ल बनाउँछ । वसन्त ऋतुको आगमन सँगै साल पनि परिवर्तन हुन्छ । नयाँ जोस जाँगर, नयाँ योजना लिएर प्रवेश गर्दछ । शुभकामना आदानप्रदान साथै खुसीयाली मनाउने एउटा माध्यम पनि हो । तर यो समय कोरोना भाइरस संक्रमणको त्रास भित्र पनि नेपालीहरू नयाँ सालको स्वागतको तयारी छन् ।   

रमाइलो स्थानमा घुम्न जान नपाइएला, समूहमा रहेर एक अर्कामा खुसीयाली साटासाट गर्न नसके पनि सामाजिक दुरी कायम राखेर भए पनि २०७६ साललाई बिदा गर्दै २०७७ सालको स्वागतमा छ । विश्व नै कोरोना भाइरस संक्रमण त्रासको अपत्यारिलो खाल्डोमा धकेलिएको छ भने नेपाल पनि अछुतो भने छैन । यो समय मुलूक लकडाउनको अवस्थामा गुज्रिरहेको छ । यद्यपि सबैको मनभावनाहरुमा नयाँ सालमा नयाँ जोस, जाँगर, हर्ष उल्लासका साथ नयाँ कार्ययोजनाको तयारीसहित एक अर्कामा शुभकामना आदान प्रदान गर्ने क्रम चलिरहेको छ । विगतका दिनहरूमा पसलमा बेच्न राखिएको हिरो हिरोनीहरुको फोटो भएको पोष्टकार्डको झिलिमिलीले नयाँ वर्षको सङ्केत गर्दथ्यो ।   

फूल फुल्छ कहाँ कहाँ बास्ना आउँछ यहाँ 

साथी तिमी कहाँ कहाँ याद आउँछ यहाँ 

सधैँ फुलोस् फलोस् तिम्रो चाहाना 

सधैँ प्रगतिको कामना यही छ मेरो नयाँ वर्षको शुभकामना ।   

कापीको पानाको खाम बनाएर पोष्टकार्डको पछाडि लेखिएका माथिका शायरीहरु अब कहाँ भेटिन्छ ? शायरीको माध्यमबाट नै भावना प्रष्फुटन हुन्थ्यो । एक रुपैयाँमा पाउने पोष्टकार्डको मूल्यमा भन्दा पनि दिगो सम्बन्धको साथै निकटताको महत्त्व थियो । पछिल्लो समय प्रविधिको विकाससँगै शुभकामना आदान प्रदान गर्ने शैली परिवर्तन भएको छ ।   

आजभोलि गुगलबाट खोजेर राम्रा राम्रा कार्डहरू फेसबुकको माध्यमबाट शुभकामना आदान प्रदान गर्ने प्रविधिको राम्रै सदुपयोग भएको छ । परिवर्तन भएको आजको समयलाई सकारात्मक नै लिनु पर्छ । घरमा बसेर संसारलाई नियाल्न सक्ने माध्यमहरू निर्माण भएको छ । चिरपरिचित साथीहरूमा एक खालको निकटता सामाजिक सञ्जालले बढाएको छ वर्षौँ स्कूल पढ्दा छुटेका साथीहरू बिच पुन भेट गराएको छ ।   

वसन्त ऋतुको आगमनले जो कसैको मनमा हर्ष उल्लास भित्र्याउँछ । साहित्यकारहरू पनि सुन्दर प्रकृतिको चरम आनन्द लिँदै साहित्य सृजना गर्न हतारो हुन्छन् । मैले वसन्तको पहिलो कोकिल सुनेर नाचेको देख्दा, बहुला भने माथिको अंश महाकवि लक्ष्मी प्रसाद देवकोटाद्वारा लिखित पागल शीर्षकको कविताको केही अंश हो । उनलाई समाजले पागल प्रमाणित गरे पश्चात् त्यसको प्रतिउत्तरमा लेखिएको कविता हो यो ।   

उनले सामाजिक, राजनीतिक स्तरमा पागल करार गरेको तत्कालीन समयमा पनि वसन्तको कोकिललाई सम्झेका छन् । सुमधुर आवाजमा नाचेको स्मरण गरेका छन् । अनेकौँ कठिनाइमा पनि देवकोटाको मस्तिष्कमा बहुला र वसन्तको संयोग नभएको भए यो हरफ लेखिँदैन थियो होला । त्यसैले पनि वसन्त ऋतुको आगमनले साहित्यकारको मात्र नभएर हामी सम्पूर्णको मन मस्तिष्कमा हर्ष, उल्लासको साथमा नयाँ नयाँ सृजनाहरू जागृत हुन्छ ।   

नयाँ सालको आगमनसँगै बितेका दिनहरूबाट भोगेका भोगाइहरूलाई शिक्षाको रूपमा ग्रहण गरेर नयाँ कामको सुरुवात गर्दै आफूलाई राम्रो बनाउन सके त्यसले परिवार, समाज, इष्टमित्र सबैमा सकारात्मक सन्देश जान्छ । अन्त्यमा बितेका क्षणहरूमा भोगेका राम्रा कुराहरूलाई लिएर अगाडि बढौँ, नराम्रा भोगाइहरूलाई शिक्षाको रूपमा ग्रहण गर्दै नयाँ सालमा, नयाँ दिनमा हाँसेका मनले दुखेको मनलाई खुसी बनाउन सकौँ शुभकामना । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *