विपन्न परिवारलाई धरानका सहकारी संस्थाहरूको खाद्यान्न सहयोग

वैशाख ६, धरान। धरानका विभिन्न सहकारी संस्थाहरूले धरान उपमहानगरपालिकालाई राहत सामाग्री उपलब्ध गराएको छन्। लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारको सहयोगका लागि सहकारी संस्थाहरूले उपमहानगरपालिकालाई खाद्यान्न सामाग्री उपलब्ध गराएका हुन्।
राहत सामाग्री जुटाउन धरान नगर सहकारी समितिका अध्यक्ष भीषण लामाको संयोजकत्वमा एक समिति गठन गरिएको थियो। उक्त समितिले विभिन्न सहकारी संस्थाहरूबाट आर्थिक रकम सङ्कलन गरेर खाद्यान्न सामाग्री खरिद गरेको हो। समितिका अध्यक्ष लामाका अनुसार धरानका ४५ वटा सहकारी संस्थाले राहत सामाग्रीका लागि आर्थिक सहयोग गरेका हुन्।
उनले सहकारी संस्थाहरूबाट संकलित रकमबाट १० हजार केजी चामल र १ हजार केजी नुन सहयोग गरेको बताए। एक द्वारमार्फत राहत वितरण भइरहेकोले सहकारी संस्थाहरूले खाद्यान्न सामाग्री उपमहानगरपालिकालाई बुझाएको हो। विपन्न परिवारको सहयोगका लागि धरानमा सहयोगी हातहरू थपिँदै गएका छन्।









