खैरहनीको राहत कोषलाई काँग्रेसको ५१ हजार सहयोग

चैत्र २६, चितवन। नेपाली काँग्रेस खैरहनी नगर समितिले राहत कोषमा आर्थिक सहयोग गरेको छ। कोरोना भाइरस नियन्त्रण र त्यसपछि उत्पन्न अवस्थालाई मध्यनजर गर्दै खैरहनी नगरपालिकाले राहत कोष स्थापना गरेको थियो।
सोही कोषमा खैरहनी नगर समितिले जनआन्दोलन सफ भएको दिन पारेर बुधवार नगद ५१ हजार रुपैयाँ सहयोग गरेको हो। खैरहनी नगर सभापति शशि कुमार खनियाले खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीलाई नगद रकम हस्तान्तरण गरे। रकम हस्तान्तरणका लागि सभापति खनियाको नेतृत्वमा सचिव हरि प्रसाद सापकोटा, सहसचिव शिला उप्रेती र नगर सदस्य तथा महिला सङ्घ खैरहनी सभापति अमृता भट्टराई नगरपालिका पुगेका थिए।
रकम हस्तान्तरण गर्दै काँग्रेस नगर सभापति खनियाले सबै मिलेर विपद्को सामना गर्नु पर्ने बताए। ‘राजनीतिक मुद्दाका विषयमा अरू वेला कुरा गर्न सकिन्छ,’ नगर सभापति खनियाले भने, ‘सबैको सहयोगले विपद्लाई पराजित गर्नुपर्छ, यो वेला राजनीति भन्दा माथि उठेर लाग्नु पर्छ।’

उनले नगर भित्रका सबै संघसंस्थालाई यथाशक्य रकम जम्मा गरेर उदारता प्रस्तुत गर्न आग्रहसमेत गरे। रकम ग्रहण गर्दै नगर प्रमुख लालमणी चौधरीले विपद्को वेला प्रतिपक्ष नभनी भावना जोडेर रकम सहयोग गरेकोमा नेपाली काँग्रेसलाई धन्यवाद दिए। प्रमुख चौधरीले प्राप्त सहयोगलाई सम्भावित जोखिम नियन्त्रण तथा विपन्न वर्गको राहतमा खर्च गरिने प्रतिबद्धता जनाए।








