बैशाख ३ गतेसम्म लकडाउनको अवधि थप्ने सरकारको निर्णय

चैत्र २४, काठमाडौं। सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले थप एक साता लकडाउनको अवधी थप गर्ने निर्णय गरेको हो। 

आइतबार बसेको कोभिड-१९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न गर्न सरकारलाई सिफारिस गरेको थियो। सोही अनुसार सरकारले  वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो।   

कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो। चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो। म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो। छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ। 

सुदूरपश्चिम प्रदेशमा ४ सहित नेपालमा जम्मा ९ जनामा कोभिड १९ को संक्रमण भेटिएको छ। धनगढीमा दुबईबाट फर्किएका एक युवाको परिवारकी सदस्यमा समेत संक्रमण देखिएपछि सरकार कोभिड १९ को स्थानीय संक्रमण भएको भन्दै संक्रमणको दोस्रो चरण सुरु भएको बताएको छ। 

सीमा, अन्तराष्ट्रीय उडान र आन्तरिक आवतजावत बन्द गरेर भाइरसको संक्रमण फैलन नदिने नीति सरकारले लिएको हो। पछिल्लो समय संक्रमण देखिएको धनगढी र बाग्लुङ क्षेत्रमा सरकारले र्‍यापिड टेस्ट गर्ने पनि निर्णय गरिसकेको छ भने सुदूरपश्चिम प्रदेश सरकारले क्वारेन्टाइनको अवधि बढाएर २१ दिन पुर्‍याएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =