क्वारेन्टाइनका लागि १ हजार बेड उपलब्ध गराउँदै होस्टल एसोसिएसन

  

काठमाडौँ । क्वारेन्टाइन निर्माणका लागि होस्टल एसोसिएसनले एक हजार बेड उपलब्ध गराउने भएको छ । कारोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि सहयोग गर्न  नेपालका होस्टल एसोसिएसनले १ हजार बेड उपलब्ध गराउने भएको हो ।   

सोमबार एसोसिएसनका अध्यक्ष भक्ति पाठकले एक वक्तव्य जारी गर्दै यस्तोे घोषणा गरेका हुन् । 

“हामीले राज्यले आवश्यक ठानेको खण्डमा कोभिड–१९ का सम्भावित सङ्क्रमितको लागि आवश्यक पर्ने क्वारेन्टाइन निर्माणको लागि आवश्यक पर्ने बेड तथा भवनहरू समेत सरकारलाई उपलब्ध गराउने निर्णय गरेका छौँ । नेपाल सरकारलाई यसै सन्देश मार्फत आवश्यक परे हाम्रो तर्फबाट जस्तोसुकै सहयोग उपलब्ध हुने समेत जानकारी गराउन चाहन्छौँ ।” पाठकद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ ।   

उनले सरकारलाई भौतिक सहयोग गर्ने निर्णय एसोसिएसनको अनलाइन बैठकले गरेको समेत उल्लेख गरेका छन् । ‘यो बेला सबै क्षेत्र, वर्ग, व्यवसायी र समुदायले सरकारलाई सहयोग गर्ने समय भएकोले कर्तब्यबोध गर्दै यो निर्णय गरिएको हो’ उनले भने ।   

एसोसिएसनका केन्द्रीय सल्लाहकार दीपक बरालले सरकारलाई आवश्यक परेको खण्डमा तीन सय भन्दा बढीलाई क्वारेन्टाइनमा राख्न सक्ने गरि संरचना उपलब्ध गराउन आफू स्वयम् समेत तयार रहेको जानकारी दिए । उनले यो विषम परिस्थितिमा होस्टल व्यवसायीहरूले थोरै सहयोग गर्दा समेत त्यसले राज्यलाई महत्त्वपूर्ण सहयोग पुग्ने ठहर गरी यस्तो निर्णय गरेको बताए । 

नयाँ बानेश्वर स्थित एभरेष्ट अस्पतालका सञ्चालक समेत रहेका बरालले होस्टलको संरचना क्वारेन्टाइनका लागि उपयुक्त हुने बताउँदै व्यवास्थापनमा पनि सहज हुने एकाले सरकारलाई बेड उपलब्ध गराउनलागेको बताए ।   

नेपालभर १२ सय भन्दा बढी होस्टल रहेका छन् । एसोसिएसनले काठमाडौँ उपत्यकाका अलावा मोरङ, चितवन, रुपन्देही र काभ्रे जिल्लामा आवश्यक पर्ने क्वारेन्टाइनका लागि बेड र भवन उपलब्ध गराउने भएको हो । 

एसोसिएसन जिल्ला समन्वय समितिका संयोजक सुनिल भेटवालका अनुसार एसोसिएसन अहिले नै एक हजार बेड उपलब्ध गराउन सक्षम छ । उनले भने, “यदि आवश्यक र्पयो भने थप सहयोग गर्न सक्छौँ ।” उनका अनुसार उपप्रधानमन्त्री ईश्वर पोख्रेललाई समेत यस्तो सहयोगको तत्परताबारे जानकारी गराइसकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =