चीनबाट स्वास्थ्य सामग्री र भारतबाट औषधि ल्याइने

चैत ३०, काठमाडौं । छिमेकी भारत र चीनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सकिने लिखित जवाफ जंगी अड्डालाई दिएका छन् । 

भारतले ६० प्रकारका औषधि दिन सकिने जवाफ दिएको छ । उसले स्वास्थ्य सामग्री भने दिन नसकिने बताएको छ । भारत स्वयं कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि संघर्षरत छ । चीनले औषधि र स्वास्थ्य सामग्री दुवै दिन सकिने भनेको छ । भारत र चीन दुवैले तत्काल उपलब्ध गराउन सकिने औषधि र स्वास्थ्य सामग्रीको सूची पठाएको हो । 

उनीहरूले सबै सामग्री एकै पटक पठाउन नसकिने भनेका छन् । भारत र चीन दुवै मुलुकले तत्काल उपलब्ध गराउन सकिने र पठाउन केही समय लाग्ने औषधि तथा स्वास्थ्य सामग्रीको सूची जंगी अड्डालाई पठाएका हुन् । दक्षिण कोरियाले आफ्ना विभिन्न औषधि उत्पादन र उपलब्ध गराउने कम्पनीको नाम दिएको समाचार अन्नपूर्णमा छ ।  

सिंगापुर र इजरायलले भने कुनै जवाफ दिएका छैनन् । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउँदा ओम्नी समूहले चरम भ्रष्टाचार गरेको भन्दै सरकारले उसँगको सम्झौता तोडेको थियो । त्यसपछि चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिने निर्णय गरेको थियो ।   

सरकारको निर्णयसँगै जंगी अड्डाले सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई लिखित पत्राचार गरेको थियो । जंगी अड्डाले पठाएको पत्रबारे चीन र भारतले औषधिलगायत अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन सकिने जवाफ दिएको हो । 

जंगी अड्डाले बनाएको खरिद इकाइले तत्काल आवश्यक पर्ने औषधि र स्वास्थ्य सामग्रीको सूची बनाइरहेको छ । उक्त खरिद इकाइमा स्वास्थ्य विभाग र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसमेत सम्मिलित छन् । औषधि र स्वास्थ्य सामग्री आवश्यकताका आधारमा क्रिटिकल र प्रायोरिटी १,२, ३ गरी ४ तहमा बाँडिएको छ । त्यस्ता औषधि र स्वास्थ्य सामग्रीलाई ३६ वटा समूहमा विभाजन गरिएको छ । 

भारत र चीनले आफूहरूले तत्काल उपलब्ध गराउने औषधि र स्वास्थ्य सामग्रीको सूचीसमेत जवाफमा पठाएका छन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले तत्काल आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूचीलाई अन्तिम रूप दिने कार्य भइरहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *