मुख्यमन्त्री पोखरेलको प्रश्न- संक्रमण नफैलँदै सामान्य उपचार हुन सकेन, महामारी फैलिए के होला ?

चैत २०, काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना नियन्त्रणमा सरकारले चालेको कदम पर्याप्त नभएको टिप्पणी गरेका छन् । 

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले कोनोरा रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग लिन र नीजि क्षेत्रसँग सहकार्य गर्न नसकेको टिप्पणी गरेको हुन् । ‘संक्रमण नफैलँदै त सामान्य उपचार समेत हुन नसकेको अवस्था छ, फैलिएमा कस्तो भयावह अवस्था होला ? उनले प्रश्न गरेका छन् ।   

मन्त्री पोखरेलले कोरोना विरुद्धको पूर्व तयारी र नियमित स्वास्थ उपचारका लागि तत्काल स्वास्थ सुरक्षा सामाग्री र उपकरणको आवश्यकता रहेको उल्लेख गर्दै बजारमा ती सामग्रीको चरम अभाव रहेको बताए । ‘पाइने सामाग्री पनि गुणस्तरका छैनन् । स्थानीय तह र प्रदेशका स्वास्थ निकायलाई बजेट दिएर पनि सामान पाउने अवस्था छैन,’ उनको तर्क छ, ‘चीन र भारत सरकारसँग राज्यले आग्रह पनि सामानकै अभावका कारणले होला सुनावाई हुन सकेको छैन ।’ 

कोरोना रोकथाम र नियन्त्रणका लागि अब ढिलो गर्न नहुने भन्दै उनले इटली र अमेरिकाका जस्ता विकसित देशले बेहोर्नु परेको पीडाबाट पाठ सिक्न जरुरी रहेको उल्लेख गरे । ‘इटली र अमेरिकाका जस्ता विकसित देशले बेहोर्नु परेको अहिले अभाव र पीडाबाट  पाठ सिक्न त सकिन्छ नै । अलमल वा आरोप प्रत्यारोपबाट महामारी विरुद्धको संघर्षमा कदापी विजय हासिल गर्न सकिँदैन । समयमै गम्भीर भएर सोचौँ,’ उनले सबैलाई अपिल गर्दै भनेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =