के राजनीति अकुत सम्पत्ति थुपार्ने र शक्ति हत्याउने खेल मात्रै हो ?

यतिबेला विश्वका सम्पूर्ण मानव जाति आफ्नो अस्तित्व रक्षाका लागि कोरोना विरुद्धको संघर्षमा होमिएका छन् । धनी, गरिब, ठूलो, सानो, पहिलो वा तेस्रो, विना भेदभाव महामारीले सबैलाई चुनौतिको पहाड तेर्साईदिएको छ ।  

आफूलाई धनी, समृद्ध र शक्तिशाली ठान्ने विकसित देशहरुमा समेत कोरोनाले पारेको डरलाग्दो असर र त्रासले हामी जस्तो अल्पविकसित र गरिब देशहरुले झनै धेरै संयमित हुनुपर्ने देखिन्छ ।  

हाम्रै छिमेकी देश चीन, जो विश्वमै शक्तिशाली देशहरुको सूचीमा अग्र पंक्तिमा आउँछ । ऊ नै कोरोनाबाट सबैभन्दा पहिले ठूलो क्षतिको भागिदार बन्यो ।  

अन्य विकसित र शक्तिशाली मानिएका राष्ट्रहरुले समेत कोरोनाबाट ठूलो क्षति व्यहोरिरहनु परेको छ । जबकी उनीहरुले ठूलो मानवीय क्षति नहोस् भनेर सजगताका विभिन्न उपायहरु अपनाइरहेका छन् भने सरकारप्रति नागरिकको विश्वास आर्जन गर्न पनि आफ्नो सम्पूर्ण क्षमता लगाएर काम गरिरहेका छन् ।  

विश्वभर कोरोनाले त्रसित र भयावह परिस्थिति निम्त्याइरहेको सन्दर्भमा हामी जस्तो गरिब मुलुक जोसँग आफ्नै पर्याप्त स्रोत साधन छैन, यस्तो अवस्थामा झनै देशले बढी सजगता र सचेतता अपनाउनु जरुरी देखिन्छ । तर त्यो हुन सकेको छैन । किनकी हाम्रो देशको राजनीति जहिलै संक्रमणकालीन अवस्थाको जस्तो । के नपुगेको जस्तो ।  

राज्य सञ्चालकहरुको प्रवृत्तिबाट सरकार छ भन्ने महसुस समेत गर्न सकिएको छैन ।  

छ न त अहिले जनताले विश्वास गरेर बनाएको बहुमतको स्थायी सरकार छ । तर पनि जनतालाई आपतकालीन अवस्थामा हामी सक्षम छौँ भनी आश्वस्त गराउन सकेको देखिँदैन ।  

विभिन्न देशबाट आउने सहयोग, राहत वा उपकरण खरिद प्रकृयाको पनि व्यवस्थापन गर्न नसकी पारदर्शिता र जवाफदेहिताबाट पटक–पटक चिप्लिँदा जनताले गरेको भरोसामाथि नै धोका भएको छ।  

जनताले बुझेर सरकारलाई साथ दिएकै छन्, तर जनताले भने आश गरेका कुरा सरकारबाट कहिल्यै पाउन सकेनन् । क्षेत्रफल र जनघनत्वका हिसाबले पनि यति सानो देश, जहाँ तीनै तहका सरकार क्रियाशिल छन् । तर काम कसको पक्षमा कसका लागि भइरहेको छ ? परिणाम खै ? भनेर हेर्दा पटक्कै चित बुझ्दो छैन । 

आम नागरिकहरु जसोतसो गुजारा गरि सरकारले घोषणा गरेको  ‘लकडाउन’ लाई सहयोग गरिरहेका त छन् तर उता दैनिक सञ्चारमाध्यमबाट आउने खबरहरुले बेचैन बनाएको छ ।  

मेडिकल उपकरण खरिदमा भ्रष्टाचार, सीमा नाकामा नागरिकको कोलाहल, ज्वरो र निमोनियाको स्याहारको अभावमा पति र बाबा गुमाउन विवश परिवार, अनि राहतको आशमा विवश दैनिक मजदुरि गर्ने उत्पीडित जनताको छटपटाहट देख्दा सरकारको असक्षमतामाथि प्रश्न स्वभाविक रुपमा जन्मन्छ । 

सरकारको विरिोध गर्ने कसैको रहर हुँदैन । रक्षकहरु नै भक्षक भएपछि यो जनताको बाध्यता हो । राणा र निरंकुश राजखानदानहरुको गलत प्रवृत्तिको विरोध गर्ने रहर न अहिलेका प्रधानमन्त्रीको थियो न पुष्पलाल, मदन र गंगालालहरुको नै थियो तर विरोध गर्न शासकहरुले बाध्य पारे ।  

यो सरकारविरुद्ध बोल्ने बेला होइन, सहयोग गर्नुपर्छ भनेर सोचिरहँदा यही सरकारका रक्षकहरुका व्यवहार, बोली र कार्यशैली हेर्दा विरोध नगरिरहन कुन नेपालीले सक्ला र ?  

कठै यीनको चेत कहिले खुल्ने होला ? देश र जनताको एक मात्रै हित र कल्याणमा अहोरात्र सोच्ने र खट्ने राजनेता हामीले कहिले पाउँला ?  

सोचौँ त ! के राजनीति आफ्नो लागि सकेजति धनसम्पति र शक्ति हत्याउने खेल मात्रै हो र ? शक्तिमा बसेकाहरुको जनताप्रति कुनै जिम्मेवारी छैन ? अहँ पटक्कै होइन । यो त आफ्ना नागरिकका सर्वोपरि हित र खुशीका लागि आफूले जोखिम लिएर गरिने महान र उत्तम कार्य हो । जुन कार्य नेल्सन मण्डेला, गान्धी, अम्बेडकर, बी.पी., मदन र गणेशमानहरुले गरे । 

पछिल्लो समयमा निरंकुश भनिएका राजाले जनताको आवाजलाई सहज रुपमा स्वीकारे । तर हाम्रा नेताहरुले फेरि तिनै राणा र राजाहरुको भन्दा निच काम गरेको देख्दा त लाग्छ जनताले सोच्ने बेला आयो ! 

मेनु हेरेर मःम र चाउमिन मात्रै होइन अब जनताले अरु डिश खोज्नैपर्छ । मःम र चाउमिन दुबै हाम्रा लागि हानिकारक हुन् । जस्तो फ्लेभरमा खाए पनि यसले हाम्रो हित नगर्ने पक्का देखियो । 

अहिलेको विश्वब्यापी महामारीमा जनता र राज्यप्रति विश्वासघात गरी सत्ता, शक्ति र पहुँचको बलमा अनैतिक कामबाट धन कमाउनेहरु शीघ्र दण्डित हुनैपर्छ ! 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *