स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नदेखेका प्रतिष्ठानहरु: कुनै नेतृत्वविहिन, कुनै कार्यकर्ता भर्ति केन्द्र

चैत्र १९, काठमाडौं । तत्कालिन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य जनसंख्या मन्त्रालयको समुचित व्यवस्थापन गर्न नसकेको भन्दै सक्षम र युवा स्वास्थ्यमन्त्री नियुक्त गरेका प्रधानमन्त्री के.पी.शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविच नै आपसी समन्वयको अभाव देखिनाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अस्तव्यस्त बन्न पुगेका छन् । 

हाल मन्त्रालयको ध्यान कोरोना संक्रमण रोक्नेतिर केही प्रभावकारी रहेको देखाउन मन्त्री ढकालले प्रयत्न गरेतापनि मन्त्रालय अन्तर्गत सबैभन्दा बढी पूँजीगत विनियोजन हुने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुका सम्बन्धमा भने पूर्णतः वेवास्ता गरेको आरोप लाग्न थालेको छ ।   

झन पछिल्लो समय कोरोना सामग्री खरिद गर्न नेपाली सप्लायर्सलाई वाइपास गर्दै नामै नसुनेको कम्पनीसँग सेटिङ गरी राज्यको करोडौं बजेटमा चलखेल गरेको भन्दै मन्त्री ढकालको चौतर्फि विरोध भइरहँदा उनले त्यसको उचित जवाफ समेत दिन आनाकानी गरिरहेका छन् । यसलेपनि ढकाललाई अलोकप्रिय बनाउँदै लगिरहेको छ । अहिले प्रतिपक्षले समेत मन्त्री ढकालको कार्यक्षमतामा समेत प्रश्न उठाउन थालेका छन् । संभवतः कोरोना भाइरस महामारी नियन्त्रणपछि संसदमा सबैभन्दा बढि आलोचना ढकालकै होला ! 

अहिले समग्र राज्यको ध्यान कोरोना भाइरस रोकथाम र नियन्त्रणमा लागेको बेला स्वास्थ्य मन्त्रालय अन्र्तगतका यी प्रतिष्ठानहरु तर्फ कसैको ध्यान गएको छैन ।   

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान   

स्वास्थ्यमन्त्री ढकाल नियुक्त हुनु अगावै देखी यो प्रतिष्ठानको उपकुलपति पद रिक्त थियो । तत्कालिन उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई ८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गर्नाले उनी निलम्बित थिए । प्रधानमन्त्री केपी ओलीसँग मतभेदका कारण तत्कालिन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नयाँ उपकुलपति नियुक्ति प्रक्रिया अगाडी बढाएनन । 

उपेन्द्र यादवको सत्ता बर्हिगमनसँगै कानुन तथा न्याय मन्त्रालयसँगै मन्त्री ढकालले स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएर उपकुलपति नियुक्ति प्रक्रिया अगाडी बढाएर ऐन वमोजिम ३ जनाको नामसमेत सिफारिस गरेर प्रधानमन्त्रीकोमा पठाएको महिनौं बितिसक्दा समेत वीपी प्रतिष्ठानको उपकुलपति नियुक्ति हुन सकिरहेको छैन ।   

प्रधानमन्त्री ओली मृगौला फेर्न अस्पताल भर्ना हुने अघिल्लो दिन शिक्षा मन्त्रालय अन्तर्गतका सबै विश्वविद्यालयका रिक्त पदहरुमा नियुक्ति गरेतापनि मन्त्री ढकालले वीपी प्रतिष्ठानको उपकुलपति नियुक्ति गराउन सकेनन । तत्कालिन उपकुलपति डा. रौनियारले १४ करोड बुझाएर नियुक्ति लिएको आरोप लाग्ने गरेकोमा यो प्रतिष्ठानको मात्र नियुक्ति रोकिँदा वर्तमान सरकारले समेत वीपी प्रतिष्ठानको उपकुलपति नियुक्तिमा पदको लिलाम बढाबढ गर्न थालेको आशंका गर्न थालिएको छ । उपकुलपति नियुक्ति नहुँनाले प्रतिष्ठानका करिब ५ अर्बका आयोजनाहरु थन्किएका छन् भने शिक्षक र कर्मचारीको तलव बृद्दी र स्तरोंन्नत्ति, अस्पताल सेवा विस्तार, शैक्षिक कार्यक्रमहरुको विकाश तथा विस्तार लगायत सबै क्रियाकलाप महीनौ देखि ठप्प छन् ।   

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान   

यो प्रतिष्ठानका प्रायः सबै पदाधिकारीहरु भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाउन व्यस्त छन् । स्थापनाको बर्षौं पछी मुस्किलले केही स्नातकोत्तर अध्यापनको कोटा पाएको यो प्रतिष्ठानले आफ्नो स्थापनाको उद्देश्य वमोजिम शिक्षा, सेवा र अनुसन्धान तिनवटै क्षेत्रमा कुनै प्रगति गर्न सकेको छैन । पोखरा प्रतिष्ठान यतिबेला सत्तारुढहरुकालागि कार्यकर्ता भर्ति गर्ने भर्ति केन्द्र भएको छ । यहाँका पदाधिकारीहरु राज्यबाट विलासी सेवा सुविधा लिन मै लिन भएका छन् । स्वास्थ्यमन्त्री ढकालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र विस्तारप्रति कुनै चासो देखाएको संकेत देखिदैन । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान  

यो प्रतिष्ठानमा एकातिर सरकारले बजेटको नाकाबन्दी लगाएको देखिन्छ भने अर्कोतिर पदाधिकारीहरुको आपसी द्वन्द्वले प्रतिष्ठान आक्रान्त बनेको छ । प्रा.डा. विश्वनाथ यादव प्रतिष्ठानका बहालवाला शिक्षाध्यक्ष हुन् तर, उपकुलपति प्रा.डा. संगिता भण्डारीसँगको मतभेदले ६ महीना देखि दाङमा देखिएका छैनन् । उनी ‘वेतलबी गयल शिक्षाध्यक्ष’ बनेका छन् । 

प्रतिष्ठानमा आजका मितिसम्म कुनै शैक्षिक कार्यक्रम शुरुहुन नसक्नु र सेवा वृद्दिमा समेत कुनै प्रगति नहुनुले प्रतिष्ठान स्थापनाको लक्ष्य बाटोमै हराएको देखिन्छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र तत्कालिन सभामुख कृष्ण बहादुर महराको कार्यक्षेत्रमा रहेको यो प्रतिष्ठानको दुर्गतिमा यिनै दुई नेताको हात रहेको आम दंगालीहरुको धारणा रहेको छ । मन्त्री ढकालले यो प्रतिष्ठानको पूर्णतः वेवास्ता गरेको देखिन्छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान   

प्रतिष्ठानका पदाधिकारीहरुको मुख्य कार्यनै चिकित्सक कर्मचारी भर्ती गर्नु र प्रायः जसो काठमाडौंमा बसेर कार्यकाल विताउनु मात्र छ । सरकारले दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा बर्षेनी करोडौं बजेट विनियोजन गरेपनि त्यो बजेट तलब सेवा सुविधामै सकिएको छ । कर्णाली प्रतिष्ठानमा सक्षम पदाधिकारीहरुको अभावले दिनप्रतिदिन अधोगती तर्फ ढकेलिँदै गएको छ ।   

प्रतिष्ठानमा मासिक ३ लाख ५० हजार भन्दा बढी तलव र अनेकौ सुविधा लिने उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेले आफु नियुक्ति भएदेखि कुनै भौतिक संरचनाको विकास गर्न सकेका छैनन् । उनले चिकित्सा शिक्षाको एमविविएस र एमडिएमएस कार्यक्रमहरु शुरु गर्ने समाचारहरु बेला–बेला प्रकाशित गराएर कर्णालीवासीलाई गुमराहमा राखेर आफ्नो कार्यकालको दुई तिहाइ समय व्यतित गर्नु वाहेक केही गर्न सकिरहेका छैनन् ।   

यस प्रतिष्ठानमा यति धेरै जनशक्ति भर्ति गरिएको छकि, कहिले काँही एक विरामी बराबर दश जना स्वास्थ्यकर्मी हुन्छन । कैयौं कर्मचारीको भर्ती विना विज्ञापन र विना दरबन्दी राजनैतिक दवावमा गरिएको छ । सञ्चालन खर्च धान्न नसकेरै प्रतिष्ठान डुब्ने अवस्थामा पुगेको छ । प्रतिष्ठान भित्रको चरम अव्यवस्था सम्बन्धमा मन्त्री ढकाल अनविज्ञ देखिन्छन् । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)   

चरम आर्थिक अनियमितताका समाचारहरु आइरहने यो प्रतिष्ठानको मुख्य समस्या भनेकै चुस्त व्यवस्थापनको अभाव हो । नेपाल सरकार र प्रतिष्ठान तर्फ गरि दुइ प्रकारका कर्मचारी रहेका र ३० भन्दा बढी कर्मचारी संगठन रहेको यो प्रतिष्ठान सदैव माछाबजारको हालतमा देखिन्छ । उपेन्द्र यादव स्वास्थ्यमन्त्री भएका बेला नियुक्ति भएका उपकुलपति डा. डिएन शाह नाममात्रका उपकुलपति भएका छन् । 

चरम गुटवन्दी, कर्मचारीतन्त्र र मेडिकल माफियाहरुको चंगुलमा रहेको न्याम्सलाई सुधार्न मन्त्री ढकालको ध्यान जानै सकेको छैन ।   

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान   

अन्य प्रतिष्ठानहरु भन्दा निर्विवाद रूपमा चल्ने एक मात्र प्रतिष्ठान रहेतापनि स्वास्थ्य मन्त्री ढकालले यसको सेवा र शिक्षा क्षेत्रको विकासको निमित्त कुनै चासो देखाएको देखिँदैन । प्रतिष्ठानमा शैक्षिक कार्यक्रम थप्न, गुणस्तरीय स्वास्थ्य सेवा अभिबृद्दि गर्न सरकारले खासै योगदान गरेको छैन । विगत तीन वर्षयता प्रतिष्ठान चल्नको लागि चलिरहेको मात्र छ । नयाँ काम भएको छैन । मन्त्री ढकालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको श्रीबृद्दिमा ठोस कार्यक्रम दिइरहेका छैनन् ।   

प्रस्तावित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान   

सप्तरीमा तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पहलमा स्थापना गर्न खोजिएको यो प्रतिष्ठानमा प्रारम्भिक तयारीको निमित्त ४० करोड रुपैंया सरकारले विनियोजन गरेतापनि कुनै कार्य अगाडी नबढेर गर्भमै तुहिने अवस्थामा छ । अझ शिक्षामन्त्री गिरिराजमणी पोखरेलको बर्दिवासमा अर्को प्रतिष्ठान बनाउने सोचले यो प्रतिष्ठानको स्थापनार्थ ऐन जारी गर्ने सम्बन्धमै सहमति जुटाउन मुस्किल देखिन्छ । पछिल्लो समय प्रतिष्ठानको पूर्वाधान विकासका लागि तयार पारिएको जग्गामा विवाद आएपछि रामराजा प्रसाद प्रतिष्ठान संकटमा परेको छ ।   

स्वास्थ्यमन्त्रीमा देखिएको अहमता 

मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएर मन्त्री समेत बन्न सफल ढकाल निवर्तमान सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाकै पथमा हिँडेको अनुमान छ । स्वास्थ्यमन्त्री ढकाल सञ्चारमाध्यमसँग बाँस्कोटा कै जस्तो त हैन केहीहदसम्म उनकै शैलीमा झर्कन थालेका छन् । पत्रकार सम्मेलनमा कुनै पत्रकारले कडा प्रश्न सोधे जवाफ दिँदैनन् । सकेसम्म पत्रकार सम्मेलनमा दोहोरो सवाल जवाफ दिन नपरोस भन्ठान्छन् । स्वास्थ्य मन्त्रालय सम्हालेको सयदिन पुगेको अवसरमा मन्त्री ढकालले पत्रकार सम्मेलन गर्दै ‘अचानक आइ परेको विपत्ति’ अर्थात कोरोना भाइरसले गर्दा आफ्नो सेड्युल नै विग्रिएकोले काम गर्न सकिन भने । 

 विश्वब्यापी रुपमा कोरोना फैलिँदै गएपछि चीनबाट सरकारले १७५ नेपाली नागरिकलाई प्लेन चार्टर गरेर नेपाल ल्याएर १४ दिन क्वारेन्टाइनमा राख्न मन्त्री ढकालले थोरैभए पनि भूमिका खेलेकाले सञ्चारकर्मी र नागरिक समाजले मन्त्री ढकालले स्वास्थ्य क्षेत्रमा केही गर्छन् भनेर आशपनि गरेका थिए । त्यहि भएर होला मन्त्रालय संहालेको सय दिनसम्म उनले गरेका थोरै काममा आम जनता सन्तुष्ठ नै भए । तर, जसै कोरोनाले मुलुकलाई आक्रान्त बनाउँदै लग्यो, स्वास्थ्यमन्त्री र सरकारले कोरोना रोकथामका लागि गरेका कामहरु ‘हावागफ’ मात्र देखिए । त्यसमाथि भर्खरै चाइनाबाट दर्ता नै नभएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल (ओबिसिआइ) मार्फत विना टेण्डर १ अर्ब २४ करोड ६८ लाख रुपैंयामा चर्को मुल्यमा कोरोना सामग्री खरिद गर्ने निर्णय गरेर मन्त्री ढकालले स्वास्थ्य क्षेत्रमा ब्रम्हलूट मच्चाएको आरोप छ ।   

मुलुक कोरोना भाइरसको आतंकबाट गुज्रिरहेको समय जनतालाई छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने दायित्व बोकेका मन्त्री नै अनियमिततामा मुछिएपछि सरकारलाई झन अलोकप्रिय बनाएको छ भने, मन्त्री ढकालले जतिनै पटक ‘भ्रष्टाचार गरेर एक रुपैंया पनि कमाउँदिन’ भन्नु मिथ्या सावित भएको छ । स्वास्थ्य क्षेत्रको कायापलट गर्छु भन्दै स्वास्थ्य मन्त्रालय संहालेका मन्त्री ढकाल दिनप्रतिदिन अलोकप्रिय त हुँदैछन् असफल पनि हुँदैछन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twelve =