सरकारविरुद्ध कुप्रचारको ‘फर्मुला’ प्रयोग हुँदैछः मुख्यमन्त्री पोखरेल

चैत २२, बुटवल। प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारलाई बदनाम गराउने प्रयास भइरहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्यमन्त्री पोखरेलले कतिपय सञ्चारमाध्यमले नियोजित रूपमा सरकारविरुद्ध कुप्रचारको ‘फर्मुला’ प्रयोग गरेको टिप्पणी गरे।
उनले सरकारविरुद्ध षड्यन्त्रपूर्ण र नियोजित समाचारबाट समाजमा भ्रमको अवस्था सिर्जना गराउने प्रयास भएको बताए। यो राष्ट्रका लागि ठूलो दुर्भाग्य हुनेसमेत मुख्यमन्त्री पोखरेलको भनाइ रहेको छ।
पछिल्ला दिनमा सञ्चारमाध्यममा कोरोना भाइरस नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य उपकरणका अनियमितता भएका समाचारहरू प्रकाशित भइरहेका छन्। सोही विषयतिर लक्षित गरी उनले नियोजित कुप्रचारले कोरोनाविरुद्धको सङ्घर्षसमेत प्रभावित हुने औँल्याए।

दासढुंगा हत्याकाण्डको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्, ‘दासढुंगा हत्याकाण्डको केही समयपछि तत्कालीन समयमा प्रकाशित हुने जनधारणा साप्ताहिकमा उक्त हत्याकाण्डको रहस्य उजागर गर्ने नाममा काल्पनिक कथा रचेर तत्कालीन एमाले नेतृत्वलाई बदनाम गर्ने नियोजित षडयन्त्र रचिएको थियो। पछि त्यस षड्यन्त्रको पटाक्षेप भयो र पत्रिकाको पनि अवसान भयो।’
उनले अगाडि थपेका छन्, ‘यति बेला कतिपय पत्रिका र अनलाइनहरूका नियोजित समाचारहरूको शृङ्खला हेर्दा सरकारविरुद्ध त्यही फर्मुलाको प्रयोग हुँदैछ जस्तो देखिन्छ। कुनै पनि कामका सन्दर्भमा जोडिएर उठेका प्रश्न र आशंकाको जवाफ जिम्मेवार व्यक्तिहरूले दिनु नै पर्दछ। तर षड्यन्त्रपूर्ण र नियोजित समाचारहरूबाट समाज नै भ्रमित हुने अवस्था सिर्जना भयो भने त्यो राष्ट्रका लागि ठूलो दुर्भाग्य हुन्छ।’
मुख्यमन्त्री पोखरेलले आशंका र भ्रम निवारण गर्दै कमजोरी भए सुधार गर्नसमेत आग्रह गरेका छन्।








