कमाउन हिँडेका हामीहरु दुई ढुङ्गा बिचको तरुल जस्तो न यताको न उताको

आज कोरोना कोविड–१९ को लकडाउनमा संयमित भई घर बस्न लागेको पनि आज चार हफ्ता बितिसकेछ । यस अवधीमा थुप्रै उतारचढावहरु देख्ने अवसर प्राप्त भयो । पहिला पहिला मलाई लाग्थ्यो कि म त विश्वको सबैभन्दा सम्पन्नशाली देश बेलायतमा छु त्यसैले म निडर निर्धक्क आफ्नो दिनचर्या अघि बढाइरहेको अवस्थामा थिएँ । 

हुन पनि किन नहुनु नेपाल देखि भारत लगायत विश्वका ७ वटा देश मा मैले आफ्नो कार्यकौशलता उच्च मनोवलका साथ प्रदर्शन गर्न पाएको थिएँ ।बाल्यकाल देखि सामाजिक सेवा र समाजको सहि रुपान्तरण हुन पर्छ भन्ने धारणा साथ अघि बढ्दै गर्दा र आफ्नो दिनचर्याबाट बचेको समय सामाजिक कार्यमा समर्पण गर्दै गर्दा मलाई विभिन्न विचार र आस्था राख्ने साथीहरूको सहयोग र सद्भाव बटुल्ने अनुभव पनि भयो । 

धन्य छौ भगवान् प्रकृतिको संरक्षक तिमी मैले आफ्नो जिन्दगीमा चाहेका र अनुभुती गर्न खोजेका हरेक पहलुमा एक पछि एक गर्दै सफलता दियौ । मैले आफ्नो बुद्धि, बल, विवेक र क्षमताले भ्याएसम्म जति गर्न सके त्यसैमा म आफुलाई गौरवान्वित महसुस गरेको छु । 

जिन्दगीको गोरेटो पछ्याउँदा पछ्याउँदै २००४ तिर म युकेमा पदार्पण गर्न सफल भए । हुन त मेरो भित्री मनको चाहना नेपाल मै बसी ब्यवसाय गर्ने थियो तर, नेपालको राजनैतिक परिवेश र ब्यवसाय गर्ने दाजुभाइहरुको परामर्श र सल्लाहले मलाई यता हुत्याएको थियो । 

विश्वको शक्तिशाली, प्रजातान्त्रिक मुल्य र मान्यताको जननी बेलायतमा आइ आफ्नो सन्ततीलाई उच्च शिक्षा गराउने मेरो सपना साकार हुने एकातिर संभावना बोकेको भविष्य र आफ्नो देशमा बसि आफ्नै देशको छत्रछाँयामा रमाउने मेरो मनको चाहना दुबैको कुस्ती यस मानसपटलमा नबजेको होईन । तरपनि धेरै जिम्मेवारीको बिचमा मैले आफ्नो चाहनालाई उज्ज्वल भविष्यको खाडलमा आहुती दिएकै हो । 

विगत १४ बर्ष बेलायतमा ब्यक्तिगत तथा सामाजिक उतारचढावका बिच बिते । सम्पुर्ण सहयोगी मित्रहरू, सामाजिक अभियानका सहकर्मी साथीहरू, ब्यवसायी, बुद्धिजीवी तथा स्वदेशी विदेशी सहयोगी हरुमा मेरो हार्दिक अभिवादन नमस्कार । 

हिजोका दिनहरु सम्झी ल्याउदा कति उतारचढाव आए गनेर साध्य छैन । हराभरा खेतीयोग्य जमिन जसले वर्षभरी खान पुग्थ्यो आज उजाड भएका छन । लाखौ लाख खर्च गरेर बनाइएका ती छ सुरे घर हरु खण्डहरमा परिणत भएका छन । छोरो ठुलो होला र मलाई स्याहार सुसार गर्ला भनी सपना बोकेका ती आमाबुवाहरुका सपनाहरु चकनाचुर भएका छन । अहिले उहाँहरुलाई ओखती मुलो गर्ने कोहि पनि ती गाउँहरुमा छैनन् ।   

हिजो क ख ग घ सिकेर विश्व हाँक्न सक्ने बनाएका ती स्कुल हरुले मर्मत संहार पाएका छैनन् । कमाउने होडबाजीमा हिँडेका हामीहरु दुई ढुङ्गा बिचको तरुल जस्तो नत विदेशी हुन सकेका छौं नत स्वदेशी । जसको उज्ज्वल भविष्यको सपना बोकेर हामी यहाँ आयौ ती नाबालक बच्चाहरु पनि अहिले दोधारमा छन म नेपाली हो कि ? विदेशी भनेर ? यो प्रश्नको रहज उत्तर हामी सँग छैन ।   

गाउँघर छोड्यौं, इष्टमित्र छोड्यौं, दाजुभाइ दिदिबहिनी छोड्यौं, देश छोड्यौं, आफ्नो सभ्यता, धर्म अनि आफुलाई जन्माउने आमाबुवा लाई छोड्यौं केका लागि ? धन सम्पत्तीको लागि वा अरु कुनै ? 

बिहान उठेर नुहाउनु पर्छ, सुर्यलाई अर्घ दिएर खानु पर्छ, खाना भन्दा पहिला हात धुनपर्छ र अग्निलाई चढाएर खानु पर्छ भन्ने हाम्रो पुर्खाले दिएको जीवन पद्धतिलाई तिलान्जली दिएर परदेशीको सिको गर्न निस्केका हामी आज कुन संघारमा आइपुगेका छौं ? हिसाब गर्ने बेला आएन र ? 

नाकावन्दी भयो हामीले सजिलै भुल्यौं, भुकम्प आयो हामीले सजिलै भुल्यौं, भगवानले पनि ३ पटक माफ गर्नुहुन्छ रे । यो कोरोना तेस्रो चेतावनी हो जस्तो लाग्छ । अब त जागौं अनि केही गरौं । 

यति संमृद्धशाली देशमा आएर स्थायित्व गर्ने हामी आफ्नै घर परिवारको साथमा मृत्युको भयले त्रसित छौं भने ती अस्ताउन लागेका जुन जस्ता आमाबुवाहरुको के हालत होला ? हामी जति हाम्रो र हाम्रो सन्ततीको लागि चिन्तित छौं त्यहाँ भन्दा कैयन गुणा बढी ती बयोबृद्ध आमा बुवाहरु हाम्रा लागि चिन्तित हुनुहुन्छ । 

बिहान उठ्यो समाचार हेर्यो यति बिरामी, यति श्रद्धाञ्जली मात्रै सुनिन्छ  । कोरोनाले विश्व त्रसित भएको बेला पनि आफ्नो ज्यानको बाजि लगाएर पैसाको लागि मौका छोप्ने तथा सरकारले बिपत्तिमा परेकालाई सहयोग गर्न दिएको नगद जिन्सीहरु कुम्ल्याउने हरुलाई देख्दा दया लाग्छ । उनीहरुको कूकृत्य हेर्दा लाग्छ तिनीहरुले मर्न पर्दैन, अजम्बरी छन । 

शक्तिशाली देशले कमजोर देशलाई हेप्ने प्रवित्ति, धन कमाएकाले गरीवलाई हेप्ने प्रवृत्ति बढीरहेको बेला कोरोना महामारी एक सन्देश बनेर आएको छ । बिना हात हतियार विश्वलाई चुनौती दिएको छ । हामीले अरुलाई सत्तोसराप गर्छौं, अर्काले यो गरेन, उ गरेन भनेर गाली गर्छौं । अब अर्कोलाई गाली गर्ने होईन कि, मैले वा हामीले के गर्यौं भनी हिसाब गर्ने समय आएको छ । 

कोरोना शुरु हुँदा अर्को देशलाई गाली नगरी अमेरिका र बेलायत जस्ता देशहरु सतर्क भएको भए सायद यति धेरै ज्यान जाने थिएन होला । (भनिन्छ नि, मर्नुभन्दा बहुलाउनु निको) यस अर्थमा यी विकशित देश भन्दा नेपाल कै शासकहरुले जान अन्जानमा सहि निर्णय लिए जस्तो लाग्छ । अहिले बेलायत र अमेरिका मर्नुकी बहुलाउनुको अवस्थामा छन् । 

अहिलेको जटिल परिस्थितिमा घर मै बसौं, सक्छौ समस्यामा परेका असहायहरुलाई तन, मन वचन र कर्मले सहयोग गरौं । सक्दैनौ असहयोग नगरौं ।  

सरकारले सबैलाई सुरक्षित रहन उचित मार्गदर्शन गरेकै छ । उच्च निकायहरुले आफ्नो पदीय जिम्मेवारीलाई निभाएकै छन । डाक्टर र नर्सहरुले आफुलाई उच्च जोखिममा राखेरै सेवा दिएकै छन् । फेरि पनि हामी गाली गलौज र आरोप प्रतयारोपमा व्यस्त छौं किन ? कसका लागि ? के हामी अजम्वरी हौं ? के हाम्रो केही दायित्व छैन ? 

नोटिघम यु के  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *