मन्त्रिपरिषद् बैठक : मन्त्रीलाई थप जिम्मेवारी, निजी डाक्टलाई सरकारी सरह सुविधा, थप ७ दिन होम क्वारेन्टिन

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड१९) को रोकथाम तथा नियन्त्रणका लागि बनेको समिति भन्दा बाहिर बसेका मन्त्रीहरुलाई थप जिम्मेवारी दिएको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले समिति बाहिरका मन्त्रीहरुलाई थप जिम्मेवारी दिएको हो।   

यसरी  जिम्मेवारी दिइएका मन्त्रीहरुमा बसन्त नेम्वाङ, पद्मा अर्याल, शक्ति बस्नेत, वर्षमान पुन अनन्त, रामेश्वर राय यादव, बिना मगर, शिवमाया तुम्बाहाम्फे, पार्वत गुरुङ र जगत विश्वकर्मा छन् ।   

प्रवक्ता खतिवडाका अनुसार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १ को जिम्मेवारी दिइएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेशको जिम्मेवारी दिइएको छ ।   

Image may contain: one or more people, people sitting, table and indoor

यस्तै, वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेशको जिम्मेवारी दिइएको छ भने उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनलाई प्रदेश नम्बर ५ को जिम्मेवारी दिइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई प्रदेश नम्बर २ को समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।   

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले सुदूरपश्चिमको समन्वय गर्ने जिम्मेवारी पाएकी छन् । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेलाई संसदमा भएका राजनीतिक दलहरुसँग निरन्तर संवाद र समन्वय गर्ने जिम्मेवारी पाएकी छन् । 

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई महिला, बालबालिक र जेष्ठ नागरिकहरुको अवस्थाको विषयमा जानकारी लिन तथा  समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।   

यस्तै, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई स्वयम सेवक व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।   

निजी अस्पतालका डाक्टरलाई पनि सरकारीसरह सुविधा कसरी ? 

यस्तै आज बसेको बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालहरुमा आएर काम गर्न इच्छुक निजी डाक्टरहरुलाई पनि सरकारी डाक्टरसरहको  सेवा सुविधा दिने निर्णय गरेको छ । 

सरकारी अस्पतालमा आएर सेवा गर्न इच्छुक नीजि डाक्टरहरुलाई सम्बन्धित तह अनुसार अवसर दिइने प्रवक्ता डा. खतिवडाले जनाए ।   

डा. युवराज खतिवडाले बैठकका निर्णयबारे जानकारी दिँदै भने, ‘निजी क्षेत्रका चिकित्सकहरुले पनि सरकारी अस्पतालहरुमा आएर काम गर्न चाहेमा वा काम गर्न खोजेमा सम्बन्धित तहअनुसार मिलान गरेर काम गर्न अवसर दिने र उहाँहरुले पाउने सुविधा सरकारी चिकित्सकहरुले पाउनेसरहको हुने छ र उहाँहरुको तह पनि त्यसैअनुसार मिलाइने छ ।’ 

उनले कोरोना नियन्त्रण तथा रोकथाममा खटिने चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उकास्न सत प्रतिशत भत्ता दिने निर्णय भने यसअघि नै गरिसकेको जानकारी दिएका छन् । 

थप ७ दिन थप ‘होम क्वारेन्टिन’मा किन ? 

यस्तै बैठकले कोरोना संक्रमितसँगको सम्पर्कमा रहेका तथा बाहिरबाट आएका जोकोहीले अबदेखि १४ दिन क्वारेन्टिनमा बसे पछि पनि थप ७ दिन  ‘होम क्वारेन्टिन’मा बस्नुपर्ने निर्णय गरेको छ। 

सरकारका प्रवक्ता डा. खतिवडाले भने, ‘संक्रमणको जोखिम देखिएकाहरू १४ दिन क्वारेन्टिन बस्ने व्यवस्थालाई परिमार्जन गरिएको छ, १४ दिनपछि र्‍यापिड डाइगोनोस्टिक टेष्ट गरेर थप सात दिन उहाँहरू ‘होम क्वारेन्टिन’मा अनिवार्य रूपमा बस्नुपर्ने हुन्छ।’ 

उनले त्यसको सुनिश्चित गर्ने काम भने स्थानीय तहले गर्ने व्यवस्था मिलाएको बताए । 

यस्तै बैठकले बैशाख ३ गतेसम्मका लागि लकडाउनको समयावधि पनि थप गरेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =