कोरोना कहरले निम्त्याएको असर र निकासका उपाय

चीनको वुहानबाट शुरु भएको कोभिड-१९ विश्वब्यापी भएको चार महिना वितिसक्दा पनि नियन्त्रणमा आउन सकिरहेको छैन । नेपाल पनि यो महामारीबाट अछुतो रहन सकेन । नेपालमा अहिलेसम्म ३१ जना कोरोना संक्रमित भेटिएकामा ३ जना पूर्णरुपले निको भएर घर फर्किइसकेका छन् । बाँकी उपचाररत छन् । 

बैशाख ७ गते अर्थात हिजोको दिनसम्म आइपुग्दा नेपालमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा मात्र प्रवेश गरेको देखिएको छ । विश्वमा हिजो रातीसम्मको गणनामा करिब एक लाख ६५ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने, यो महामारी बाट २१० देशका २३ लाख मानिस आक्रान्त छन् ।  

युरोप, अमेरिका, चीन, इटाली, स्पेन जस्ता विकसित देशमा यसले पारेको प्रभाव हेर्दा कोरोना भाइरस सताब्दीकै शक्तिशाली भाइरस मान्न सकिन्छ । नेपाल जस्तो विकासोन्मुख देशमा यसले भर्खरै दोस्रो चरण पार गर्दा हामीले अपनाएको सामाजिक दुरी र रणनीति केही हदसम्म सफल भएको भन्न सकिन्छ । आशा छ, सरकारले चालेको रणनीति सफल होस । कोहीपनि नेपालीले कोरोनाको महामारीबाट ज्यान गुमाउनु नपरोस । 

नेपाली समाजमा पारेको असरकोरोना भाइरसको संक्रमणको प्रक्रिया हेर्दा यो एक मानिसबाट अर्को मानिसमा स्वासप्रस्वास प्रक्रियाबाट सर्ने रोग हो । कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा यो रोग सर्दछ । अहिलेसम्म यसको औषधी तथा खोपसमेत पत्ता नलागेको अवस्थामा हामीले अधिकतम सामाजिक दुरी नै कायम गर्नुपर्छ भन्नेमा दुई मत रहेन । 

कोरोनाले नेपाली समाजमा धेरै असर गरेको छ । हामी अझैपनि संयुक्त परिवारमा बस्ने गर्दछौं । सामाजिक मुल्य मान्यता र परम्परा अनुसार हाम्रा बहुल रितिरिवाज, संस्कार, संस्कृति छन् । कोरोना भाइरसबाट जोगिन अहिलेसम्मको एकमात्र उपाय भनेको सामाजिक दुरी भएकोले यसले हाम्रो समाज, परीवार र समग्र मुलुकको कृयाकलापलाई ठप्प बनाएको छ ।  

लकडाउनका कारण एक घरबाट अर्को घरमा जान सकिरहेका छैनौं, एउटा परिवारले अर्को परिवारसँग सामाजिक दुरी अपनाएर भर्जुवल दुनियाँका माध्यमबाट अपनत्व साटासाट गर्नुपर्ने बाध्यता छ । २१ औं शताब्दीमा सुचना र प्रविधिले दिएको भौतिक साधन प्रयोगले कोठाभित्रै बसेपनि केही हदसम्म आफ्ना परीवारसँग न्यास्रो मेट्न पाएका छौं, तर, एउटै घरपरिवार भित्र सामाजिक दुरी कायम गर्दै जीवनयापन गर्नुपर्दा अफ्टेरो त पर्छ नै तर, हामीसँग कोरोनाबाट बच्न सामाजिक दुरीको विकल्प पनि त छैन । 

नेपालको अर्थतन्त्रमा परेको असरविश्वब्यापी कोभिड-१९ ले नेपालको अर्थतन्त्रलाई दुई चार वर्ष पछाडि धकेलिदिएको छ । नेपालले सन् २०२० लाई भिजिट २०२० वर्षका रुपमा मनाउने सुरसार गर्दागर्दै देखा परेको कोरोनाले यो चार महिनामा विश्वका प्रायः सबै देशहरुलाई असर गरिसकेको छ ।  

यो वर्षमात्र करिब २० लाख पर्यटक भित्र्याउने सरकारको महत्वकांक्षी योजना कोरोनाले असफल बनाइदियो । नेपालको पर्यटन क्षेत्रको विकास, विस्तार र अन्तराष्ट्रियकरणकालागि कोरोना भाइरस तगारो बनिदियो । विश्वकै अर्थतन्त्र शुन्यमा झारिदिएको कोरोनाले हाम्रो जस्तो रेमिट्यान्समा निर्भर अर्थतन्त्रमा ठाडो प्रभाव नपार्ने कुरै भएन । मुलुकको पर्यटन, होटल ब्यवसायमा कोरोना कहर अबको एकाध वर्ष उठ्नै नसक्ने गरी बसेको छ । 

कोरोनाले देशको बैंक तथा वित्तीय क्षेत्रहरु मध्ये गाउँमा काम गर्ने लघुवित्त वित्तीय संस्था, सहकारी संस्था, ग्रामीण क्षेत्रमा काम गर्ने बिकास बैंक तथा वित्त कम्पनीलाई समेत असर गरेको छ । कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउन अवधि भरीको भाका नाघेका कर्जालाई ब्यवस्थापन गर्दा, यी वित्तीय संस्थाहरुका नाफामा प्रत्यक्ष असर परेको छ । लगानीकर्ताको शेयर बोनसमा असर पर्नेदेखि कर्मचारीको तलबसुबिधा कटौती हुनसक्ने संभावना बढेको छ । 

नेपाल राष्ट्र बैंकको पौष मसान्त सम्मको तथ्यांक अनुसार लघुवित्त क्षेत्रमा मात्र १८,८८५ कर्मचारी र ४५, ७९,७३९ सदस्य रहेका छन् । भने गुगलका अनुसार एनजिओको संख्या १५,००० रहेको छ । साथै भने तल्लो तहमै काम गर्ने सहकारी संस्थाको संख्या ३०,००० बढि रहेकोमा तीनमा करिब ४५ लाख सदस्य छन् । जो कोरोनाको प्रभावबाट बच्न सकेका छैनन् । यसका साथै होटल ब्यवसायी, साना तथा घरेलु उद्योग, कृषी क्षेत्र, शिक्षा, स्वास्थ्य, यातायात, उड्डयन लगायत सरकारी, गैरसरकारी, ठूलासाना आयोजनाहरु यतिबेला शुन्यको अवस्थामा छन् । यहि अवस्था अवको ६ महिना मात्र रह्यो भने हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकलाई अनेक संकट आइलाग्छ । 

सन् २००७-२००८ मा युरोप, अमेरिकातिर आएको आर्थिक मन्दीले विश्वको पूंजि बजारमा असर परे जस्तै नेपालमा आन्तरिक पूंजिको अभाव बैंक तथा वित्तीय संस्थामा देखा पर्न सक्छ । जसले गर्दा ती क्षेत्रमा लगानी गर्ने र बचतकर्ताले पनि बचत पाउन नसक्ने अवस्था देखिन्छ । यस्तो अवस्थाले मुलुकको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, उद्योग ब्यवसाय सबैमा प्रभाव पर्दछ । 

स्वास्थ्य क्षेत्रमा परेको असरस्वास्थ्य नै ठूलो धन हो । हाम्रो स्वास्थ्य नै ठिक रहेन भने हामीले केही गर्न सक्दैनौं । कोरोना भाइरसले विश्वको स्वास्थ्य क्षेत्रमा एउटा चुनौति थपिदिएको छ । खोक्दा, हाछ्यूँ गर्दा मात्रैपनि कोरोना सर्ने भएकोले यसले विश्वकै स्वास्थ्य क्षेत्रमा हलचल ल्याइदिएको छ । विश्वका शक्तिशाली देशहरु कोरोना सामू झुक्न बाध्य हुँदै यसको औषधी उपचार पत्ता लगाउन एकत्रित भएका छन् । यसले अहिलेसम्म विश्वको करिब २३ लाख जनसंख्यालाई आफ्नो चपेटामा पारेको छ ।  

यो संख्या दैनिक हजारले बढ्दै गएको अवस्थामा अब कोरोनाबाट सजिलै मुक्ति पाइएला भन्नेमा शंका छ । हुन त कोरोनाका कारण विश्वनै अहिले एउटै मुद्दामा एकत्रित भएकोले हाम्रो बसुधैव कुटुम्बकम्को नारा यो बेला सान्दर्भिक भइदिएको छ । र, भोलीका दिनमा कोरोना, एड्स जस्ता भयानक रोग र महामारीमा मात्र हैन, अन्य बेला पनि सम्पूर्ण मानव जीवन र सृष्टिकै संरक्षणका लागि विश्व एक हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ । 

शिक्षा क्षेत्रमा परेको असरयो बेला हाम्रो मुलुकको शैक्षिक क्षेत्र अन्त्यतिरको समय थियो । विद्यालय तहमा वार्षिक परीक्षाको तालिका प्रकाशित भइसकेको अवस्थामा कोरोना भाइरसले मुलुकको शैक्षिक गतिविधिलाई ठप्प पारिदिएको छ । विद्यालय तह र उच्च शिक्षासम्मकै शैक्षिक रुटिन परिवर्तन गर्ने संकेत देखाएको छ । बालबालिकाहरु यतिबेला घरभित्र थन्किएर बसेका छन् । उनीहरुको पढाइमा मात्रै हैन सृजनामा पनि हस आउने पक्का छ । 

विकास निर्माणमा परेको असरमानिसहरु घरबाट बाहिर निस्कन नसकिरहेको अवस्थामा मुलुकका साना ठूला सबै आयोजनाहरु थन्किएका छन् । खासगरी, उर्जा, सडक र अन्य पूर्वाधार निर्माण बन्द हुँदा निर्माण सम्पन्न हुने अवस्थामा आयोजनाहरु रोकिँदा मुलुकको अर्थतन्त्रलाई गम्भिर असर पर्दछ । हामीले आगामी वर्षमा मुलुकको जिडिपीलाई दुई अंकमा पुर्याउने लक्ष्य पुरा हुन सक्ने अवस्था देखिएन । कुलेखानी ३, अरुण तेस्रो, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल जस्ता ठूला आयोजनाहरु यसै वर्ष पूरा हुने थिए । अब ती आयोजनाहरु पुरा गर्न थप अर्को वर्ष कुनुपर्ने भएको छ । 

उद्योग ब्यवसायमा परेको असरजब मुलुक नै लकडाउन रहेको अवस्था छ भने, त्यहाँ कलकारखाना उद्योग ब्यवसाय सञ्चालन हुने कुरै भएन । तर, मुलुकको उद्योग कलकारखाना ठप्प हुँदा त्यसले समग्र क्षेत्रमा असर पर्दछ । आन्तरिक उत्पादकत्व बन्द भएपछि हामीले बाह्य उत्पादनमा खर्च गर्नुपर्छ । उसो त नुनदेखि सुनसम्म, धनियाँदेखि खुर्सानीसम्म परनिर्भरतामा रहेकोमा अब थोरै मात्रामा चलेका उद्योग ब्यवसाय समेत बन्द भइदिँदा परनिर्भरताको ग्राफ झनै उकालो चढ्ने प्रष्ट छ । 

कृषि क्षेत्रमा परेको असरकोरोनाले कृषि उत्पादनमा पनि असर गरेको छ । यो समय भनेको बालिनाली भित्र्याउने र रोप्ने समय हो । अहिले गाउँघरमा खेतबारीमा काम गर्ने जनशक्तिको अभाव छ । खेती किसानी गर्ने समुदाय पनि कोरोनाकै कारण घरबाट निस्कन सकेका छैनन् । उसै त मुलुकको उत्पादन वर्षेनी खस्कँदै गएको परिप्रेक्ष्यमा आउँदो वर्ष झनै खस्कँने प्रष्ट भएको छ । यसले हामीलाई अझै परनिर्भरता बनाउँदै लैजाने छ । 

बैदेशिक ब्यवसायमा परेको असरकोरोना भाइरस विश्वका २१० देशमा फैलिइसकेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । यसले हाम्रो जस्तो बैदेशिक रोजगारीले टिकेको अर्थतन्त्र झनै धरासायी भएको छ । विश्वका विभिन्न देशमा करिब ६० लाख नेपाली रोजगारीमा छन् । यो संख्या भनेको काम गरेर खाडी मुलुकमा मासिक २० हजार कमाउने देखि अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूके, जापानसम्म पढ्नका लागि भनेर कमाउनै जाने जनशक्तिको हो ।  

मुलुकको आम्दानीको एक तिहाईको हिस्सा ओगटेको बैदेशिक रोजगार ठप्प हुँदा रेमिट्यान्समा गम्भिर असर परेको छ । यता विदेशमा रहेका नेपालीसमेत लकडाउनमा रहेकाले उनीहरु बेरोजगार भएर बस्दा थप बेरोजगारी समस्या बढ्ने निश्चित छ । माथि उल्लेखित क्षेत्र वाहेक अन्य धेरै क्षेत्रहरु छन् जो लकडाउनका कारण ठप्प छन् । पर्यटन, होटल ब्यवसाय, मनोरञ्जनका क्षेत्रहरु अबको एकाध वर्षमाथि उठ्नै नसक्ने भएका छन् । 

राज्यको दायित्वशिक्षा, स्वास्थ्य, सुरक्षा, गाँस बास र कपास राज्यका नागरिकप्रतिका आधारभूत दायित्व हुन् । कोरोना महामारीका कारण मुलुकको सबै क्षेत्र प्रभावित भइरहँदा अब राज्यले यी सबै क्षेत्रलाई पुर्नजागरणका लागि विशेष कार्यक्रम ल्याउन जरुरी छ । खासगरी अर्थतन्त्र चलायमान गराउने क्षेत्रमा राज्यले नीजि क्षेत्रसँगको सहकार्यमा प्याकेज बनाउनु पर्दछ । 

कृषि क्षेत्रमा उत्पादकत्व बढाउन विशेष कार्यक्रम बनाउनु पर्छ । उद्योग कलकारखाना, ब्यापार ब्यवसायलाई उकास्न राज्यले सहुलियत ऋणको ब्यवस्था गर्ने, युवाहरुलाई रोजगारीको सृजना गर्ने, कृषि क्षेत्रमा आकर्षित गर्ने कार्यक्रम बनाउनु पर्छ । स्वास्थ्य क्षेत्रमा पनि कोरोना महामारी मात्र हैन यस्तै प्रकृतिका भविष्यमा आउन सक्ने संभावित स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर दक्ष जनशक्ति उत्पादन, स्वास्थ्यका पूर्वाधार निर्माण र अनुसन्धानमा लगानी बढाउन पर्छ । 

लघुवित्त क्षेत्रमार्फत गाउँगाउँमा सहुलियत र सरल रुपमा उद्यमशील कर्जा प्रवाह गर्ने, युवाहरुलाई सीपमा आधारित उद्योग ब्यवसाय गर्न प्रेरित गर्नुपर्दछ । यसकालागि राज्यले सामुहिक कृषि खेती, पशुपालन, घरेलु उद्योग ब्यवसाय जस्ता उत्पादन मुलक क्षेत्रमा जोड दिनु पर्दछ । मासिक २० हजार कमाउन दैनिक १८ घण्टा खाडी मुलुकमा भौतारिने युवालाई स्वदेशमै केही गर्ने वातावरण निर्माण गरिदिए कोरोना कहरले निम्त्याएको आर्थिक, सामाजिक समस्याबाट मुलुकलाई माथि उठाउन सकिन्छ । 

कोरोना नियन्त्रणमा राज्यले के गर्दैछ ?माथि उल्लेखित विषय समस्याहरु मात्रै हुन् । विश्वका ठूल्ठूला मूलुक कोरोनाको महामारीसँग झुक्नु परिरहेको अवस्थामा नेपालले पनि आफ्ना तर्फबाट आवश्यक कदम चालेको छ । तथापि, त्यो पर्याप्त मात्रमा भने देखिएको छैन । खासगरी कोरोना महामारी रोकथाम, नियन्त्रण, परीक्षण र उपचारका सन्दर्भमा स्थानीय स्तरमा प्रभावकारी काम भएका छैनन् । 

कोरोनाबाट बच्ने अहिलेसम्मको अचूक उपाय भनेकै सामाजिक दुरी हो । जसकालागि सरकारले बैशाख १५ गतेसम्मै लकडाउन गरेको छ । तर, दुई हप्ता यता मुलुकभित्र कोरोना पोजेटिभको संख्या बढ्नुले सरकारले अपनाएका रणनीतिहरु कतै असफल पो हुँदैछन् कि आशंका उत्पन्न भएको छ । 

सरकारले अहिलेसम्म ७ वटै प्रदेशमा स्पेशल कोरोनाको मात्र परीक्षण र उपचार हुने अस्पताल बनाउन सकेको छैन । ७७ वटै जिल्लामा कोरोना र्यापिड टेस्टको व्यवस्था गर्नु पर्दछ । र्यापिड टेस्टलाई गाउँगाउँ (खासगरी भारतीय सिमावर्ती जिल्ला र गाउँहरुमा) प्रर्याप्त मात्रामा पुर्याउन आवश्यक छ । ७७ वटै जिल्लाका संभावित क्षेत्र जहाँ बढि मात्रामा जनघनत्व छ, जहाँ बढि मात्रामा विदेशबाट आएका छन्, जहाँ सिमापारीबाट सजिलै आवतजावत हुन्छ ती क्षेत्रमा स्क्रिनिङ गर्नु जरुरी छ । 

कोरोना रोकथाम, परीक्षण र उपचारमा खटिने स्वास्थ्यकर्मी, स्वयंसेवक, सुरक्षाकर्मीसँग पीपीई, औषधि उपचार, सर्जिकल सामग्रीहरु पर्याप्त छैन भन्ने गुनासालाई सरकारले सुन्न पर्दछ । सरकारले प्रत्येक नगर, गाँउपालिका स्तरमा स्थानीय आईसोलेन सेन्टरहरुको व्यस्थापन गर्न जरुरी छ । गाउँ र वडास्तरबाटै विदेशबाट आएका ब्यक्तिहरुको पहिचान गरी उनीहरुको र्यापिड रेस्ट गरेर आएको नतिजाका आधारमा उनीहरुसँग सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गर्ने, स्वास्थ्य जाँच गर्ने तथा आवश्यक परेको खण्डमा क्वारेन्टाइनमा समेत राख्ने ब्यवस्था गर्नुपर्छ । 

लकडाउनले दैनिक ज्यालादारी श्रमिक मजदुरलाई विहान बेलुकाको छाक टार्न धौधौ भइरहेको छ । स्थानीय निकायले दैनिक ज्यालादारी, मासिक ज्यालादारी श्रमिक मजÞदूर छुट्याउन नसकी राहत वितरण प्रभावकारी हुन सकेको छैन । वडागत रुपमा सर्वपक्षीय राहत वितरण समिति गठन गरेर कमजोर आर्थिक अवस्था भएका श्रमिकलाई लकडाउन अवधिभर तत्कालै राहत दिनुपर्दछ । राहत वितरणमा राजनीतिक रंग छर्नु हुँदैन । 

मलाई लाग्छ कुनैपनि जनता कोरोनाको कारण मृत्युको मुखमा पुग्नु परोस भनेर बर्तमान सरकारले सोचेको छैन । त्यसमाथि सम्माननीय प्रधानमन्त्री आफैं लामोसमयदेखि रोगसँग लड्दै मुलुकको परिवर्तन गर्न लागि पर्नुभएको छ । उहाँमा जनताको स्वास्थ्य चेत र जनताको दुखःकष्ट अनुभूत गर्ने क्षमता पनि छ । तथापि, कतिपय कुराहरु जादुको छडी जस्तो भन्ने वित्तिकै हुन सक्दैन । कोरोना जोखिम व्यवस्थापन गर्न सरकारले उच्चस्तरीय समिति गठन नै गरेर काम गरिरहेको छ । हामीसँग पर्याप्त मात्रामा श्रोत साधन नभएकोले पनि सरकारले चाहे अनुरुप काम गर्न नसकेको होकि ? 

कोरोना महामारी विश्वकैलागि नौलो अनुभव भएकोले कुनैपनि देशले शुरुमै तयारी गरेका थिएनन् । समस्या आयो रत समाधान खोजियो । तर, हाम्रोमा चैं, समस्याको समाधान भन्दा पहिला समस्या बढाउने तर्फ सोच गयो कि, मैले भन्न खोजेको चीनबाट कोरोना सामग्री खरिद गरी ल्याउने प्रक्रियाका विषयमा हो । हुनसक्छ प्रक्रिया गलत थियो तर, यो महामारीका बेला त कसरी हुन्छ स्रोत साधन पहिला ल्याएर जनताको जिउधनको सुरक्षा गर्नुपर्ने हैन र ? अनियमितता भयो भएन, कारवाही कसलाई गर्ने नगर्ने भन्ने कुरा त भोली महामारी सकिएपछि गर्दापनि हुन्थ्यो नि ! त्यसकालागि राज्यका संवैधानिक निकाय पनि छन् । 

यो समय विवाद निकाल्ने र वहस गर्ने भन्दापनि कसरी हुन्छ महामारीको जोखिमलाई न्यूनीकरण गर्ने, संक्रमण फैलन नदिने, लकडाउनमा भोकभोकै परेका जनतालाई बचाउने तर्फ लाग्नु हामी सबैको दायित्व हो । यसका लागि हामी सबैले कोरोना माहामारीबाट बच्न साझा ऐक्यवद्धता जनाउन आवश्यक छ । 

असन्तुष्टि, तनाव, असुरक्षा अनुभूति आदिले रोगसँग लड्ने शारीरिक, मानसिक क्षमतामा नकारात्मक असर गर्दछ । सकिन्छ, आशाका बाटाहरु तय गर्नेतिर लम्कौं । सक्दैनौं, सरकारले अपनाएको रणनीतिलाई सफल बनाउन घरभित्रै बसौं । कोरोना भाइरस तपाईका अगाडी आफैं आउँदैन, तपाई घरभित्रै सामाजिक दुरी अपनाएर बस्नुस कोरोनाले छुँदैन । घर बाहिर जथाभावी हिँड्नु हुन्छ कोरोना तपाईका घरभित्रै छिर्छ । तसर्थ, यो बेला विवाद हैन समाधान खोजौं, सहकार्य गरौं, सामाजिक दुरी कायम गरी कोरोना भगाउँ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *