‘बरु म मर्न तयार छु, तर जनता मर्न दिन्न’ – तिला गाउँपालिका उपाध्यक्ष

चैत्र २४, जुम्ला । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले नेपालको जुम्ला पनि उच्च संक्रमणको जोखिममा रहेको छ । जुम्लाको तिला गाउँपालिकामा भारतबाट आउनेहरुको संख्या तिव छ ।   

यतिखेर तिला गाउँपालिका उपाध्यक्ष बिष्णू बुढा राहत तथा पूर्व शतर्कतकासाथ सामाग्री बोकेर बस्ती बस्ती तिर छिरेकी छिन् । आफ्नो गाउँपालिकालाई बचाउन आफू मर्न तयार भएको भन्दै उपाध्यक्ष विष्णूमाया बुढा राहत तथा शतर्कतका सामाग्री लिएर अति विकट बस्तीतिर खटिएकी हुन् ।  उनी यतिखेर आफ्नो गाउँलाई कोरोनाबाट जोगाउन जनचेतना फैलाउँदै घरदैलोमा व्यस्त छिन् ।   

जुम्लाको सबै भन्दा बिकटमा पर्ने तिला गाउँपालिकामा ३१ गाउँ र ३४ टोल रहेका छन् ।   

उनले आफुसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सामाजिक अभियन्ता र गाउँकार्यपालिका सदस्यसमेत लिएर बस्तीतिर हिँडेकी छन् । घरदैलोमा पुग्दा साबुन, कपडाको मेडिकल मास्कसहित सेनिटाइजर वितरण गर्नुका साथै सरसफाई सम्बन्धी सचेतना प्रदान गरिरहेको उपाध्यक्ष बुढाले बताइन् ।   

गाउँपालिका भित्र रहेका २ हजार ७ सय ७१ घर धुरीमा साबुन, मास्क, स्यानिटाइजर वितरणका साथै कोरोनाबाट बच्न अपनाईने उपायहरुबारेमा जानकारी दिइएको छ ।   

उनले मानिसहरु त्रासमा रहेको बेला आश जोगाउनु सबै नागरिकको दायित्व भएकोले आ आफ्नो ठाउँबाट लागि पर्न समेत जुम्ली जनतालाई आग्रह गरिन् ।   

‘यो विपदको घडीमा कोही पनि विचलित नहुन जोड दिएका छौं ।’ उनले भनिन्, ‘मानिसहरु अहिले रोगले भन्दा चिन्ताले बढी मर्ने सम्भावना रहन सक्छ ।’ 

गाउँगाउँमा पुगेको टोलीले विशेष गरी साबुनपानीले मिचिमिची हात धुन, मास्क अनिवार्य प्रयोग गर्न, सरकारले आदेश गरेको लकडाउनको कार्यान्वयन गर्न, ३ फिटको दूरीमा बस्न र भीडभाड नगर्ने लगायतका सन्देश प्रवाह गरिरसकेको छ । उपाध्यक्ष बुढाले भनिन्, ‘यसले हामीले कसरी कोरोनाबाट बच्न सकिन्छ भन्ने सिकाउँछ ।’   

तिला गाउँपालिका–१ बाट सुरु भएको अभियानमा माइकिङ, लगायतको सचेतना फैलाउने कार्यमा जुटेको टोली सोमबार तिला–२ का लिही र लर्मी गाउँ हुँदै वडा नं. ३ का त्रिवेणी, दानीबाडा, जोगिबाडा, कुडारी लगायत तिला–४ को सापुल्ली रावतबाडा र नुवाकोटमा हुँदै तुही, पोखरी, घोडे र घोडेसिम गाउँसम्म पुगेको उपाध्यक्ष बुढाले जानकारी दिइन् । 

टोलीले ‘लकडाउन’को समयमा घरबाहिर निस्कन नहुने, भीडभाड गर्न नहुने, बाहिर निस्कदा मास्कको प्रयोग गर्नुपर्ने, भारतबाट आएकालाई १४ दिनसम्म ‘क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने र सफा पानीले हात धुनुपर्ने लगायतका सचेतना प्रदान गरिरहेको उनले बताइन् । 

‘यो समय निकै संवेदनशील भएकोले कोराना विरुद्धको सचेतना फैलाउन गाउँ बस्तीमा पुग्नु परेको छ’, उनले भनिन ‘बरु म मरेर भए पनि मैले मेरो गाउँ समाज र बस्तीलाई सुरक्षित राख्नु छ ।’ 

‘सचेतना दिँदै हिँडेको टोली पनि उच्च सतर्कता अपनाउँदै गाउँ पुग्ने गरेको उनले बताइन् । ‘हामी सम्बन्धित वडाका जनप्रतिनिधि मास्क र साबुन लिएर घरदैलोमा पुगेका थिया’, उनले भनिन्,  ‘यो सिजन काला पहाड गएकाहरु फर्कने भएकोले जतिसक्दो सचेतना दिन जरुरी रहेको छ ।’ 

उपाध्यक्ष बुढा नेतृत्वको टोली गाउँपालिका भित्रका ९ वटै वडामा पुगिसकेको छ । अहिले शहरसँगै गाउँमा पनि कोरानाको जोखिम बढी भएकाले गाउँका जनतालाई सचेत बनाउनु अहिलेको अपरिहार्यता भएको उपाध्यक्ष बुढाको भनाई छ । 

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलब भत्ताबाट १० लाख रुपैयाँको विपद् कोष स्थापना गर्ने निर्णय गरिएको छ ।   

गाउँ कार्यपालिका सदस्य ४७ जना, १२० शिक्षक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी गरी ७२ जनाको एकएक दिनको तलबभत्ता विपद् कोषमा जम्मा गर्ने निर्णय भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 10 =