के यसो गर्दा कोही कसैको अगाडी सानो हुने हो र ?

हामी नारीले भोगेका तिता मिठा अनुभवलाई कहिले काँही कतै साटौं साटौं नलागेको भने चैं होइन तर पनि ‘ठिकै छ त चलिरहेकै छ त’ भन्ने पनि आउँछ । तर यसका लागी पनि हामीलाई ब्यूझाउने कोही चाहिँदो रहेछ ।

मकालु खबरकी सुजता निङ्लेकु बहिनीसँग कामको सिलसिलामा मेरो भेटघाट भइरहन्छ । महिलाहरुमा हुने विभेद, पिडाका कुरा कहिले काँही हुनेगर्छ सायद त्यसैले होला उहाँले एकदिन फोनमा कुरा गर्दा भन्नुभयो ‘दिदी लकडाउन र महिलाका बारेमा के पाउँदै हुनुहुन्छ यसो लेख्न मन लागेको छैन ?’ यो प्रश्न सुन्दा ‘होत नी !’ भनेझैं लाग्यो अनि जबाफ दिए, ‘हुन्छ नी’ तर पनि हप्ता दश दिननै सोचे के लेख्ने ? अनि बल्ल मेसो आयो कि लकडाउनमा पनि महिला हिंसा त भइरहेका छन् । यो लकडाउनमा पनि हिंसा भोग्ने दुई प्रकारका महिलाहरु रहेछौं । अनि लेख्न बसें ।

मानव सभ्यतालाई ढुंङ्गे युगदेखी आजको शताब्दीसम्ममा बिचार गरेर हेर्ने हो भने महिला र पुरुषमा धेरै समानता पाइएता पनि मात्र यि दुईमा शारिरीक बनौटमा मात्र फरक छ । यसैका आधारमा धेरै भिन्नताका सिमा रेखा कोरिँदै आए । क्षमतामा कमी, शारीरिक रुपमा कमजोर बनाइएको छ अनि हामी नारी यसैमा रमाइरहेका पनि छौं । सानोमा बुबाको साहारा अलि ठूलो भएपछि दाजु अथवा सानै भएनी भाइको साहारा अनि त्यसपछि श्रीमान् अझ उमेर ढल्कँदै जाँदा छोराको साहारा । नहोस पनि कसरी हामीले संस्कारको नाममा लिएर आएको यो गतिलो उपहार जो छ  । मैले यसो भनिरहँदा हामीले पाएको संस्कार नराम्रो भन्न खोजेको पक्कै होइन तरपनि यसैको बाहानामा हामीलाई बिभिन्न काँडे तारले छेक्दै जान्छ । देशमा, समाजमा अनि घर–घरमा धेरै परिवर्तन आए तर यो परिवर्तनको महसुस त्यतिबेला मात्र हुन्छ जतिबेला प्रत्यक्ष व्यबहारमा देखिन्छ ।

विश्व अहिले कोरोना भाइरस कोभिड १९ को त्रासले आतकिंत भएको छ । शक्तिशाली राष्ट्रले हजारौंको संख्यामा आफ्ना आफन्तलाई यहि माहामारी रोगका कारण गुमाइरहेका छन् । यसको असर नेपालमा पनि बिस्तारै देखिन थालेको छ । कोरोनाकै त्रासका बाबजुद पनि जीवनलाई अगाडी बढाउँदै छौं । हात धुने गरौं, सफा भएर बसौं, पोषिलो खानेकुरा खाऔं, अनावश्यक रुपमा घर बाहिर नजाऔं भनेर चारै तिरबाट जनचेतनाका कुराहरु आइरहेका छन् । यस नियमलाई हामीले मानिरहेका छौं र मान्नु पनि पर्छ । सबै जना आ–आफ्ना घरमा बसेका छौं । कत्ति जनालाई घरमा बस्दा–बस्दा पट्यार लाग्यो, घरमा बसेपछि के खाने ? कसरी समय बिताउने ? भन्ने पनि नसुनिएका होइन् ।

अहिले हामी जो कोहि सँग साबिक भन्दा बढी समय छ केहि गर्नका लागी । भान्छा, करेसाबारीको काम, परिवारका सदस्य सँग समय बिताउने देखी लिएर प्रबिधि सँगपनि सक्रिय रुपमा खेल्न भ्याएका छौं । फेसबुक, इन्स्टाग्राम कुनै पनि खानाको परिकारको रेसिपीका लागी युट्युव देखी टिकटकमा आफ्ना प्रतिभा देखाउन पनि भ्याएका छौं । मैले मेरा धेरै सहकर्मी साथीहरु सँग दिन कसरी बित्दैछन् भनि कुरा गर्दा लकडाउनमा हामी दुई प्रकारका महिला रहेछौं भन्ने बुझ्ने मौका पाए । एक ति कामकाजी महिला जो हिजोआज लकडाउनका कारण फुर्सदमा छन् अनि अर्का ति कामकाजी महिला जो यो परिस्थितमा पनि घर र अफिस भ्याइरहेका छन् । महिला हिंसा जहाँ जसरी जुन बेलामा पनि भएको पाइन्छ । यहि लकडाउनका समयमा पनि हामीले महिला हिंसाका खबरहरु प्रसस्तै सुनिरहेका छौं र तपाई हामी मध्ये कतिले भोगेका पनि छौं । मैले यसो भनिरहँदा तपाईलाई लाग्न सक्ला घर बसेर परिवारका लागी काम गर्दा परिवार सँग समय बिताउँदा पनि हिंसा हुन्छ र ? तर एकदिन भरिको एक महिलाको समय तालिकालाई मात्र हेर्ने हो भने मात्रै घरभित्रै पनि महिला हिँसा हुँदोरहेछ भन्ने कुरामा प्रस्ट हुन सक्छौं ।

पुजाको दियोको प्रकास सँगै महिलाको बिहान शुरुवात हुन्छ । परिवारका हरेक सदस्यलाई समयमा तातो पानी र चिया, समयमा खाना, दिन अनुसारको फरक नास्ता साँझको खाना, घर आँगनको सरसफाई, अनि यि बिचमा तातो पानी, चिया त कत्ति हो कत्ति र पनि कसलाइ के मनपर्छ त्यहि अनुसारको माग । अझ यो समयमा मानौं कुनै प्रतियोगीता नै चलिरहेको हुन्छ कि कसले फरक परिकार पकाउँछ भन्ने । अनि यो अघोषित प्रतियोगीताले परिवारको सदस्य बिचमा एक प्रकारको कलह नै उत्पन्न गरेको छ भन्दा फरक नपर्ला कि ! फलानोको घरमा यस्तो खाइरहेका छन् हाम्रो त के हो खै ? कस्तो केहि नआउने, यति समय हुँदा पनि कस्तो अल्छि गरेको मन भए पो हुन्छ ? बनाइहाले पनि कस्तो खासै स्वाद नभएको भन्न पनि पछि हट्दैनन् । यस्ता अनगिन्ति कहानी हुन्छन् । के यो एक प्रकारको हिंसा होइन र ? बिहान देखि बेलुकासम्म तपाईलाई आफुले सके जति र जाने जति प्रेम पुर्वक हेरचाह गर्ने ती तपाईंकी घरकी नारीलाई कति पटक ‘पानी खायौं। बेला बेलामा तातो पानी खानुपर्छ ’भनेर सोध्न सम्झिनु भयो ? कति समय सँगै बसेर हातमा भएको प्रबिधि (मोवाइल) लाई छेउ लाएर काममा सघाउनु भयो ?

महिलाहरुमा हुने मानसिक र शारीरिक हिंसा अन्त्य कहिले हुन्छ भन्ने त पत्तो नै छैन । यो भन्दापनि अझ कहाली लाग्दो कुरा त हामीले ति महिलाको सुन्न सक्छौं जसले यो परिस्थितीमा पनि कार्यलय र घरलाई समय दिइरहेकी छिन् । यसै सन्र्दभमा मैले मेरो एक सहकर्मी सँग कुरा गरे, ‘कस्तो छ, काममा आउन गाह्रो त भा छैननी ?’ जबाफ थियो ‘यस्तो समयमा पनि कसैले नखाको जागीर यसैको रहेछ कत्तिन उसैले घर चलाए जस्तो, नजाँदा हुँदैन ? आउँ भने घरकाले गाली गर्ने आउँदिन भन्न मनले मान्दैन, के के हो के के ?’

हो नि, समय यहिँ त सकिँदैन नि, भोली फेरी नयाँ बिहानी त अबश्य पनि हुन्छ । तरपनि यो सोच कसैमा आउँदैन अझ भनौं सोच्न नै चाहँदैनन् । महिलामा हुने यो बिभेद झन डरलाग्दो लाग्छ मलाई, किन कि काममा समयमा पुग्न घरमा गर्नुपर्ने हतार, दुखेको मनले काम गर्नुपर्ने अनि घर आएपछि जे बचन सुनेपनि मनभित्र दबाएर ओठमा हाँसो ल्याई परिवारको खुसी समेट्न तल्लीन हुने हामी नारीकोको जीवन अनौठो लाग्छ मलाई ।

भनिन्छ नि, ‘दुःख साटे आधा हुन्छ, सुख साटे दोब्बर’ यहि समय हो हाम्रा हरेक सुखलाई दोब्बर बनाउने । माया बाढौं सद्भाब बढाऔं एक अर्कालाई अझ नजिकबाट बुझ्ने कोशिस गरौं । सामाजिक सञ्जालमा अत्याधिक समय दिनुको साटो एक दिन भएनि ‘घरको काम म गर्छु’ भनेर अघि सर्नुस अनि तपाईलाई थाहा हुन्छ घरका नदेखिने साना साना कुराले पनि महिलालाई कत्ति थकाई रहेको हुन्छ । अनि कार्यालयसम्म जान घरबाट निस्कने ति तपाईं कि प्रिय मान्छेलाई बचन लाउनुको साटो मुसुक्क हाँसेर ‘ल राम्ररी जाउ है, आफ्नो पनि ख्याल राख घरको जिम्मेबारी केहि दिनको लागी अब मेरो ‘भनिदिनुस त कस्तो वातावरण नै परिवर्तन हुन्छ । के यसो गर्दा कोही कसैको अगाडी सानो हुने हो र ? या कसैको अहम्मा आँच आउछ ? कदापी हैन, यो सबै सकारात्मक सोचको उपज हो । यहि बेला हो सोचलाई परिवर्तन गर्ने । कोहि एकको परिवर्तनले सबै परिवर्तन हुने होइन सबैले परिवर्तनको एक पाइला अघि सारौं । लकडाउनको पालना गरौं घरमै बसौ सुरक्षीत र स्वस्थ्य रहौं ।

विराटनगर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *