कोरोना महामारी सुरु भएको वुहानमा लकडाउन हटाइयो

चैत २६, काठमाडौं । कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ । 

स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा “हरियो” कोड देखिएकाहरूले ज्यानुअरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन् । लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुन: सञ्चालनमा आएका छन् । 

मङ्गलवार चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि कोरोनाभाइरसको प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो । कोरोनाभाइरसको सङ्क्रमण रोकथामका लागि अधिकारीहरूले वुहान सहरमा पहिला कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाएका थिए । 

१ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा सबैजसो व्यापार-व्यवसाय बन्द गर्न निर्देशन दिइएको थियो । गत महिना वुहानमा एक साताभर कोरोनाभाइरसका नयाँ सङ्क्रमित एकजना पनि नपाइएपछि किनमेल केन्द्रहरू खोलिएको थियो । 

सङ्क्रमित नभएका आवासीय क्षेत्रका केही मानिसलाई पनि घरबाट दुई घण्टाका लागि बाहिर जान अनुमति दिइएको थियो । बुधवारबाट स्वीकृति पाएका मानिसहरूले सार्वजनिक यातायात प्रयोग गर्न पाउँछन् तर त्यसका लागि उनीहरूले क्यूआर कोड स्क्यान गर्न दिनुपर्छ । 

त्यस्तो कोड प्रत्येक मानिसका लागि फरक हुन्छ र त्यो उनीहरूको स्वास्थ्यस्थितिसँग सम्बन्धित हुन्छ । -बीबीसी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *