विदेशबाट आएकाहरूलाई २१ दिन क्वारेन्टाइनमा बस्न आग्रह

चैत्र २३, धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारत तथा तेस्रो देशबाट आएका व्यक्तिहरूलाई २१ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्। प्रदेशवासीका नाममा आज विशेष सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले विदेशबाट आएकाहरूलाई यस्तो सुझाव दिएका हुन्।   

विदेशबाट आएकाहरूका लागि प्रदेशका सबै जिल्लामा क्वारेन्टाइनको व्यवस्था गरिएको भन्दै उनले विदेशबाट आएकाहरूलाई सम्पर्कमा आउन आग्रह गरे। मुख्यमन्त्री भट्टले विदेशबाट आएका व्यक्तिहरूको सम्पर्कमा रहेका व्यक्तिहरूलाई अस्पतालमा गएर चेक जाँच गराउनसमेत आग्रह गरे।   

उनले आफूलाई कोरोना भाइरस संक्रमणको शङ्का लागे पनि अस्पतालको सम्पर्कमा आउन प्रदेशवासीमा आग्रह गरे। कोरोना रोकथामका लागि प्रदेश सरकार पूर्णरुपमा लागिरहेको भन्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले ४० करोडको छुट्टै कोष पनि स्थापना गरेको बताए। प्रदेशमा कोरोना संक्रमण बढ्दै गइरहेकाले लकडाउनलाई पनि थप कडाइ गरिने उनले बताए। 

साथै उनले लकडाउनलाई सहयोग गर्न पनि प्रदेशवासीमा आग्रह पनि गरे। प्रदेशको डोटी र बैतडीमा पनि कोरोना परीक्षणका लागि केन्द्र सरकारसँग पहल भइरहेको मुख्यमन्त्री भट्टले बताए। 

आफ्नो सम्बोधनमा उनले कोरोना रोकथाम र जनताको राहतको लागि खासै महत्त्वपूर्ण कुरा भने केही भन्नुभएन। मुख्यमन्त्री भट्टले सबै यसअघि नै आइसकेका विषयहरूलाई आफ्नो विशेष सम्बोधनमा समेटेका थिए। सम्बोधनमा खासै नयाँ विषय नआएको भन्दै सामाजिक सञ्जालमा प्रदेश सरकारको आलोचना पनि सुरु भएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *