‘विरोध मात्र होइन आआफ्नो ठाउँबाट सहयोग गरौं’

सामाजिक सञ्जालमा केही मान्छेहरू विभिन्न स्थानबाट घर जान हिँडेकाहरूलाई सरकारले गाडीमा घर पुर्‍याइदिनु पर्थ्यो, सरकार जनताको पक्षमा भएन भनेर गाली गर्ने, लकडाउन जारी रहेको अवस्थामा सरकारको आदेश पालना गरी एक ठाउँबाट अर्को ठाउँमा नजान अनुरोध गर्ने, हिँड्न नदिने प्रहरीलाई समेत तथानाम भनेर आफूले सबै बुझेको हामीले भने बमोजिम गाडी चलाएर गन्तव्यमा नपुर्‍याएको, जनता हिँडेर गन्तव्यमा गइरहेको, सरकारले जनताको जिम्मेवारी नलिएको हामी भए लिन्थ्यौ भन्ने जस्ता भाषा प्रयोग गरी आक्रोश पोखेको देखियो । 

सुन्दा राम्रो लागे जनताको पक्षमा जस्तो देखिए पनि यो जनविरोधी सोच हो । यस्ता अड्काउ कुराको पछाडि जनताको जिम्मा लिएको सरकार हिँड्न सक्दैन र हिँड्न हुँदैन पनि । यतिखेर हामी मानवता विरुद्धको खतरनाक रोग कोभिड १९ सँग लडिरहेको छौ । सरकारले यसको अगुवाइ गरेको छ भने प्रत्येक नागरिकले सरकारको आदेश गम्भीरतापूर्वक पालना गर्दै आफ्नो तर्फबाट समेत अझ बढी अनुशासनका साथ आफू जहाँ रहे बसेको छ त्यही ठाउँको क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ ।   

भन्ने मान्छेहरूले नेपालको एक ठाउँबाट अर्को ठाउँ गाडीमै जान पाउनु पर्छ । भारत लगायत देशमा रहनु भएका नागरिकलाई देश भित्र्याउनु पर्छ भनी नबुझेर बोल्नु भएको, लेख्नु भएको भने होइन । बुझी बुझी आफूहरू जनताको पक्षमा रहेको देखिन र सरकारलाई गैरजिम्मेवार भएको देखाउन राजनीति गर्नु भएको हो । यस्तो संकटको अवस्थामा सस्तो राजनीति कसैले पनि नगर्दा राम्रो हुन्छ । स्वाभाविक अवस्थामा फर्किएपछि राम्रो राजनीति आफ्नो ठाउँमा छँदै छ नि । 

कोरोना कसरी आउँछ,र कस कसलाई सर्छ आजसम्म कुनै लेखाजोखा छैन । कतै हामीले देखाएको सस्तो राजनीति र सरकारलाई आफूले भने बमोजिम गर्न दिएको दबाब,लापरबाही र उदारताले कोरोना जस्तो खतरनाक महामारी समाजमा फैलिन सक्ने कुरा समेत नभुलौँ । हाम्रो देशमा कोभिड १९ महामारीको रूपमा फैलिएको त छैन तर केही मान्छेको बुज्रुक दिमाग र सरकारलाई विदेशी सिमानाबाट मान्छे आवत जावत गर्न दिने दबाब , देशकै एक ठाउँबाट अर्को ठाउँमा गाडी मै मान्छे पुर्‍याउनु पर्ने तर्कले देख्दा उनीहरू के सोचिरहेका छन् किन यसो भनिरहेका छन् बुझी साध्य छैन । कोभिड १९ को औषधि  छैन सबैलाई थाहा छ,यो महामारीको रूपमा फैलिने रोग हो, लकडाउन र सामाजिक दुरी नै यो रोगबाट बच्ने एक मात्र उपाय हो । सरकारले जारी गरेको लकडाउनले हामी अति अप्ठ्यारो अवस्था छौ यो भनिरहन पर्ने विषय होइन । दुनियाँका समृद्ध मूलकहरूले भोगेको संकटमा हामीलाई पक्कै सजिलो छैन । जनता जोगाउन लकडाउन सरकारको बाध्यता हो । यो लकडाउनको चपेटामा गरिब मजदुर पिल्सिएका छन्,त्यो सरकारको सूचनामा भएको कुरा सरकारले पटक पटक सार्वजनिक गरी रहेको छ । स्थानीय निकायलाई कोही गरिब मजदुर भोकै बस्न नपरोस् स्थानीय सरकारले उचित व्यवस्थापन गर्नु भनी निर्देशन समेत गरेको छ । स्थानीय सरकार र सामाजिक क्षेत्रले समेत जनताको समस्यामा मलम लगाउन सक्दो प्रयास गर्न खोजिरहेका छन् । 

जनताको खानपान, आवास,जिउन  र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनै पर्छ । यतिखेर विश्व महामारीबाट जनतालाई जोगाउनु सरकारको प्रधान दायित्व हो । यस्तो अवस्थामा उत्पन्न भएका सारा कठिनाइ मानिसको जीवन भन्दा कम महत्त्वको हुन्छ । तर खानै नपाउने कुरा जीवनसँगै जोडिएको हुँदा कोही पनि खान नपाउने अवस्थामा रहनु हुँदैन त्यो जिम्मा सरकार कै हुन्छ । सरकारले यो कुरा बुझेरै स्थानीय सरकारलाई आफ्नो ठाउँको जनताको जिम्मा लिन निर्देशन पनि गरी सकेको छ । हाम्रो आफ्नो ठाउँबाट पनि कति गरिब, मजदुर भोकै रहेका छन् त्यसको डाटा संकलन गर्न स्थानीय सरकारलाई सहयोग गर्नु प्रत्येक नागरिकको दायित्व पनि हो ।   

हामी जहिले जहाँ जे कुरामा पनि राजनीति गर्छौ । यस्तो मानवीय संकटको समयमा कम राजनीति गरौँ, बढी मानव सेवामा लागौँ,जसले जहाँ जे सक्छ त्यो गरेर । राजनीति त बाँचियो भने जीवनभर गरौला नि । 

विदेशबाट आएकाहरूको  पनि करिब करिब सबै पालिकाहरूले तथ्यांक लिइसकेका छन् । लकडाउनको कारण मुलुक एउटा स्थिर अवस्थामा अगाडि बढिरहेको छ । गाउँ सहरमा नयाँ मान्छेले प्रवेश नपाउँदा जो जहाँ छ हरेक मान्छेले हरेकको निगरानी गरिरहेका छन् । थोरै बिरामीको लक्षण हुँदा पनि ( छिटपुट लापरबाही बाहेक) सजग छन् यो अवस्थाले कोभिड १९ रोगलाई नियन्त्रण गर्न सहयोग पुगेको छ । हाम्रो थोरै पनि लापरबाहीले हामीले जति पश्चात्ताप गरे पनि नसकिने गरी संक्रमण फैलिन सक्छ । विशेषज्ञहरूले १४ दिनमा कोभिड १९ को लक्षण देखिन सक्छ भनिरहेको अवस्था हुँदा लकडाउनको कारण मुलुक २४ दिन देखि सेटिङ्ग (लक) भइसकेको छ र छिटपुट पुरानो रोगीहरू भेटिँदै छन् । कोही कतै हिँड्न नपाउँदा रोगीको पहिचान गरी प्रारम्भिक अवस्थामा नै नियन्त्रण गर्न पनि सक्छौ । 

भनिए जस्तै उदार भएर मानवता देखाउने, गाडीमा मान्छे गन्तव्यमा पुर्‍याउने , सीमामा रोकिएका सबै नेपालीलाई देश भित्र्याउने र ओसारपसार गर्न लाग्ने हो भने २४ दिन देखिको हाम्रो सजगता र लकडाउनको स्थिति शून्यमा पुग्छ र कोही संक्रमित छन् भने समाजमा अन्तर घुलन हुन पुग्दाको परिणाम के हुन्छ एक पटक सोचौँ त ? मैले माथि नै भने हाम्रो सबै खालको अधिकार यतिखेर निलम्बनमा छ,हामीले पहिला बाच्नु पर्ने छ । जो जहाँ छ त्यही बस्नु सिवाय हामीसँग अर्को कुनै विकल्प छैन । जहाँ गरिब मजदुर र कमजोर वर्गले पाउनु पर्ने निम्नतम बाच्ने आधार सरकारले उपलब्ध गराउन पर्छ जो स्थानीय सरकारले गर्दै छ हामी सरबार पक्ष विपक्ष कोही नभनी स्थानीय सरकारलाई त्यस कुरामा सहयोग गर्न जरुरी छ । 

संकटको यस घडीमा मुलुकको अन्य क्षेत्र पर्यटन, कृषि, उद्योग,व्यापार, भौतिक संरचना निर्माण, बैक कर्जा जस्ता विषयमा सरकारद्वारा राष्ट्रिय नीति नै बनाई घोषणा गरिनु पर्दछ । यो विषयमा समेत सरकारले केही विषय उठान गरिसकेको त छ ,त्यो पर्याप्त छैन, त्यो अपुरोलाई पूरा गरेर सबै व्यवसाय र लगानीको क्षेत्रलाई धराशायी हुनबाट खोजाउनु पनि सरकारको दोस्रो प्राथमिक दायित्व हो ।   

मानव माथिको यो संकटको घडीमा हामी सबै जनताले धैर्य गरौँ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *