०७६ साललाई सम्झँदाः सरकार कति सफल कति असफल ?

आजबाट हामीले वर्ष २०७६ लाई पछाडी छाडेर वर्ष २०७७ लाई स्वागत गरिरहेका हौं । विश्वकै चुनौतिको रुपमा छाइरहेको कोरोना महामारीको सन्त्रासका विच हामीले ७७ साललाई स्वागत गरिरहँदा सामाजिक दुरी कायम गरिरहेका छौं । नयाँ वर्षको अवसरमा आफन्त, इष्टमित्र, साथीभाई, परीवारजनसँग नजिक भएर शुभकामना आदानप्रदान गर्नुपर्ने दिन हामीहरु एक अर्कासँग सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यता छ । कोरोना संक्रमणको संन्त्रासमा हामीसँग सामाजिक दुरीको विकल्प पनि त छैन । पुरानाे पात्राेलाइ बदल्दै गर्दा यसपटक हामी हाम्राे घरमा नयाँ पात्राे झुण्ड्याउने अवस्थामा छैनाै । कारण यतिबेला हामी घरभित्रै बसेका छाैं, बजारबाट नयाँ क्यालेण्डर ल्याउनै पाएनाैं ।

०७७ सालको पहिलो दिनमा ०७६ सालमा हामीले आ–आफ्ना क्षेत्रमा के कस्ता कार्य गर्यौं, कति सफल भयौं, कति असफल भयौं मुल्याङ्कन गर्न जरुरी छ । मुलुकको घटनाक्रम र विकासक्रमलाई नियाल्दा ०७६ साल आशातित वर्ष रहन सकेन । राजनीतिक, आर्थिक रुपमा मुलुकले खासै परिवर्तन गर्न सकेन । दुई तिहाईको स्थायी सरकारले मुलुकको आर्थिक, सामाजिक विकास र जनताका अपेक्षा अनुसार काम गर्छ भन्ने आशा जागेको थियो तर, स्थायी सरकारले जनतामा भ्रम छर्न ठूला सपना देखाउने वाहेक केही गर्न सकेन ।

सरकार गठनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक भाषणमा बोलिएका विकासे सपनाहरु सपनामै सिमित भए । पूर्वपश्चिम रेलमार्ग, केरुङ–काठमाडौं सुरुङ मार्ग, एक घर एक रोजगारी, नागरिकलाई शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका योजनाहरु कागजी योजनामै सिमित भए । भने, मुलुकको आर्थिक विकासका लागि सरकारले तयार गरेका प्रायः ठूला परियोजनाहरु पनि कछुवाको तालमा रहे ।

०७६ सालमा सरकारले अघि सारेको महत्वकाक्षी कार्यक्रम भिजिट २०२० यसपटक सबैभन्दा बढि मारमा पर्यो । अङ्ग्रेजी नयाँ वर्ष २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी भइरहँदा चीनबाट शुरु भएको कोरोना भाइरसले यो चार महिनामा विश्वभरलाई गाँज्यो । २० लाख पर्यटन भित्र्याउने महत्वकांक्षी योजना शुरु नहुँदै कोरोना भाइरसले तुहाई दियो । नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा भिजिट २०२० माइलस्टोन थियो । सरकारले यहि वर्ष पुरा गर्न खोजेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पनि पुरा हुन सकेन । माथिल्लो तामाकोशी जलविद्युत आयोजना अपुरै रहे । भने, अन्य ठूला आयोजनापनि आशातित रुपमा अगाडी बढ्न सकेनन् ।

०७६ सालको बजेट कार्यान्वयनमा समेत सरकार असफल भयो । कूल बजेटको ४० प्रतिशत पनि खर्च नहुँदा मुलुकको आर्थिक सूचकांकमा पनि धक्का लाग्यो । खासगरी विकास निर्माणका बजेटहरु कार्यान्वयन हुन सकेन । ०७६ सालको मध्यतिर अमेरिकी सहयोग एमसीसी परियोजना अत्यन्तै विवादित भयो । करिब ५० अर्ब रुपैंयाको परियोजना सम्झौता भएको भए नेपालको उर्जा विकास र विस्तारमा नयाँ अध्याय शुरु हुने थियो । विडम्बना, एमसीसी परियोजनामा सत्तारुढ दल र प्रतिपक्षकै अधिकांशले विवाद निकाले । खासगरी एमसीसी सम्झौतामा दिर्घकालिन राष्ट्रिय राजनीतिलाई असर गर्ने बुँदाप्रति सत्तारुढ दलकै सांसदहरु विभाजित हुँदा एमसीसी सम्झौता हुन सकिरहेको छैन ।

०७६ सालमा अर्को विवादित विषयले पनि नेपालको राजनीति चर्कायो । भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिम्पियाधुरा समेटिएको नक्साले महिनौं सडकमा भारतका विरुद्ध नारा लागे, संसदमा प्रतिपक्षले सरकारको हुर्मत लियो । अन्ततः सरकारले आफ्नो तर्फबाट नयाँ नक्सा सार्वजनिक गर्ने र भारतले मिचेको नेपाली भू–भाग फिर्ता ल्याउने प्रतिबद्धता सार्वजनिक गर्नुपर्यो ।

०७६ सालभर मुलुकको शुशासनमा काण्डै काण्ड घटे । सत्तारुढ दलका मन्त्री नै भ्रष्टाचारमा मुछिए । सभामुख कृष्णबहादुर महरा महिला कर्मचारी बलात्कार काण्डमा परे, भलै पछि अदालतले सफाइदियाे । सरकारका प्रवक्ता सञ्चार तथा प्रविधि गोकुल बास्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा मुछिँदै पदबाटै राजिनामा दिनुपर्ने अवस्था भयो । यसअघि सरकार प्रमुख केपी शर्मा ओलीलाई नेपाल ट्रष्टको नाममा रहेका सरकारी सम्पत्तिहरु प्राइभेट कम्पनीलाई कौडीको भाउमा दिएको आरोप लाग्यो । बालुवाटार स्थित ललिता निवास जग्गा काण्डमा बहालवाला मन्त्रि देखि पूर्वप्रधानमन्त्री, सचिवसम्म मुछिए । भ्रष्टाचार नियन्त्रण गर्न र शुशासन कायम गर्न ओली सरकार पूर्णरुपमा असफल भएको आरोप लाग्यो । ०७६ सालभर निर्मला पन्त बलात्कार र हत्याकाण्डले पनि ठूलै हंगामा खडा गर्यो । वाइडवडी काण्ड, ३३ किलो सुनकाण्डले सरकारलाई अलोकप्रिय बनायो । मन्त्रीदेखि कर्मचारी, उपकुलपतिसम्म भ्रष्टाचारमा मुछिए । सरकारले जनचाहना अनुसार गति नलिँदा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल नै परिवर्तन गरे ।

अघिल्लो वर्ष सरकारले लगानी सम्मेलन गरी विभिन्न १५ वटा परियोजनामा विदेशी लगानीको सम्झौता गरेपनि यो वर्ष ती सम्भौता कार्यान्वयनमा कुनै ठोस कदम चाल्न सकेन । समग्रमा भन्नुपर्दा ०७६ सालमा सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन ।

कामै नभएको पनि हैन

सरकारले केही गरेन भनेर गाली मात्र गर्नु अन्याय हुन्छ । हो, सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको पक्कै हो तर, संमृद्ध नेपाल र सुखी नेपालीको नारा अगाडी सार्दै केही राम्रा काम पनि गएकाे वर्ष भए ।

लामो समयपछि मुलुकमा दिर्घकालिन शान्ति स्थापना भएर स्थायी सरकार गठन भएकोले बन्द हड्ताल जस्ता कृयाकलाप नहुँदा मुलुकको उद्योग कलकारखाना ०७६ सालमा राम्ररी चले । संघियता कार्यान्वयनको चटारोलाई ओली सरकारले मूर्तरुप दियो । वित्तीय संघियता कार्यान्वयनमा ओली सरकारले सब–नेशनल ट्रेजरी रेगुलेटरी एप्लिकेशन सफ्टवेयर लागू गरेर स्थानीय तहलाई पनि समेट्न सक्यो । यसैवर्ष सरकारले बैदेशिक रोजगारीमा रोकिएको मलेसियासँग नयाँ सम्झौता गर्यो । अस्ट्रेलिया, युइई र भियतनामसँग नयाँ हवाई सम्झौता भयो ।

पर्यटनका क्षेत्रमा भिजिट नेपाल २०२० अन्तरगत नयाँ लगानीहरु भए । निजी क्षेत्रले विकासका विभिन्न पूर्वाधारमा लगानी गरे । बैंकिङ क्षेत्रमा सरकारले वीग मर्जरको अभियान ल्याउँदा ठूला बैंकहरु मर्जरको प्रक्रियामा गए । जलविद्युत क्षेत्रमा पनि दुई आयोजना सम्पन्न भए । ‘त्रिशुली ३ ए’ र ‘कुलेखानी तेस्रो’ आयोजना पुरा भएर राष्ट्रिय प्रशारणमा जोडिँदा निजी क्षेत्रबाट पनि १५० मेगावाट राष्ट्रिय प्रशारणमा आए । यसले मुलुकको जलविद्युत क्षमता करिब १३०० मेगावाटमा पुग्यो ।

यो वर्ष सडक निर्माणमा केही आशातित काम भए । काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणले राम्रै गति लियो । मध्यपहाडी लोकमार्ग निर्माणले पनि अघिल्लो वर्षभन्दा केही गति लियो । औषत दैनिक ११ किलोमिटर सडक कालोपत्रे हुँदै गएका थिए । संघिय र प्रदेश सरकार मातहतका योजनाहरु क्रमिक रुपमा अगाडी बढ्दै गएका थिए ।

खेलकुदका क्षेत्रमा यो वर्ष १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता नेपालमा भब्यताका साथ सम्पन्न भयो । नेपाली खेलाडीहरुले प्रतियोगिताकै इतिहासमा उच्च प्रर्दशन गर्दै दोस्रो स्थान हासिल गरे । साग स्विमिङमा नेपालले गौरिका सिंहबाट किर्तिमानी चार स्वर्ण पायो, फुटवल, स्विमिङ, कराते, एथलेटिक्स, साइक्लिनमा नेपालले उच्च सफलता प्राप्त गर्दा ५१ स्वर्ण हासिल गर्न सफल भयो ।

कोरोना कहरले निम्त्याएको संकट 

शुशासन कायम गर्ने सवालमा सरकार कमजोर भएपनि आर्थिक विकासमा विस्तारै कामहरु अघि बढिरहेको बेला चीनबाट शुरु भएको कोरोना भाइरसले विश्वकै अर्थतन्त्रलाई ठप्प बनाइदिएको छ । हामीले आज नयाँ वर्ष मनाईरहँदा मुलुक लकडाउन भएको तेस्रो साता वित्दै जाँदा जनजिवन अत्यन्त कष्टकर बन्ने तर्फ गइरहेको छ ।

०७७ साल लाग्दै गर्दा कोरोना भाइरसको कहर दक्षिण एशियाली देशहरुमा फैलँदोक्रममा रहेकोको ०७७ सालमा हामीलाई कोरोना भाइरसको प्रभावले हरेक क्षेत्रमा असर गर्ने देखिएको छ । खासगरी मुलुकको उत्पादन क्षेत्र नराम्ररी प्रभावित भएको छ । कृषि, उद्योग, पर्यटन क्षेत्र तहसनहस भएकोले आउँदा दिनहरुमा यी क्षेत्रलाई चलायमान बनाउन राज्यले ठोस रणनीति बनाउनु पर्दछ । मुलुकको आर्थिक बृद्धिदर दुई अंकमा लैजाने सरकारको योजना कोरोनाले रोकिदिएको अवस्थामा अबका दिनमा कोरोनाको कहरबाट बचेर कसरी जिवनस्तर उकास्ने राज्यले सोच्न जरुरी छ ।

यतिबेला विश्वकै कोरोना भाइरसका विरुद्ध एक भएको अवस्थामा अब नेपालले पनि ०७७ सालभरी कोरोनाले निम्त्याएका आर्थिक, सामाजिक तथा स्वास्थ्य समस्यामा एकत्रित भएर काम गर्नुपर्छ । खासगरी स्वास्थ्य पूर्वाधार निर्माणमा सरकारले उचित ध्यान दिनुपर्छ भन्ने कोरोनाको संक्रमणले देखाइदिएको छ ।

अन्तमा, विगतमा भएका कमीकमजोरीबाट पाठ सिकेर हामीले आउँदा दिनमा अगाडी बढ्नुको विकल्प छैन । सरकारले अघि सारेका याेजनाहरू अबका दिन पुरा हाेउन् । शुशासन कायम हाेस, भ्रष्ट्राचारीलाइ किरा पराेस । नयाँ वर्षको हार्दिक शुभकामना ।

सर्वे भवन्तु सुखिनः 

सर्वे सन्तु निरामयाः 

सर्वे भद्राणि पश्यन्तु 

मा कश्चिद् दुःखभाग्बवेत् 

ॐ शान्तिः शान्तिः शान्तिः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *